टोकियो ओलिम्पिक्स आज समुद्घाटन, नेपाली खेलाडीले भोलिदेखि नै खेल्ने

युके समय बिहान ११:२० देखी ४ बजेसम्म बिबिसी वानमा टोकियो ओलिम्पिकको समुद्घाटन समरोह प्रतक्ष्य प्रसारण हेर्नसक्नुहुन्छ ।

बिबिसी- ३२ औँ गृष्मकालीन ओलिम्पिक्स अर्थात टोकियो ओलिम्पिक्स आज समुद्घाटन हुँदैछ । समुदघाटन समारोहमा नेपालको तर्फबाट पौडी खेलमा सहभागी तथा प्रतिस्पर्धी गर्न जापान पुगेका गौरिका सिंह र एलेक्स शाहले संयुक्त रूपमा नेपालको झन्डा बोक्नेछन् । नेपालबाट चार खेलका पाँच खेलाडीसहित २६ सदस्यीय टोलीले विश्वको सबैभन्दा ठूलो खेल उत्सवमा सहभागिता जनाइरहेका छन् ।

ओलिम्पिक्समा ३३ खेल समावेश गरिएको छ, जसको लागि ३३९ ‘इभेन्ट्स’हरू विभिन्न ४२ खेल स्थलमा सञ्चालन हुनेछ । नेपाली खेलाडीहरूको खेल उद्घाटनको भोलिपल्टबाट सुरु हुनेछ । भोली शनिवार शुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजी मुनिको तौल समूहमा खेल्नेछिन् । भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् ।

त्यस्तै जुलाई २७ मा पौडीका एलेक्स शाहले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले सोही इभेन्ट्समा खेल्ने तालिका छ । जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् । नेपालबाट १२ जना खेलाडीहरूले वाइल्ड कार्डका लागि प्रयास गरेकोमा दुई जनाले मात्र त्यो पाउन सफल भएका थिए । कराँते, भारोत्तोलन, बक्सिङ, आर्चरी र तेक्वान्दोका खेलाडीहरूले वाइल्ड कार्ड पाउन सकेनन् ।

बिनादर्शक समुद्घाटन

जापानमा कोभिड-१९ को महामारी यथावत् रहेकोले ओलिम्पिक्स खेल पूर्ण रूपमा त्यसको छायामा सुरु हुनेछ । आयोजकले बनाएका योजनाहरूमा कटौती गरिरहेका छन्। उद्घाटन समारोहमा एक हजार दर्शकहरू मात्र उपस्थित हुनेछन् । त्यस्तै मार्च पासमा पनि खेलाडीको सङ्ख्या कटौती गरिएको बताइएको छ । अनि उद्घाटन समारोहको कार्यक्रमहरूमा व्यापक छाँटकाँट गर्दै सामान्य ढङ्गको समारोह गरिने भएको छ ।

टोक्यो २०२० का अध्यक्ष शेख हासिमोटोले टिकट किनिसकेका लाखौँ दर्शकहरूसँग माफी मागेका छन् ।

कोरोनाभाइरसले गर्दा यसपालिको ओलम्पिक छायामा परेको छ । कोरोनाभाइरस महामारीको सङ्ख्या बढिरहेकोले टोकियो सहरमा गत ८ जुलाईबाट निषेधाज्ञा लगाइएको छ । त्यो २२ अगस्टसम्म कायम हुनेछ ।हुन त जापानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या धेरै छैन । जोन्स हप्किन्स विश्वविद्यालयको २३ जुलाईको तथ्याङ्क अनुसार जापानमा अहिलेसम्म ८ लाख ५३ हजार १३७मा कोरोनाभाइरस सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको सङ्ख्या १५ हजार ४६ छ ।

जापानको १२ करोड ६० लाख जनसङ्ख्या मध्ये ३५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् भने २२ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसकेको छ ।

कोरोनाभाइरसका कारण बेलायत लगायत १५९ देशका मानिसलाई जापानमा आउन प्रतिबन्ध लगाइएको छ ।

कोरोनाको कारण खेलाडीहरु बढी सावधानी अपनाउनु पर्ने नियम बनाएको छ, खेलाडीहरूले हरेक दिन कोभिड परीक्षण गर्नुपर्नेछ । त्यस्तै खेलाडीलाई उनीहरूको देशमा फैलिएको कोरोना महामारी अनुसार छुट्टाछुट्टै नियम लगाइएको छ । जस्तै नेपाललगायत दक्षिण एशियाली राष्ट्रलाई जापानले ‘रेड जोन’को सूचीमा राखेको छ । त्यसैले नेपालले जापान जानु १४ दिन अगाडिदेखि सहभागीहरूको ज्वरो नाप्नु पर्ने तथा सात दिन अगाडिदेखि पीसीआर रिपोर्ट पेस गर्नुपर्नेछ । सोही नियम अनुसार पीसीआर परीक्षण गर्दा एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना पोजेटिभ देखिएको थियो ।

Image- REUTERS/Issei Kato

यति धेरै सावधानी अपनाउँदा पनि जापान पुगेका खेलाडीहरूमा अहिलेसम्म ९० जनामा कोरोना पोजेटिभ देखिसकिएको छ । जसमा बेलायतका खेलाडी अम्बेर हिल पनि छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आईओसी र आयोजक सहरबीच भएको सम्झौता अनुसार आईओसीले चाहेमा मात्र खेल रद्द हुन सक्नेछ । तर एक वर्ष पर धकेलिसकिएको खेल पुन: स्थगित गर्न वा रद्द गर्ने पक्षमा आईओसी देखिएको छैन । आईओसीले टेलिभिजन प्रसारणबाट आउने ७० प्रतिशत र प्रायोजकबाट आउने १८ प्रतिशत आम्दानी गुमाउन नचाहेको बताइएको छ । तर आईओसी अध्यक्ष थोमस ब्याचले ‘खेल रद्द गर्नु कुनै विकल्प नभएको’ भन्दै भनेका छन्, “यो खेल भविष्यको आशाको लागि हुनेछ। ” तर अधिकांश स्थानीय जनताहरूले भने कोरोना महामारीबीच भइरहेको ओलिम्पिकलाई रुचाएका छैनन्।

उनीहरूले कोभिड महामारी र अत्यधिक स्वास्थ्य सावधानीका कारण थप दबाव झेल्न गाहो हुने बताएका छन् । गत मे महिनामा जापानी चिकित्सकहरूको युनियनले खेलका बेला स्वास्थ्य सेवा राम्ररी उपलब्ध गराउन ‘असम्भव’ हुने बताएको थियो । एक पत्रिकाले गरेको सर्वेक्षण अनुसार ८० प्रतिशत जनताहरूले खेल रद्द गर्न वा स्थगित गर्ने पक्षमा मतदान गरेका थिए ।

यस पटकको प्याराओलिम्पिक आगामी २४ अगस्टबाट सुरु हुनेछ । पाराओलिम्पिक्समा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । उनीबाट पदकको आशा समेत गरिएको छ ।

स्रोत – बिबिसी नेपालीसेवा