यस्तो छ ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने पाँच कारणहरु

काठमाडौँ- जितु नेपालले मुन्द्रेको कमेडी क्लबको घोषणा राजधानीको पाँचतारे होटल अन्‍नपूर्ण होटलमा गरेका थिए । त्यो घोषणा सभामा आफ्नो टिमका साथ उपस्थित जितु नेपालको उत्साह हेर्न लायक थियो । लगभग अढाई वर्षपछि १ सय ३२ एपिसोड सञ्चालन गरेर यो कार्यक्रम बन्द भएको जानकारी गराउँदा ठाउँ मात्र साँघुरो थिएन, जितुको अनुहार पनि मलिन थियो । उनको भाव भंगिमाले नै उनी नमीठो अनुभवसहित यो कार्यक्रमबाट बिदा हुँदै गरेको बुझ्न कठिन थिएन ।

पत्रकार सम्मेलन गरेर आफूले कार्यक्रम गर्ने घोषणा गरेकाले बन्द हुँदा पनि त्यसरी नै दर्शकलाई जानकारी दिनु आफ्नो कर्तव्य भएको बताउँदै उनले कार्यक्रमबाट मीठो अनुभवसहित बिदा हुन लागेको बताएका थिए । तर पत्रकारले कार्यक्रम बन्द गर्नुपर्ने ठोस कारण बताउन आग्रह गरेपछि कुरैकुरामा उनले कार्यक्रम बन्द गर्नुपर्ने मुख्य ५ कारण यसरी बताए । सोमबार बेलुकी ‘मुन्द्रको कमेडी क्लब’को अन्तिम एपिसोड प्रसारण भएको थियो ।

फुलन्देकी आमा (उमेश राई)ले दिएको धोका

केही दिनअघि मात्र मुन्द्रेको कमेडी क्लब बन्द हुने घोषणासँगै यसको कारणबारे जान्‍ने खोज्ने पत्रकारलाई उनले उमेश राईले धोका दिएका कारण बन्द गर्नुपरेको जवाफ दिएका थिए ।

सोमबार अन्तिम एपिसोड प्रसारण हुनुअघि पनि उनले बन्द गर्नुपर्ने एउटा कारणको रुपमा उमेश राईको धोकालाई बल दिएर चर्चा गरे । उनले भने, फुलन्देकी आमाले उही चरित्रमा डान्स प्रतियोगिताको होस्ट गर्न लागेको समाचार आएपछि पहिला त पत्याइँन । तर फोन गरेर के हो भाइ यस्तो समाचार छ त भन्दा हो दाइ भन्यो । अनि यस्तो गर्न कहाँ भयो त भाइ, एउटै चरित्रमा दुईतिर कार्यक्रम गर्न त भएन नी भन्दा दाइ म उता धोका दिन सक्दिन भन्यो । अनि मलाई चैं धोका दिन मिल्थ्यो त ?’

फुलन्देकी आमाले दिएको धोकाले आफूलाई आफ्नो टिमले नै धोका दिएको रुपमा अथ्र्याउँदै कार्यक्रम बन्द गर्ने निर्णय गरेको बताए । सानातिना स्टेज सो गर्दै आएका फुलन्देकी आमालाई जितुले नै कमेडी क्लबमा मौका दिएका थिए ।

कि एडभरटाइजिंगको दोहोरो खेल

जितुले आफूले कार्यक्रम बन्द गर्ने निर्णयको पछि पुग्नमा कि एडभरटाइजिंगको दोहोरो चलखेल पनि जिम्मेवार रहेको संकेत गरे । जितुले बताएअनुसार सुरुमा यो कार्यक्रम गर्ने निर्णयका पछि किको हौसला मुख्य कारण थियो । तर फुलन्देकी आमालाई डान्स प्रतियोगिताको होस्ट बनाउने निर्णय पनि कि एडभरटाइजिंगकै थियो । किले आफूलाई जानकारी पनि नदिई आफ्नो टिमको सदस्यलाई होस्ट बनाउने निर्णय गर्दा आफूलाई नरमाइलो लागेको जितुले बताए ।

पहिलो महामारीअघि किका शशी रिजाल निर्माताको रुपमा रहेकोमा दोस्रो सिजनबाट उनले हात झिकेको र आफू नै सोको निर्माता पनि रहेको पनि जितुको कथन थियो । तर इकागजलाई प्राप्त जानकारी अनुसार जितु नेपाल र किबीचको झगडा यत्तिकैमा नसकिन सक्छ । जितुले हठात् कार्यक्रम बन्द गर्ने निर्णय गरेपछि किले जितुविरुद्ध क्षतिपूर्तिको मुद्दा हाल्ने चर्चा छ । किनकि किले यो कार्यक्रमका लागि भनेर असार अन्तिमसम्म नेपाल टेलिभिजनसँग सम्झौता गरेको छ ।

