फुटबलको कुम्भ मेला विश्वकप २०२२ भोलिदेखी कतारमा

फुटबल जगत्को कुम्भमेला भनेर चिनिने फिफा विश्वकप फुटबल प्रतियोगिता आगामी नोभेम्बर २० तारिखदेखि कतारको राजधानी दोहामा सुरु हुँदैछ । फुटबल जगत्को सर्वोच्च संस्था फिफाका तत्कालीन अध्यक्ष सेफ ब्लाटरले सन् २०२२ को विश्वकप फुटबल कतारमा आयोजना हुने घोषणा सन् २०१० मा नै गरेका थिए । उक्त समयमा आयोजनाका दाबेदार राष्ट्रहरू संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछि पार्दै कतारले आयोजनाको जिम्मा आफ्नो पोल्टामा पारेको थियो । यो विश्वकप एसियाली राष्ट्रले आयोजना गरेको दोस्रो र मध्यपूर्वी एसियाले आयोजना गरेको पहिलो विश्वकप हो । सन् २००२ मा एसियाली राष्ट्र जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप फुटबल प्रतियोगिताको आयोजना गरेका थिए ।

जुन र जुलाई महिनामा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताको लामो परम्परालाई तोड्दै यो पटकको विश्वकप नोभेम्बर र डिसेम्बर महिनामा गर्न लागिएको हो । अरेबियन खाडीको पश्चिम भागमा अवस्थित सानो राष्ट्र कतारले प्रत्येक रङ्गशालामा एसी जडान गरे पनि आवतजावतमा प्रचण्ड गर्मीले खेलाडी र दर्शकहरूलाई असर गर्नसक्ने भन्दै लगभग चार महिनापछि आयोजना धकेलिएको हो । ट्रिनिडाड कार्डोना, डाभिडो र आयुसाको स्वर रहेको ‘हाया हाया’ गीतले यस पटकको कतार विश्वकप सङ्गीतमय हुने अपेक्षा गरिएको छ । कतार विश्वकपमा तीन जना महिला रेफ्रीहरू फ्रान्सकी ३८ वर्षीय स्टेफानी फ्रापार्ट तथा जापानी रेफ्रीद्वय ३६ वर्षीय योसिमी यामासिता र ३३ वर्षीय सलिमा मुकान्साङ्गाले पहिलो पटक विश्वकप पुरुष फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।

कतार विश्वकप फुटबल २०२२ का लागि सदाझैँ ३२ राष्ट्रले प्रतियोगिता खेल्ने सुनिश्चित भइसकेको छ । उक्त आयोजनामा सहभागी राष्ट्रहरूलाई आठ समूहमा विभाजित गर्दै समय तालिकासमेत सार्वजनिक गरिएको छ । जसमध्ये समूह ‘ए’मा आयोजक राष्ट्र कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड छन् । समूह ‘बी’मा इङ्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् भने समूह ‘सी’मा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड आबद्ध छन् । त्यसैगरी समूह ‘डी’मा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया छन् भने समूह ‘इ’मा स्पेन, कोस्टारिका, जर्मनी र जापान आमुन्ने सामुन्ने हुनेछन् । समूह ‘एफ’मा बेल्जियम, क्यानाडा, मोरक्को र क्रोएसिया छन् भने समूह ‘जी’मा ब्राजिल, सर्बिया, स्विजरल्यान्ड र क्यामरुन छन् । त्यसैगरी समूह ‘एच’बाट पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया मैदानमा उत्रिने छन् ।

