चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास असफल
काठमाडौँ — चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास पनि असफल भएको छ । आर्टमिस-१ मिसन अन्तर्गत नासाले स्पेस लन्च सिस्टम(एसएलएस) रकेटमार्फत अन्तरिक्ष यान चन्द्रमामा पठाउने तयारी थियो ।
केनिडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिरहेको बेला रकेटबाट फ्युल लिक भएपछि मिसन स्थगित गरिएको नासाले जनाएको छ । नासाले यसअघि अगस्ट २९ तारिखमा पनि प्रक्षेपण गर्ने तयारी गरेको थियो तर इन्जिनमा केही समस्या देखिएपछि स्थगित भएको थियो ।
अगस्ट २३ देखि सेप्टेम्बर ६ सम्म १२ वटा प्रक्षेपण गर्ने अवसर थियो । तीमध्ये नासाले अगस्ट २९ र सेप्टेम्बर ३ तारिखमा प्रक्षेपण गर्न खोजेको थियो । अब सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म प्रक्षेपण गर्ने १४ वटा अवसरहरु छन् । तीमध्ये कुन समयमा प्रक्षेपण गर्ने भन्नेबारे नासाले मिति टुंग्याएको छैन ।
नासाले बनाएको एसएलएस रकेट संसारकै सबैभन्दा अग्लो रकेट रहेको बताइएको छ । यो रकेटको उचाइ ३ सय २१ फिट रहेको छ ।
आर्टिमिस १ मिसनको पहिलो उद्देश्ये भनेकै एसएलएस रकेटको प्रक्षेपण हो । यही रकेटमा रहेको ओरियन-मल्टिप्रपोज क्रु भेकल (एमपीसीभी) क्याप्सलले नै अन्तरिक्षयात्रीहरुलाई चन्द्रमामा पुर्याउने नासाले जनाएको छ ।
नासाको आर्टिमिस मिसन अन्तर्गत चन्द्रमामा पहिलो पटक महिलालाई अवतरण गराउने लक्ष्य छ । आर्टिमिस २ को लन्च सन् २०२४मा हुने नासाले जनाएको छ । उक्त मिसनमा मानव समेत हुनेछन् ।