नेपाल सरकारको राजदूत नियुक्तिमा निर्देशिका एकातिर, सिफारिस अर्कोतिर
ओलीको शासनलाई गलत र मनोमानी भन्दै अरोप लगाएका अहिलेका नेताहरु आफू सत्तामा आएपछि त्यही व्यवहारलाई दोहोर्याएका छन्
काठमाडौँ — सरकारले राजदूत नियुक्ति सम्बन्धी निर्देशिका–२०७५ लाई लत्याउँदै बिहीबार चीनसहित १२ मुलुकमा रिक्त रहेका राजदूत पदमा राजनीतिक नियुक्तिको लागि सिफारिस गर्दा ‘राम्रोभन्दा पनि हाम्रो’ लाई प्राथमिकता दिँदै छनोट गरेको छ । सरकारले २० ओटा मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेकामा अन्य ८ देशमा करिअर राजदूत हुन् ।
निर्देेशिकाले व्यक्तिगत पहुँचभन्दा पनि उसमा हुनुपर्ने क्षमतालाई राजदूत नियुक्तिको आधार मानेको छ । यसले के स्पष्ट पारेको छ भने निर्देशिका एकातिर छ भने राजदूत नियुक्तिको सिफारिस अर्को तरिकाबाट भएको छ । राजदूत नियुक्ति सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारले पनि यसअघि केपी शर्मा ओलीको सरकारको पालामा जस्तै गरी ‘राम्रोलाई भन्दा हाम्रो’ लाई नियुक्तिको सिफारिस गरेर परम्परालाई निरन्तरता दिएको हो ।
सरकारले राजदूत नियुक्तिका लागि ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका–२०७५’ ल्याएको थियो । मन्त्रिपरिषद्ले २०७५ असारमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका ल्याइएको हो । निर्देशिकामा ‘राजदूत’ भन्नाले विदेशी मुलुकमा नेपाल राज्यको प्रतिनिधित्व गर्न कूटनीतिक सम्बन्ध विषयक भियना महासन्धि बमोजिम नियुक्त भई विदेशी राष्ट्राध्यक्षसमक्ष प्रमाणीकृत भएको कूटनीतिक प्रतिनिधिलाई सम्झनुपर्छ भन्ने उल्लेख छ ।
‘सो शब्दले राजदूतको दर्जा दिई संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था वा क्षेत्रीय संगठनका लागि नियुक्त भएको नेपालको स्थायी प्रतिनिधि वा नियोग प्रमुख वा कुनै खास कामका लागि नियुक्त विशेष प्रतिनिधिसमेतलाई जनाउछ,’ निर्देशिकामा भनिएको छ ।
निर्देशिकामा राजदूत नियुक्तिमा नेपाल परराष्ट्र सेवाका विशिष्ट (सचिव) वा राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) का कर्मचारीहरू र मुलुकको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध एवं कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण दख्खल राख्ने वा योगदान पुर्याएका राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरूमध्येबाट सिफारिस गरिने भनिएको छ ।
यस्तै, समावेशी सिद्धान्तलाई दृष्टिगत गर्दै राष्ट्रको प्रतिनिधित्व, प्रतिष्ठा र हित प्रवर्द्धन हुने गरी कूटनीतिक क्षमता, विशिष्टीकृत शैक्षिक योग्यता र अनुभवका आधारमा राजदूत नियुक्ति गर्न सिफारिस गरिने उल्लेख छ । तर गठबन्धनका नेताहरु प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाल खनाल तथा जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले आफ्ना पार्टीका नेता–कार्यकर्ताहरु र नातेदारलाई राजदूत नियुक्तिको लागि सिफारिस गरे । ओलीको शासनलाई गलत र मनोमानी भन्दै अरोप लगाएका यी नेताहरु आफू सत्तामा आएपछि उस्तै व्यवहारलाई दोहोराएका छन् ।
