एनआरएनएभित्र कहीँ नभएको जात्रा, शेष घलेजीले किन त्यसो गर्नुभयो : प्रचन्ड (भिडियो)
काठमाडौं । विदेशमा बसेका नेपालीहरू प्राय नेपालका राजनीति दल र नेताहरूको कार्यशैलीप्रति वैराग्य व्यक्त गर्ने गर्छन् । उदाहरण दिँदै भन्ने गर्छन्- नेपालले फलानो देशबाट सिक्नुपर्छ । तर, लामो समय विदेश बसेका नेपालीहरूको संस्था गैर आवासीय नेपाली संघभित्र भने नेपालका राजनीतिक दलहरूभन्दा पनि गए गुज्रेको विकृत अवस्था देखियो । संस्था खोलेर घाँटीमा एनआरएनको कार्ड झुण्ड्याउने बाहेक नेपालका लागि केही गर्न नसकेकाहरूले हदैसम्मको पदलोलुपता प्रदर्शन गरेका छन् । पदीय झगडाका कारण संगठन दुई टुक्रा त भयो नै, फुटेको एउटा टुक्रोमा पनि मेलमिलाप नहुँदा आलोपालो नेतृत्व गर्ने गरी तीन जना अध्यक्ष बनाएर गाइजात्रा देखाइएको छ ।
विधानअनुसार २०२१ अक्टोबरमा हुनुपर्ने गैर आवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन विवादका कारण सम्पन्न हुन सकेको थिएन । विवादको कारण थियो– प्रतिनिधि छनोट । अध्यक्षका आकांक्षीहरूले प्रतिनिधि छनोटका विषयमा विवाद निम्त्याएका थिए ।
विवादको केन्द्रमा तत्कालीन अध्यक्ष कुमार पन्त र एनआरएनएका संरक्षक पूर्व अध्यक्ष शेष घले समूह थिए । घलेका तर्फबाट अध्यक्षका आकाङ्क्षी कुल आचार्य र अन्य आकांक्षीहरू बद्री केसी रविना थापाको बीचमा यस्तो विवाद कायम थियो । विवाद चर्कँदै गएपछि मंसिर ३ गते परराष्ट्र मन्त्रालयले महाधिवेशन गर्न तत्कालीन कार्यसमितिलाई रोक लगाएर संरक्षक परिषद् मार्फत मात्र महाधिवेशन गर्न÷गराउन निर्देशन दिएको थियो । जसमा ‘सन् २०२१ भित्र संघको दसौँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषद् मार्फत मात्र गर्नू, गराउनू’ भनी उल्लेख थियो । एनआरएनएमा संरक्षक परिषद् परराष्ट्र मन्त्रालयको संयोजकत्वमा हुन्छ ।
त्यो निर्देशनविरुद्ध एनआरएनएले परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । त्यो निर्णय कार्यान्वयन गर्न अदालतले रोक लगायो । त्यसपछि आन्तरिक रूपमा विवाद मिलाउन प्रयास गरिएको थियो । तर विवाद समाधान हुन सकेन । यो विवाद चैत महिनाको सुरुवातदेखि झन् सतहमा आयो ।
अहिले विवादको शृङ्खलाकै बीचमा यही चैत ११ र १२ गते दसौँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आलोपालो हुने गरी सहमतिमा तीन जना अध्यक्ष चुनेको छ । पहिले अध्यक्षका आकाङ्क्षी देखिएका कुल आचार्य, बद्री केसी र विना थापालाई नै अध्यक्ष चयन गरिएको छ । चयन भएका तीन जनाले पालैपालो ६–६ महिना कार्यभार सम्हाल्नेछन् । पहिलो नेतृत्व आचार्यले गर्नेछन्, भने त्यसपछिको ६ महिना थापा र अर्को ६ महिना केसीले अध्यक्षता गर्नेछन् । विवाद समाधानका लागि भन्दै महाधिवेशनले यस्तो निर्णय लिएको हो ।
यस्तै महाधिवेशनले ११ जना उपाध्यक्ष र १० जना सचिव, ३ जना कोषाध्यक्ष, ८ जना सह कोषाध्यक्ष, ३ जना महिला सह कोषाध्यक्ष, २ जना प्रवक्ता, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजक २/२ जना चुनिएका छन् । क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५, क्षेत्रीय महिला संयोजक २, क्षेत्रीय युवा संयोजक २ जना छन् ।
सहमतिका लागि महाधिवेशनले भागबण्डा गर्दै यस्तो कमिटी तयार गरेको हो । संघको विधानको धारा १७ (२) र १७ (१०) को व्यवस्था हाललाई निष्क्रिय गरी अध्यक्षसँगै उपाध्यक्ष र सचिवको संख्या पनि बढाइएको छ । कार्यसमितिमा पद र संख्या बढाएर घोषणा गर्ने सबै अधिकार अध्यक्ष मण्डललाई प्रदान गर्ने निर्णयअनुसार यस्तो व्यवस्था गरिएको हो । संशोधित व्यवस्था संघको यसपछि (सन् २०२३) को कार्यसमितिको निर्वाचन प्रक्रिया अगाडिको समयसम्म मात्र लागू हुने जनाइएको छ । त्यसपछि यो व्यवस्था स्वतः निष्क्रिय हुनेछ ।
विवाद समाधानका लागि हालसम्म कहीँ नभएको अभ्यास एनआरएनएमा गरिएको छ । तत्कालका लागि विवाद हटाउन र एनआरएनएमा एकता कायम गर्न मात्रै यस्तो व्यवस्था गरिएको स्रोतले बतायो ।
यतिसम्म गर्दा पनि एनआरएनए सग्लो भने छैन । पूर्व अध्यक्ष शेष घले पक्षधर आचार्यले सहमतिपछि उनको साथ छाडेका थिए । तर घले पक्षले चैत ९ गते नै समानान्तर महाधिवेशन गरेर विनोद कुँवरको नेतृत्वमा अर्को कमिटी चयन गरिसकेको थियो । उक्त महाधिवेशनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए ।
त्यो समूहले परराष्ट्र मन्त्रालयमा पुगेर ‘आधिकारिकता’का लागि दबाब बढाइरहेको छ । उता तीन अध्यक्ष चुनिएको महाधिवेशनको उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारी र समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएकाले आधिकारिकता पाउन सक्ने सम्भावना छ । यद्यपि महाधिवेशनको आधिकारिकता बारेको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।
एनआरएनए पदाधिकारीसँग प्रचण्डले भने- शेष घलेजीले किन त्यसो गर्नुभयो मैले बुझ्न सकिन
संघीय चुनावसम्म गैरआवासीय नेपाललाई मतदानको अधिकार दिलाउन पहल गर्ने
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन गर्ने शेष घलेको ठिक नरहेको बताएका छन् । एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिने क्रममा अध्यक्ष प्रचण्डले आफूले शेष घलेलाई पनि मिलेर एउटै मूल प्रवाहमा आउन सुझाव दिने बताए ।
प्रचण्डले भने–शेषजीले किन त्यसो गर्नुभयो ? मैले बुझ्न सकेको छैन, मौका मिले त्यसो नगर्नुस्,विभाजित होइन मिलेर जानुस् भन्ने सुझाव दिनेछु । उहाँले त्यसो गर्नु नहुने हो ।
एनआरएनएका पूर्व अध्यक्ष घलेले अलग्गै भेला गरी एनआरएन विभाजन गरेका छन् । प्रचण्डले उनको त्यो कदम ठिक नरहेको बताए । अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावसम्म विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिलाउन आवश्यक पहल गर्ने आश्वासन समेत दिए ।