एसिसी प्रिमियरको उपाधि नेपाललाई, अगामी सेप्टेम्बरमा एसियाकप खेल्ने

काठमाडौं । गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा छनोट भएको छ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

१० टोली सहभागी यस प्रतियोगिताको शीर्ष तीनमा परेसँगै नेपाल, युएई र ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा पनि सुनिश्चित गरेका छन् ।

जितका लागि युएईले दिएको एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा गुलशन झाले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ८४ बलमा तीन चौका र ६ छक्काको सहयोगमा अविजित ६७ रन बनाउनुभएको हो । गुलशनको यो एक दिवसीय खेल जीवनको दोस्रो अर्धशतक हो । भीम सार्कीले अविजित ३६ रन बनाउनुभयो । भिमले ७२ बलमा चार चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई एक र आशिफ शेखलाई आठ रनमा गुमाएको थियो । कप्तान रोहित पौडेल पनि एक रनमा पेभेलियन फर्किनु भएको थियो । बलिङमा युएईका रोहन मुस्तफाले दुई विकेट लिनुभयो । आयन अफ्जल खानले एक विकेट लिनुभयो । त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षाका कारण सोमबार बीचमै रोकिएको खेल मंगलबार बिहान पुन: सुरु भएको थियो । सोमबार वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो ।

मंगलबार सोही ओभरबाट सुरु भएको खेलमा युएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाउनुभयो । कप्तान आर्यान लार्काले १३, मुम्हमद वासिमले ११, बसिल हमेद र जुनईद सिद्धिक्वीले १०(१० रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

युएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका ललित राजवंशीले चार विकेट लिनुभयो । सन्दीप लामिछाने र करण केसीले दुई दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकट लिनुभयो । घरेलु मैदानमा दर्शकको साथमा नेपालले समूह चरण देखिनै अपराजित यात्रा कायम राख्दै उपाधि चुमेको हो । उपाधिसँगै नेपाल २१ वर्षपछि एसिया कपमा पुगेको हो । यसअघि नेपालले सन् २००२ मा पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो । त्यतिबेला सिंगापुरमा भएको एसीसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपाल एसिया कपमा पुगेको थियो । तर भारत र पाकिस्तानसँगको आन्तरिक द्वन्द्वका कारण त्यति बेला एसिया कप रद्द भएको थियो । जसले गर्दा नेपालले छनोट भएर पनि खेल्न पाएको थिएन ।

नेपालले अब पाकिस्तानले आयोजना गर्ने एसिया कप खेल्नेछ । एसिया कपमा नेपालले पाकिस्तान र भारतको समूहमा रहेर खेल्नेछ । यसको अर्थ नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न पाउनेछ ।

युएईविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

गुल्सन झाको अर्धशतक

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा झाले ७६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५१ रन जोडेका हुन् ।

कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा निराश भएका घरेलु दर्शकलाई झा र भीम सार्कीले आशा जगाएका छन् । नेपालले २८.४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १०२ रन जोडेको छ ।

सन्दीपलाई प्लेयर अफ द टुर्नामेन्ट अवार्ड

नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सफल सन्दीप लामिछानेलाई यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित गरिएको हो ।

यस प्रतियोगितामा सन्दीपले ५ खेलमा १३ विकेट लिएका थिए। ब्याटिङतर्फ पनि सन्दीपले कतार विरुद्धको खेलमा आउट नभई ४२ रनको योगदान दिएका थिए। युएईका वृत्य अरविन्द प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिएका छन् । वृत्यले ६ खेलमा २ शतक र १ अर्ध शतकसहित कुल ४ सय ५४ रन बनाएका थिए । ओमानका तीव्र गतिका बलर बिलाल खान ६ खेलमा १७ विकेट लिँदै प्रतियोगिता को उत्कृष्ट बलर चुनिएका छन् ।

एसिया कप २०२३ आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ । नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोलीले सुपर फोरमा स्थान बनाउनेछन् । सुपर फोरबाट शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप एकदिवसीय विश्वकप अघि एसियाका टोलीलाई तयारीको रुपमा एसिसीले आयोजना गर्ने गर्दछ ।