सरकारले चीनका लागि माओवादी केन्द्रका नेता तथा पार्टीका निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठलाई सिफारिस गरेको छ । दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस परेका दानबहादुर तामाङ म्यान पावर व्यवसायी संघका पूर्वअध्यक्ष हुन् । अस्ट्रेलियाका लागि राजदूतमा सिफारिसमा परेका कैलाश पोखरेल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाईँ हुन् । यस्तै, उर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालले पनि आफ्नो बहिनी ज्वाईँ बासुदेव मिश्रलाई श्रीलंकाको लागि राजदूतमा सिफारिस गरेकी छन् ।
यस्तै प्रधानमन्त्री देउवाले अर्थविद् तथा श्रीलंकाका लागि पूर्वराजदूत विश्वम्भर प्याकुरेलकी पत्नि ज्योति प्याकुरेललाई दक्षिण कोरियामा राजदूतमा सिफारिस गरेका छन् । रसियाका लागि राजदूतमा सिफारिस परेका मिलन तुलाधर झलनाथ खनाल प्रधानमन्त्री रहँदा परराष्ट्र मामिला सल्लाहकार थिए । केही समयअघि मात्र ओमानको लागि राजदूतको जिम्मेवारी सम्हालेर फर्केकी शर्मिला पराजुली ढकाललाई स्पेनको राजदूतमा सिफारिस गरिएको छ । उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारको कार्यकालमा ५ वर्षअघि ओमानको लागि राजदूत नियुक्त गरिएको थियो । त्यसपछि बनेको ओली सरकारले उनको म्याद थपिदियो । अहिले देउवा सरकारले उनलाई फेरि नियुक्त गरिदिएको छ । मलेसियाको लागि राजदूतमा सिफारिस भएका गण्डकी प्रदेशका डिल्लीराज पौडेल एकीकृत समाजवादी पार्टीका नेता हुन् ।
यस्तै, पुरानो घर धनकुटा र अहिले विराटनगरकी कान्ता रिजाललाई कांग्रेस नेताद्धय शंशाक कोइराला र मिनेन्द्र रिजालको जोडबलमा इजराइलको राजदूतमा सिफारिस गरिएको छ । जसपाका अध्यक्ष यादव निकट प्राध्यापक रामसुरज राय यादवलाई डेनमार्क र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई निकट नवराज सुवेदीलाई साउदी अरबको लागि राजदूतमा सिफारिस गरिएको छ । सुवेदी प्यूठानका पुराना संसाद हुन् भने माओवादी पार्टी हुँदै बाबुराम भट्टराईसँगै नयाँ शक्तिबाट जसपा पुगेका हुन् । नरेश विक्रम ढकाल भने कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निकट पार्टीका कार्यकर्ता हुन् ।
परराष्ट्रका एक जना पूर्वसचिवले नाम नबताउने शर्तमा पछिल्लो समय नेपालमा राजदूत नियुक्ती कुनै मेरिटमा नभएर नाता–गोता र कार्यकर्तामा तथा व्यापारीमा समिति भएको बताए । ‘देशको सम्बन्धलाई अघि बढाउनको लागि हाम्रो देशको नेतृत्व गर्ने नेताहरुको लागि असल र काबिल मान्छेहरुको जरुरी छैन,’ ती पूर्वसचिवले भने,‘हाम्रोमा अहिले राजदूत नियुक्ति त जोक जस्तै भएको छ ।’
अर्का पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई हाम्रोमा निर्देशिका बने पनि त्यसलाई कसैले पनि गम्भिर रुपमा नलिएको मान्छन् । ‘यो पालना गर्ने भनेर बनाएको निर्देशिका पनि होइन । हाम्रो नियुक्तिको तरिका यही हो । हामीलाई सबैले चिनिसकेका छन् । हाम्रो प्रक्रिया यस्तै भइसक्यो,’ उनले भने,‘अब यस्तो हुनु हाम्रो लागि ठूलो कुरा रहेन ।’