कतार विश्वकप २०२२ का लागि आठवटा रङ्गशालाहरू प्रयोग गरिने छ । तीमध्ये साठी हजार दर्शक क्षमता रहेको अल वायात रशालामा उद्घाटन खेल आयोजक राष्ट्र कतार र इक्वेडरका बीच हुने तय भएको छ । चालीस हजार दर्शक क्षमताको खलिफा अन्तर्राष्ट्रिय रङ्गशाला र असी हजार दर्शक क्षमता रहेको लुसाली रङ्गशालामा पनि विभिन्न खेलहरू आयोजना हुनेछन् । त्यसैगरी चालीस र चालीस हजार दर्शक क्षमता भएका अल थुमामा रङ्गशाला, अहमद बिन अली रङ्गशाला, स्टेडियम नौ सात चार, एजुकेसन सिटी रङ्गशाला र अल जानोब रङ्गशालामा पनि विश्वकप फुटबल प्रतियोगिताका विभिन्न चरणका खेलहरू खेलाइनेछन् । यी सबै रङ्गशालाहरू ५५ किलोमिटरको दूरीभित्र पर्दछन् ।

यस वर्ष आयोजना हुने विश्वकप फुटबल प्रतियोगितामा प्रत्येक राष्ट्रका टिमले २६ खेलाडीहरू राख्न पाउने व्यवस्था फिफाले गरेको छ । जसमध्ये ११ खेलाडीहरू मैदानमा हुने छन् भने बाँकी १५ खेलाडीहरू मैदानबाहिर वैकल्पिक खेलाडीका रूपमा तयारी अवस्थामा रहनेछन् । यसअघि फिफाको नियममा प्रत्येक टिमले २३ खेलाडी राख्न पाउने व्यवस्था थियो । कोरोना सङ्क्रमणको विश्वव्यापी लहरका कारण फिफाले आफ्नो पुरानो नियममा परिवर्तन गर्दै खेलाडी सङ्ख्या २३ बाट बढाएर २६ पुर्याइएको हो । यसअघि सम्पन्न युरो कपमा पनि खेलाडी सङ्ख्या २६ राखेर खेलाइएको थियो । यस वर्षको विश्वकप फुटबल प्रतियोगितामा विश्व फुटबल जगतका महान् हस्तीहरू अर्जेन्टिनी क्याप्टेन लियोनोल मेस्सी र पोर्चुगलका फुटबल बादशाह क्रिस्टियानो रोनाल्डो पनि मैदानमा उत्रिने छन् । एउटा टेलिभिजन अन्तर्वार्तामा लियोनोल मेस्सीले यो प्रतियोगिता आफ्नो जीवनको अन्तिम र महत्त्वपूर्ण विश्वकप हुने घोषणा गरिसकेका छन भने क्रिस्टियानो रोनाल्डोले विश्वकपपछि पनि आफू निरन्तर फुटबल खेलिरहने बताएका छन् । मेस्सीले हालसम्म स्पेनिस फुटबल क्लब बार्सिलोनाका तर्फबाट ४७४ र पीएसजीका तर्फबाट ११ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । मेस्सीले अर्जेन्टिनाका तर्फबाट खेलेका १६४ खेलहरूमा ९० गोल गरेका छन् ।

कतार विश्वकप फुटबल प्रतियोगितामा ४ पटकको विश्व विजेता इटाली यो पटक दोहाका कुनै पनि फुटबल मैदानमा देखिने छैन । छनोट चरणका क्रममा इटाली उत्तर म्यासेडोनियासँग अप्रत्यासित रूपमा पराजित भएको थियो । त्यसैगरी युरोपेली राष्ट्रहरू स्विडेन, नर्वे र अस्ट्रिया पनि विश्वकप २०२२ खेल्नबाट वञ्चित भएका छन् । अफ्रिकी राष्ट्र नाइजेरिया तथा दक्षिण अमेरिकी राष्ट्रहरू कोलम्बिया, चिली र पेरु पनि यो वर्ष विश्वकपको मैदानमा देखिने छैनन् । कतार विश्वकपको छनोट चरणमा खाता खोल्न नसकेर पाखा लागेका यी राष्ट्रहरूले यो विश्वकप दर्शकदीर्घाका रूपमा हेरेर चित्त बुझाउनुपर्नेछ ।

