अब त्यस्ता दिन नदोहोरिऊन्, नव निर्बाचित राष्ट्रिय सभा सांसद दुर्गाकुमारी गुरुङ
काठमाडौँ — आफ्नै आँखाअघि गोली हानी श्रीमान्को हत्या गरिएको दृश्यले दुर्गाकुमारी गुरुङलाई अहिले पनि पीडा दिने गर्छ । तत्कालीन नेकपा (माओवादी) विद्रोहीले २०५८ पुस २७ गते साँझ सुर्खेत वीरेन्द्रनगर-१ स्थित निवासमा उनका श्रीमान् यज्ञबहादुर गुरुङको हत्या गरेका थिए । शान्ति प्रक्रियापछि खुला राजनीतिमा आएको माओवादी पार्टीकै सहयोगमा बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि उनको मन थप भारी भएको छ ।
‘देशमा शान्ति आएपछि हिजोका दुश्मनसँग पनि सहकार्य गरियो, अब उतिबेलाको कुरा सम्झेर मात्र भएन,’ उनले भनिन्, ‘अब देशमा शान्ति होस्, त्यस्ता दुःखका दिन कहिल्यै कुनै नेपालीको जीवनमा नदोहोरियोस् ।’ राष्ट्रिय सभा सदस्य भएर सहिद (श्रीमान्) को सपना पूरा गर्ने उनले बताइन् । नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष रहिसकेका यज्ञबहादुर उतिबेला जिल्ला खेलकुद विकास समितिका अध्यक्ष थिए ।
बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा उनी कांग्रेसको तर्फबाट उम्मेदवार थिइन् । उनलाई सत्ता गठबन्धनका दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि मतदान गरेको थियो । उनी स्वयंले पनि माओवादी केन्द्रका उम्मेदवार नरबहादुर विष्टलाई मतदान गरेकी थिइन् । ‘श्रीमान् गुमाएको पीडा त मनमा गडेकै छ, ढिलै भए पनि पार्टीले न्याय दिँदा मलम लगाएको महसुस भएको छ,’ उनले भनिन्, ‘राजनीतिमा कतिबेला को कहाँ पुग्छ, कसले के गर्छ भन्ने थाहा नहुने रहेछ ।’ उनले गठबन्धनको भावनाअनुसार देशमा शान्ति र समृद्धिका लागि आफ्नो तर्फबाट योगदान गर्ने बताइन् । श्रीमान्को हत्यापछि ५३ वर्षीया गुरुङले पार्टीभित्र लामो समयसम्म अवसर पाइनन् । चाहेर पनि दुई दशकसम्म पार्टीको कुनै कार्यसमितिमा बस्न पाइनन् ।
गत महाधिवेशनमा वीरेन्द्रनगर नगरपालिका १ बाट क्षेत्रीय प्रतिनिधिमा चुनाव लडेकी उनी गुटगत राजनीतिकै कारण पराजित हुन पुगिन् । ‘हामीले गत महाधिवेशनमा सहिदपत्नी भएकाले सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि बनाऔं भनेर प्रयास गरेका थियौं, तर अर्को पक्षले मानेन,’ कांग्रेस सुर्खेतका जिल्ला सहसचिव हरि विष्टले भने, ‘अहिले पार्टीले राष्ट्रिय सभा सदस्य बनाएर न्याय दिएको छ ।’
पार्टीको आन्तरिक निर्वाचनमा समेत अन्याय भएपछि वडा र जिल्लाबाट पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन मागपत्र पेस गरिएको थियो । सहसचिव विष्टले पार्टी नेतृत्वले स्थानीय तहको माग सुनेर ढिलै भए पनि न्याय दिएको बताए ।
गुरुङलाई २०६४ को संविधानसभा निर्वाचनमा पार्टीको तर्फबाट संविधानसभा सदस्य (समानुपातिक) उम्मेदवार बनाइएको थियो । तर उनी सभासद हुने मौकाबाट चुक्न पुगिन् । त्यसपछि उनी विरक्तिएर काठमाडौं बस्न थालेकी थिइन् । यसपटकको राष्ट्रिय सभा निर्वाचनमा देशभरबाट ६ सिट पाउँदा उनी कर्णालीबाट महिला कोटामा उम्मेदवार बनेकी थिइन् ।