९५ औं अस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ को वर्चस्व, मिसेल योहले उत्कृष्ट अभिनेत्री (एवार्डको सुचिसहित)

एजेन्सी । एसियाली कलाकारका लागि ९५ औं ओस्कर रेकर्ड राख्ने वर्ष बन्यो । मिसेल योहले उत्कृष्ट अभिनेत्रीको ओस्कर जित्ने पहिलो एसियाली कलाकारको इतिहास रचिन् । ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’मा निभाएको चरित्रबाट मलेसियन अभिनेत्री योहले यो रेकर्ड बनाएकी हुन् । यो वर्ष उत्कृष्ट फिल्मसँगै ७ विधामा अवार्ड उचालेको ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’मा योह एभ्लिन वाङको भूमिकामा देखिएकी छिन् । लौन्ड्री व्यवसाय चलाउने चिनियाँ–अमेरिकी वाङले आफ्नो फरक स्वरुपलाई मल्टिभर्समा कसरी भेटाउँछिन् अनि विश्व जोगाउन कस्तो कदम चाल्छिन् भन्ने कथा फिल्ममा देखाइएको छ ।

‘सबै पुरुष र महिलाहरु जो मजस्तै देखिनुहुन्छ, ज-जसले मलाई आज यहाँ हेर्दै हुनुहुन्छ । यो आशा र सम्भावनाको किरण हो,’ओस्कर उचाल्दै योहले भावुक मुद्रामा भनिन्,’सपना साकार हुन्छन् भन्ने यो प्रमाण हो ।अनि महिलाहरु, तपाईं कसैलाई पनि यो भन्न नदिनुस् कि तिम्रो उमेर गयो । हिम्मत नहार्नुस् ।’

आफूले उचाल्दै गरेको ओस्करको श्रेय आमालाई सुम्पदै योहले थपिन्,’मेरी आमा ८४ वर्षको हुनुभयो । म यो अवार्ड उहाँसामू पुर्‍याउन चाहन्छु । उहाँले मलाई मलेसियाबाट हेर्दै हुनुहुन्छ । धन्यवाद एकेडेमी, यो अवार्ड इतिहास बन्दैछ ।’

योहले भनेझैं ओस्कर दाबेदार केट ब्लान्चेटलाई पछाडि पार्दै ६० वर्षीया उनी उत्कृष्ट अभिनेत्रीको विधामा रेकर्ड तोड्ने पहिलो एसियाली अभिनेत्री हुन् । मलेसियाको इपोमा जन्मेकी योहले हङकङको एक्सन फिल्महरुबाट अभिनय करिअर सुरु गरेकी हुन् । आफ्नो फिल्म करिअरमा आङ लीको ‘क्रोचिङ टाइगर, हिडन ड्र्यागन’देखि ‘सुपरकप’, ‘टुमोरो नेभर डाइज’ र ‘क्रेजी रिच एसियन्स’लगायतका फिल्महरुमा योहले अभिनय गरिन् । जब ड्यानिएलको ‘साई-फाई’ फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’मा एभ्लिनको भूमिका पाइन्, त्यसमा योहले आफ्नो अभिनयको सबै क्षमतालाई पस्किदिइन् । फिल्ममा मल्टिभर्स चाहरिरहे पनि एक आमाले छोरीलाई गर्ने प्रेम, परिवार र आफ्नो जिम्मेवारीप्रति देखाउने इमान्दारितालगायतका थुप्रै पाटोलाई छोएको छ ।

ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को वर्चश्व, क–कसले जिते ?

ओस्करमा यो इतिहास रच्न एसियाली कलाकारलाई लामो समय लागेको मिसेलले हालै ‘द हलिउड रिपोर्टर’लाई बताएकी थिइन् । ‘यो समय आउन निकै बेर लाग्यो । अहिले धेरै एसियालीहरुले मलाई तिमी यो गर्न सक्छौ, तिमी हाम्रो लागि त्यहाँ पुग्यौं भन्दैछन् । मलाई थाहा छ, यो लामो समय एसियालीलाई कसैले चिनेन अनि उनीहरुका कुरालाई सुनिदिएन ।’

