फेसबुकका ‘डेली एक्टिभ युजर’ १८ वर्षको इतिहासमा पहिलो पटक घटे

एजेन्सी । १८ वर्षको इतिहासमै पहिलो पटक सामाजिक सञ्जाल फेसबुकको ‘डेली एक्टिभ युजर्स’ घटेका छन् । प्यारेन्ट कम्पनी मेटा नेटवर्कका अनुसार सन् २०२१ अन्तिम तीन महिनामा फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९२ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९३ करोड थियो ।

टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वी कम्पनीका कारण आम्दानी पनि घट्न सक्ने मेटाले आशंका व्यक्त गरेको छ । विज्ञापनदाताले विज्ञापनमा खर्च कटौती गरेका कारण पनि मेटाले आम्दानी गुम्न सक्ने बताएको हो । मेटाको सेयरमा पनि २० प्रतिशतभन्दा बढी गिरावट आएको छ । बीबीसीका अनुसार सेयर मूल्यमा आएको गिरावटका कारण मेटाले २ सय अर्ब अमेरिकी डलर घाटा बेहोरेको छ । मेटासँगै ट्विटर, स्न्याप, पिन्टेरेस्टजस्ता सोसल मिडिया प्लेटफर्मको सेयर पनि घटेको छ ।

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग ।

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले युवा प्रयोगकर्ता प्रतिद्वन्द्वी कम्पनीतर्फ लागेकाले पनि आफ्नो कम्पनीले आम्दानी गुमाइरहेको बताएका छन् । गुगलपछि मेटा विज्ञापनका लागि विश्वकै सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म हो । तर एप्पलले आफ्नो अपरेटिङ सिस्टममा केही परिवर्तन ल्याएपछि मेटालाई प्रभाव परेको कम्पनीले जनाएको छ ।

मेटाका प्रमुख वित्तीय अधिकृत डेभ वेन्हरका अनुसार फेसबुक र इन्स्टाग्राममा यस वर्ष विज्ञापनमार्फत आउने झन्डै १० अर्ब डलर गुम्ने सम्भावना रहेको छ । मेटाको कूल आम्दानीको ठूलो हिस्सा विज्ञापनबाट आउने गर्छ । आउँदो त्रैमासिकमा मेटाले २७ देखि २९ अर्ब अमेरिकी डलरसम्म आम्दानीको लक्ष्य राखेको छ ।

पछिल्लो समय चिनियाँ प्रविधि कम्पनी बाइटडान्सद्वारा सञ्चालित टिकटकले फेसबुकलाई चुनौती दिएको छ । पछिल्लो पटक निकै लोकप्रिय बन्दै गएको टिकटकका प्रयोगकर्ता झन्डै एक अर्ब रहेका छन् । फेसबुकले टिकटकसँग प्रतिस्पर्धा गर्नकै लागि भिडियो सामग्रीमा लगानी बढाउन थालेको छ । भिडियो र भर्चुअल रियालटीमा थप लगानीले कम्पनीलाई फाइदा पुग्ने जुकर्बगको विश्वास छ ।

उत्तर अमेरिकाका लागि बीबीसीका प्रविधि संवाददाता जेम्स क्लेटनका अनुसार पछिल्लो समय युवा पुस्तामाझ फेसबुकसँगै टिकटक पनि लोकप्रिय बन्दै गएको छ । प्रत्येक त्रैमासिकमा यसअघि फेसबुकका प्रयोगकर्ता बढ्ने गरे पनि अहिले भने घटेको उनको विश्लेषण छ । टिकटकले मेटाको व्यवसायलाई चुनौती दिएको क्लेटनले उल्लेख गरेका छन् । नाम परिवर्तन गरे पनि मेटाले तत्काल मेटाभर्स बनाउने नदेखिएकाले पनि लगानीकर्ताहरू आकर्षित नभएको उनको भनाइ छ ।

सामाजिक सञ्जालको बजारमा ‘एकछत्र राज’ गरिरहेको फेसबुकले टिकटक किन्न पनि खोजेको छ । तर बजारमा एकाधिकारविरुद्धको अमेरिकी नीतिले मेटालाई त्यो प्रक्रिया भने सहज हुने छैन ।

के हो फेसबुकको मेटाभर्स योजना ?

फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ । जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ । फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो ।

मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरिएको छ । कतिपयले यसलाई भर्चुअल रियालिटीकै परिष्कृत रूप पनि भनेका छन् । जसरी सन् १९८० को दशकमा ठूला–ठूला मोबाइल सेटलाई अहिले स्मार्टफोनले विस्थापित गर्‍यो, त्यसरी नै भर्चुअल रियालिटीलाई मेटाभर्सले विस्थापित गर्ने बताइएको छ । बीबीसीका अनुसार सबै प्रकारको डिजिटल प्रविधिलाई मेटाभर्सले जोड्ने काम गर्छ । त्यसका लागि अहिले कम्प्युटरको प्रयोग भए पनि मेटाभर्समा भने टाउकोमा लगाउने एउटा उपकरण(हेडसेट) प्रयोग गरिनेछ ।

अहिले भर्चुअल रियालिटी प्राय: गरेर गेम खेल्नका लागि प्रयोग हुने भए पनि मेटाभर्समा भने खेल, कार्यक्रम आयोजना, चलचित्र हेर्न वा गफगाफका लागि समेत सहज हुने बताइएको छ । मेटाभर्स अहिले एउटा सोच भएकाले ठ्याक्कै यही हो भनेर परिभाषित गर्न कठिन हुने पनि प्रविधि विश्लेषकहरूको भनाइ छ ।