आगामी नोभेम्बर २० तारिखबाट डिसेम्बर २ तारिखसम्म समूह चरणका खेलहरू खेलाइने छ । समूह चरणमा सहभागी ३२ राष्ट्रबाट १६ राष्ट्र छनोट हुनेछन् भने पराजित १६ राष्ट्रहरू स्वतः घर फर्किने छन् । त्यसैगरी डिसेम्बर ३ तारिखदेखि ६ तारिखसम्म अन्तिम १६ टिमले प्रतिष्पर्धा गर्ने छन्, जसबाट ८ टिमले क्वाटर फाइनलको यात्रा तय गर्ने छन् भने बाँकी ८ टिमले घर फर्किने तयारी गर्ने छन् । क्वाटर फाइनलका खेलहरू डिसेम्बर ९ र १० तारिखका निम्ति तय गरिएको छ । जसबाट छनोट भएका ४ टिमहरूले सेमी फाइनलमा आफ्नो फुटबलको जादु देखाउने अवसर पाउने छन् । सेमी फाइनलका खेलहरू डिसेम्बर १३ र १४ तारिख तय गरिएको छ । सेमिफाइनलमा पराजित २ टिमले तेस्रो स्थानको लागि प्रतिष्पर्धा गर्ने छन् भने विजेता २ टिमले कतार विश्वकप २०२२ को ट्रफी उचाल्नका लागि आफ्नो अन्तिम फुटबल कला, सीप र क्षमताको उच्चतम शक्ति मैदानमा खन्याउने छन् । फाइनल खेल डिसेम्बर १८ तारिखका दिन लुसाली रङ्गशालामा स्थानीय समयअनुसार अपरान्ह ६ बजे सुरु हुनेछ । विश्वकप विजेता राष्ट्रले ४२ मिलियन डलर अर्थात् नेपाली करिब ५ अर्ब ५७ करोड प्राप्त गर्ने छ । उपविजेताले ३० मिलियन डलर, तेस्रोले २७ मिलियन डलर र चौथोले २५ मिलियन डलर पुरस्कार प्राप्त गर्ने छन् ।

कतार विश्वकप २०२२ तेस्रो लिङ्गीहरूको खेल अधिकारका विषयमा विवादित छ । कतारको कानुनअनुसार समलैङ्गिक सम्बन्धलाई गैरकानुनी अपराध मानिन्छ । यस्तो सम्बन्धमा संलग्नहरूलाई तीन वर्ष जेल सजाय वा मृत्युदण्डको कानुनी व्यवस्था छ । यसबाट लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका विषयमा मानव अधिकारकर्मीहरूले प्रश्न उठाएका छन् । त्यसैगरी कतारको कानुनअनुसार सार्वजनिक स्थानमा मदिरा पिउन निशेष गरिएको छ । कानुनको उल्लङ्घन गरेको पाइएमा ६ महिनाको जेल सजाय वा ७५० अमेरिकी डलर जरिवानाको कानुनी व्यवस्था छ । यसबाट फुटबलप्रेमीहरूमा विकर्षण पैदा हुने सम्भावनालाई मध्यनजर गर्दै निश्चित स्थानहरूमा ‘फ्यान जोन’ बनाइने छ । जहाँ बसेर मदिरा किन्न र पिउन पाइने छ । सन् २०१८ को विश्वकप आयोजक राष्ट्र रुसले यो विश्वकपमा सहभागिता जनाउन पाउने छैन । २०२२ फेब्रुअरी २४ बाट युक्रेनमाथि हमला गरेपछि फिफाले रुसमाथि सबै प्रकारका फुटबल प्रतियोगिताहरूमा प्रतिबन्ध लगाउँदै आएको छ ।

