बयान दिन सिंहदरबार आइपुगे निलम्बित प्रधानन्यायाधीश जबरा
काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानका लागि सिंहदरबार आइपुगेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिसमक्ष बयान दिन जबरा सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइपुगेका हुन् । समितिको
गत बुधबारको बैठकले महाभियोग लागेका जबरालाई बयानका लागि बोलाएको हो ।
समिति सभापतिको रूपमा काम गरिरहेका समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले समितिले महाभियोगका विषयमा आफ्ना धारणा राख्नका लागि जबरालाई बोलाउने निर्णय गरिएको जानकारी दिए । बुधबार बिहान ११ बजेका लागि समितिको बैठक बोलाइए पनि केही बेरमा सुरु हुने बताइएको छ । यसबीचमा पूर्वन्यायाधीश फोरम,नेपाल बारलगायतका संस्थाहरूले जबराविरुद्धका प्रमाण समितिलाई बुझाएका थिए । समितिले गत शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी ३ दिनभित्र प्रमाण, कागजात र जानकारी पठाउन आग्रह गरेको थियो।
प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । सोही दिनदेखि उनी निलम्बनमा परेका थिए । गत फागुन २२ मा गठन भएको महाभियोग सिफारिस समितिले २०७९ भदौ १ गतेदेखि काम थालेको थियो ।
यस्तो छ जबरालाई समितिले सोध्ने सम्भावित प्रश्न
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिँदै छ । समितिलाई बयान दिन जबरा अहिले प्रहरी स्कर्टिङमा निजी गाडी चढेर सिंहदरबार पुगेका छन्। जबरालाई सोध्ने प्रश्नावली समितिले तयार गरिसकेको छ । उनलाई समितिले सोध्ने सम्भावित प्रश्न यस्तो छ :
- प्रधानन्यायाधीश पदको संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्पत्तिसरह स्वेच्छाचारी ढंगले देखादेखी दुरुपयोग गरी आफूलाई असक्षम साबित गर्नुभयो, तपाईंको प्रवेशले अदालत चल्न सक्छ ?
- काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलको ‘घुस डिल’को फोन रेकर्डिङमा तपाईंको पनि नाम मुछिएको छ । पोखरेलसँग आर्थिक अनियमितता गर्ने उद्देश्यले विभिन्न मुद्दामा पटक–पटक सम्पर्क गरिएको कुरा पनि आएको छ । यसमा तपाईंको संलग्नता छ ?
- पदको दुरुपयोग गरी विभिन्न मुद्दामा भाइ प्रभुशमशेर जबरा र परिवारका अन्य सदस्यलाई बिचौलियाका रूपमा खटाएर चलखेल गरेको हो कि होइन ?
- अदालतमा गैरकानुनी रूपमा आर्जन गरेको कालोधन परिवारका सदस्यको नाममा राखेको हो कि होइन ? यसमा जाँच किन गर्न नपर्ने ?
- सर्वोच्च अदालतको भवन निर्माण ठेक्का अनियमिततामा तपाईंको संलग्नता छ कि छैन ? हस्तक्षेप किन गरेको ?
- योग्यता नपुगेको व्यक्तिलाई न्यायाधीश नियुक्त गरेको हो कि होइन ? सरुवा–बढुवामा पनि पदीय दुरुपयोग गरेको हो कि होइन ?
- सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र उच्च अदालत जुम्लाका न्यायाधीश नवराज थपलियाबाट अमुक मुद्दामा स्वार्थकेन्द्रित फैसला गराउन लगाएको हो कि होइन ?
- न्यायपालिका प्रमुख भएर विनाऔचित्य मध्यरातमा कार्यपालिका प्रमुखनिवासमा पटक–पटक भेटघाट, सम्पर्क बढाई असंवैधानिक तथा अनुचित कार्य गरी शक्ति पृथकीकरणको सिद्धान्तलाई धुमिल पारेको हो कि होइन ?
- संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भाग लिएको हो कि होइन ? संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा किन अवरोध गर्नुभयो ?
- श्रीमती हत्याजस्तो जघन्य अपराध गरेका पूर्वडिआइजी रञ्जनप्रसाद कोइरालाको मुद्दामा सजाय घटाउने फैसला न्यायको विचलन हो कि होइन ?
- प्रधानन्यायाधीश पदमा बसेर कुनै अमुक मुद्दामा टेलिभिजनमा अन्तर्वार्ता दिनु न्यायाधीशको आचारसंहिताविपरीतको क्रियाकलाप हो कि होइन ?
- न्यायालय सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न किन मान्नुभएन ?