क्वोने (घोताने/घोण्डे) गुरुङ समाज यूकेका चेलीबेटीहरुद्वारा सामुहिक भाईटीका तथा देउसीभैलो कार्यक्रम गर्ने

अल्डरसट । क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीहरुद्वारा अगामी अक्टोबर २६ तारिख २०२४ साल शनिबार अल्डरसट स्थित एम्पायर हलमा सामुहिक भाईटीका तथा देउसीभैलो कार्यक्रम-२०२४ आयोजना गर्ने कुरा समाजका चेलीबेटी प्रमुख लिना गुरुङले जानकारी गराएकी छिन् । श्रीमती लिनाले भिडियो सन्देश मार्फत कार्यक्रमबारे जानकारी गराउँदै यूकेमा रहनुभएका सम्पूर्ण क्वोने (घोताने/घोन्डे) दाज्युभाईहरुलाई निमन्त्रणा गरेकी छिन् ।

क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटी महासचिब श्रीमती धुर्ब गुरुङका अनुसार चेलीबेटीहरुले आफ्नो माइती दाज्युभाईहरुको सम्मानमा दाज्युभाई-पुजा स्वरूप सामुहिक भाईटीका तथा देउसीभैलो कार्यक्रम गर्ने कुरा बताईन् । कार्यक्रममा चेलिबेटीहरुद्वारा नृत्यहरु प्रस्तुत गर्नुको साथै पारिवारिक भ्रमणका लागि नेपालबाट हाल यूके आउनु भएका भुपु यसपी राजेन्द्र गुरुङद्वारा रचित चेलिबेटीहरुप्रति समर्पित तिहार गीतको पनि छायाङकन हुने कुरा जानकारी गराईन । श्रीमती ध्रुवका अनुसार देउसीभैलोको साथसाथै तिहारको झल्को आउने खेलहरु- त्रिपासा, झन्डी बुर्जा, फलास पल्टाउने जस्ता खेलहरू पनि खेलाउने कुरा बताएकी छिन् । यस किसिमका कार्यक्रमले विदेशमा पनि आफ्नो रितीरिवाज परम्परालाई निरन्तरता गर्न सहयोग गर्ने कुरा बताईन ।

त्यसै गरी चेलीबेटी प्रमुख लिना गुरूङले सबैभन्दा मुख्य कुरा भनेको यस किसिमको कार्यक्रमले दाज्युभाई तथा दिदीबहिनीहरुको सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउन सहयोग हुने कुरा बताईन । उनी कार्यक्रम भव्यताका साथ सफल हुनेमा विश्वस्त छिन् । साथै यसै समाचारमार्फत पनि यूकेमा रहनुभएका सम्पूर्ण बाबा माईतीज्युहरूलाई चुल्हो निम्तो गरेकी छिन् ।

स्मरण रहोस्- यूकेमा यस किसिमको सामुहिक भाईटीका तथा देउसी-भईलो कार्यक्रम गर्ने क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज पहिलो संस्था हो । क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) चेलीबेटीहरुले यस अघि दुई पटक यस्तो सामुहिक भाईटीका तथा देउसीभैलो कार्यक्रम गरिसकेका छन र यस बर्ष तेस्रो पटक हुने कुरा श्रीमती लिनाले जानकारी गराइन । त्यस्तै, क्वोने (घोताने/घोण्डे) गुरुङ (तमु) दाज्युभाईहरुले पनि माघे सन्क्रान्तिको शुभ अबसर पारेर आफ्नो चेलीबेटीहरुलाई सन २०१५ साल देखि हरेक बर्ष सामुहिक भोज (री चमी कै) कार्यक्रम गर्दै आइरहेका छन ।