योह उत्कृष्ट अभिनेत्रीको मनोनयमा पर्नु नै इतिहास बन्यो । एसियाली पुष्ठभूमिकी मर्ल ओब्रन ओस्करको ८ औं संस्करणमा यही विधामा मनोनयमा परेकी थिइन् । ‘द डार्क एन्जल’मा गरेको किटी भेनको चरित्रबाट उनी मनोनयनमा परेकी थिइन् । तर, श्रीलंकाकी उनले त्यतिबेला आफ्नो पृष्ठभूमि लुकाइएकी थिइन् । योह अस्कर जित्ने पाँचौं एसियाली कलाकारमा पर्छिन् भने उत्कृष्ट अभिनेत्री जित्ने पहिलो ।

यो वर्ष ओस्करमा अभिनयको विधामा चार एसियाली कलाकारको मनोनयन पर्‍यो । अभिनेत्री योहसँगै ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’मा सह-अभिनेताको भूमिकामा देखिएका ‘के ह्ये क्वान’ र ‘स्टेफनी सु’, ‘हङ चाउ’ मनोनयनमा परेका थिए । त्यससँगै ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’का निर्देशकद्वाय ड्यानिएल क्वान र ड्यानिएल साइनर्ट, निर्माता जोनाथन वाङ, लेखक काजिओ इसिगुरो(लिभिङ), डोमी सी(टर्निङ रेड), भारतीय गीतकार/कम्पोजर चन्द्रबोस(आरआरआर) र एमएम किरावानी(आरआरआर) यो वर्ष ओस्कर मनोनयमा परेका अन्य एसियाली कलाकारहरु हुन् ।

९५ औं अस्कर अवार्डका सूची :

उत्कृष्ट फिल्म – एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स
उत्कृष्ट अभिनेत्री – मिसेल यो (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
उत्कृष्ट अभिनेता – ब्रेन्डन फ्रेजर (द व्हेल)
उत्कृष्ट निर्देशक – डेनियल क्वान, डेनियल शिनर्ट (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
उत्कृष्ट सम्पादन – पल रोजर्स (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
उत्कृष्ट मौलिक गीत – नाटू नाटू (आरआरआर)
उत्कृष्ट ध्वनी – मार्क वेनगार्टन, जेम्स एच माथेर, अल नेल्सन, क्रिस बर्डन र मार्क टेलर (टपगन माभेरिक)
उत्कृष्ट एडप्टेड स्क्रिन प्ले – सारा पोली (वुमन टकिङ)
उत्कृष्ट मौलिक पटकथा – डेनियल क्वान र डेनियल स्किनर्ट (एभ्रिथिङ एभ्रिह्वेयरअल एट वन्स)
उत्कृष्ट भिजुअल इफेक्ट – जो लेटरी, रिचर्ड बैनेहम, एरिक स्यानडन र डेनियल बैरेट (अवतारः द वे अफ वाटर)
उत्कृष्ट ओरजिनल स्कोर – वोल्कर बर्टेलम्यान (अल क्वाइट अन द वेस्टर्न फ्रन्ट)
उत्कृष्ट प्रोडक्सन डिजाइन – क्रिस्टियन एम गाल्डब्याक (अल क्वाइट अन द वेस्टर्न फ्रन्ट)
उत्कृष्ट एनिमेटेड सर्ट फिल्म – द ब्वाय दो मोल, द फक्स एन्ड द हर्स
उत्कृष्ट डकुमेन्ट्री सर्ट फिल्म – कार्तिकी गोल्जाल्वेज र गुनीत मोन्गा (द एलिफेन्ट व्हिस्परर्स)
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
उत्कृष्ट कस्ट्युम डिजाइन – रुथ कार्टर (ब्ल्याक प्यान्थर वाकान्डा फरेभर)
उत्कृष्ट मेकअप एण्ड हेयरस्टाइलिङ – एड्रियन मोरोट, जूडी चिन र एनीमैरी ब्रैडले (द ह्वेल)
उत्कृष्ट डकुमेन्ट्री फिचर फिल्म – नाभाल्नी
उत्कृष्ट सहायक अभिनेत्री – जेमी ली कर्टिस (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
उत्कृष्ट सहायक अभिनेता – की हुए कुआन (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
उत्कृष्ट एनिमेटेड फिचर फिल्म – ग्विलेर्मो डेल टोरो (पिनोसियो)
उत्कृष्ट सिनेम्याटोग्राफी – जेम्स फन्ड (अल क्वाइट अन द वेस्टर्न फ्रन्ट)
उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म – टम बर्कले र रास व्हाइट (एन आइरिश गुडबाय)