भोलि यो कार्यक्रम नहुँदा पनि किले कबोल गरेअनुसार नेपाल टेलिभिजनलाई पैसा तिर्नुपर्छ । त्यसैले किले भोलि यो समयमा यस्तै प्रकृतिको कार्यक्रम गर्ने वा नयाँ कार्यक्रम बनाउनु पर्ने बाध्यता छ । तर जितुले किसँग आफूलाई कानुनी कारबाही गर्ने कुनै प्रमाण नभएको बताएका छन् । ‘उहाँको नेपाल टेलिभिजनसँग सम्झौता होला तर मसँग असारसम्मै कार्यक्रम गर्नुपर्छ भन्‍ने कुनै सम्झौता छैन । त्योबाहेक उहाँहरुले केही कदम चाल्नुभयो भने विचार गरौँला,’जितुको भनाइ थियो ।

नकारात्मक कमेन्टको प्रेसर

छोटो पत्रकारसँगको साक्षात्कारमा जितु नेपालले सो सुरु गर्दादेखि नै आफूलाई केही मानिसले नकारात्मक टिप्पणी गरेको र यसले आफूलाई दुःखी बनाएको बताएका थिए । उनले यही कारणले आफूले हिम्मत नहारेको दाबी गर्न भने बिसिएनन् । उनले मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायत थुप्रै व्यक्तिले हौसला दिएको र कार्यक्रमलाई विदेशमासमेत प्राप्त प्रतिक्रियाले अगाडि बढाउन हौसला मिलेको बताए ।

कार्यक्रमलाई सुरुदेखि नै भारतीय कमेडियन कपिल शर्माको सोको भद्दा नक्कल भन्दै धेरैले आलोचना गरेका थिए । जितुले यस्ता कमेन्ट देख्दा सुरु सुरुमा आफू रोएको पनि स्मरण गरेका थिए । अझ जितुको कार्यक्रममा अध्यक्षको रुपमा रहेकी दीपाश्री निरौला महानायक विवादमा मुछिएपछि त राजेश हमाललाई महानायकको रुपमा दीपाश्रीले गरेको शंकाको गाली जितुले पनि भेट्ने गरेका थिए । उनले यही कारणले सो बन्द नगरेको पटक पटक स्पष्टिकरण दिए पनि उनमा नकारात्मक कमेन्टको प्रेसर रहेको सहजै महसुस गर्न सकिन्थ्यो ।

अतिथिको कमी

जितुले सो बन्द गर्नमा अतिथिको कमी रहेको तर्फ पनि संकेत गरेका थिए । मुख्यतया मनोरञ्जन उद्योगका सेलिब्रेटी बोलाएर गरिने कार्यक्रममा लगभग सबै सेलिब्रेटीले सहभागिता जनाइसकेका थिए । ‘कसैलाई आउनु परो भनेर फोन गर्दा त हामी पहिले नै आइसक्यौँ त भन्‍ने जवाफ हुन्थ्यो । १ सय ३२ एपिसोड भनेको लामै हुँदोरहेछ । अब त अतिथि नै पाउन पनि गाह्रो भइसकेको थियो,’जितुले अतिथिको कमीतर्फ संकेत गर्दै भनेका थिए ।

जितुले पछिल्लो समयमा स्क्रिप्ट लेख्‍नेदेखि अतिथि बोलाउने, पैसा जुटाउनेसम्म काम आफूले नै गर्दा पनि तनाव भएको बताएका थिए । यसले गर्दा कार्यक्रम सोचेजस्तो नभएको उनको स्वीकारोक्ति थियो ।

सुटिङ सेटको अभाव

जितुले कार्यक्रम बन्द गर्न उत्प्रेरित गर्ने तत्वको रुपमा सुटिङ सेटलाई पनि उल्लेख गरेका थिए । सुटिङ गर्नलाई आफूहरुसँग स्थायी सेट नहुँदा कहिले कता त कहिले कता गर्नु परेको र एकै दिन ५-६ एपिसोडसम्म खिच्नु परेको र यसले कार्यक्रमको गुणस्तरमा फरक पारेको गुनासो गरेका थिए । मुन्द्रेको कमेडी क्लबको सुरुवाती दिनका एपिसोडको सुटिङ पर्यटन बोर्डको हलमा भएको थियो भने महामारीपछि पर्यटन बोर्डले सरकारी नियम र मर्मत गर्ने कारण देखाउँदै हल नदिएको र आफूले कहिले भ्वाइस अफ नेपाल त कहिले कमेडी च्याम्पियनको सेटमा सुटिङ गर्नुपरेको दुःखेसो सुनाएका थिए ।