लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश

लाओस । नेपालले लाओसलाई विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा १–० ले पराजित गर्दै नेपाली फुटबललाई ठूलो राहत दिलाएको छ । लाओसको भियन्टाइनमा मंगलबार भएको खेलमा प्राप्त जितमा नेपालको लागि मनीष डाँगीले ५३ औं मिनेटमा निर्णायक गोल गरे । यससँगै नेपालले दुई लेगको खेलमा समग्रमा २–१ को निर्णायक अग्रता लिन सफल रह्यो ।

काठमाडौंमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा टुंगेको थियो । नेपाललाई दोस्रो चरण पुग्नका लागि जित्नै पर्ने दबाब थियो ।त्यसैले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले सुरुदेखि आक्रामक रणनीति अपनाएका थिए । पहिलो लेगमा उतारको सुरुआती ११ मा तीन परिवर्तन गर्दै दोस्रो लेग खेलेको थियो ।

अञ्जनले नजिकको दूरीबाट दिएको पासमा मनीषले उत्कृष्ट ‘फ्लिक’ गर्दै गोल गरेका हुन् । मनीषले नेपालका लागि गरेको यो तेस्रो व्यक्तिगत गोल हो । उनले यसअघि इराक र माल्दिभ्सका लागि गोल गरेका थिए ।

छनोटको दोस्रो चरणमा प्रवेश गरेयता यो वर्षको अन्त्य र अर्को वर्ष नेपाली राष्ट्रिय टिम व्यस्त रहनेछ । नेपालले अब दोस्रो चरणमा समूह ‘एच’ मा खेल्नेछ । त्यस समूहमा यूएई, बहराइन र यमन रहेका छन् । अब समूहमा ‘होम एन्ड अवे’ आधारमा खेल हुनेछन् ।