सन् १९३० देखि आरम्भ भएको विश्वकप फुटबल प्रतियोगिताले कतार विश्वकपमा आइपुग्दा २२औँ संस्करणसम्मको यात्रा तय गरेको छ । सन् १९३० को पहिलो विश्वकप उपाधि उरुग्वेले जितेको थियो । त्यसैगरी सन् १९३४ र १९३८ इटाली, सन् १९५० उरुग्वे, सन् १९५४ जर्मनी, सन् १९५८ र १९६२ ब्राजिल, सन् १९६६ इङ्ल्यान्ड, सन् १९७० ब्राजिल, सन् १९७४ जर्मनी, सन् १९७८ अर्जेन्टिना, सन् १९८२ इटाली, सन् १९८६ अर्जेन्टिना, सन् १९९० जर्मनी, सन् १९९४ ब्राजिल र सन् १९९८ को विश्वकप उपाधि फ्रान्सले जितेका थिए । सन् १९४२ र १९४६ को विश्वकप फुटबल प्रतियोगिता दोस्रो विश्वयुद्धका कारण स्थगित गरिएको थियो । बीसौँ शताब्दीमा जम्मा १६ वटा विश्वकप फुटबल प्रतियोगिताहरू सम्पन्न भएका थिए । त्यसैगरी सन् २००२ को उपाधि पाँचौँ पटक ब्राजिलले घर लगेको थियो । सन् २००६ को उपाधि चौथो पटक इटालीको हातमा परेको थियो । सन् २०१० को उपाधि स्पेनले जितेको थियो । त्यसैगरी सन् २०१४ को उपाधि चौथो पटक जर्मनीले उचालेको थियो । यसअघि रुसमा सम्पन्न सन् २०१८ को विश्वकप उपाधि फ्रान्सले जितेको थियो ।

कतार विश्वकप फुटबल प्रतियोगिताको विजेताका बारेमा फुटबल पण्डितहरूले विभिन्न अड्कलबाजीहरू गर्न थालेका छन् । पाँचौँ पटकको विश्वविजेता ब्राजिललाई यो वर्ष पनि विश्वकप विजेताको रूपमा हेरिएको छ । त्यसैगरी चौथो पटकको विश्वविजेता जर्मनी, दुईदुई पटकका विश्वविजेता फ्रान्स र अर्जेन्टिना पनि उत्तिकै सम्भावित विजेता टिम रहेका छन् । सहभागी सबै टिमहरू विश्वकप उपाधिका बलिया प्रतिस्पर्धी हुन् । यसका निम्ति आगामी डिसेम्बर १८ ले वास्तविक नतिजा दिनेछ ।

विश्व फुटबल जगतबाट उदाएका थुप्रै खेलाडीहरूले आफ्नो नाम विश्व फुटबल इतिहासमा स्वर्णिम अक्षरले लेखाइसकेका छन् । तीमध्ये ब्राजिलका फुटबल बादशाह एडमन्ड अरान्ते दो नासिमेन्तो अर्थात् पेले एक हुन् । गरिब परिवारमा जन्मिएर कपडाको बल बनाएर बाल्यकालदेखि नै फुटबलप्रति मोह जगाएका पेले विश्वफुटबल इतिहासका ध्रुवतारा हुन् । त्यसैगरी अर्जेन्टिनाका अर्का फुटबल बादशाह डिएगो म्याराडोना फुटबल खेलबाट आफ्नो नामलाई विश्वविख्यात बनाउन सफल खेलाडी हुन् । उनको जादुमय फुटबल खेलको अहिले पनि विश्वभर चर्चा हुने गर्दछ । त्यसैगरी ब्राजिलका फुटबल स्टार रोनाल्डो, अर्जेन्टिनाका लियोनोल मेस्सी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, इङ्ल्यान्डका रुनी, ब्राजिलका नेइमार, स्पेनका सेरिगो रामोस, उरुग्वेका लुइस स्वारेज आदि खेलाडीहरूले फुटबलमा जादुमय कला प्रदर्शन गरेकै कारण विश्वचर्चित बनेका छन् । यसका अतिरिक्त जाभी, एन्ड्रेस इनेस्टा, रबिन भान पर्सी, मेसुट ओजिल, डेभिड सिल्भा, मोरियो गोमेज, पेपे, पेड्रो आदि विश्वफुटबल दुनियाका चर्चित नामहरू हुन् । यस वर्षको कतार विश्वकपमा कुन देशका कुन कुन खेलाडीहरूले केकस्तो चमत्कार देखाउने हुन त्यसका निम्ति फुटबलप्रेमीहरूले आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ तारिखसम्म प्रतीक्षा गर्नुपर्ने छ ।