सत्ता गठबन्धन भित्र बहस : संसदीय कि स्थानीय तहको निर्वाचन पहिले ?
काठमाडौं : सरकार सञ्चालन गर्न गठित राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्दैछ। समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ४ बजे गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो ।
आजको बैठकमा संसदीय निर्वाचन पहिले गर्ने कि स्थानीय तह निर्वाचन भन्ने विषयमा छलफल हुने समितिका एक सदस्यले जानकारी दिए। ‘शीर्ष नेताबाट संघको निर्वाचन पहिले र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव आएको छ।’ उनले भने, ‘निर्वाचन कसरी र कुन मितिमा गर्ने भन्नेबारे आजको बैठकमा छलफल हुन्छ।’
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरेर घोषणा गर्न सरकारलाई दबाब दिएपछि सत्ता गठबन्धनको बैठकमा निर्वाचनले विषय प्रवेश गरेको हो। सरकारको नेतृत्व गरिरहेको कांग्रेसले तत्काल प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने विषयको बारेमा स्पष्ट धारणा राख्न सकेको छैन। गठबन्धनको बैठकमा संसदीय निर्वाचनको विषयले प्रवेश पाएसँगै नेताहरु आन्तरिक परामर्शमा जुटेका छन्। कांग्रेसबाहेकका नेताहरु आगामी निर्वाचनसम्म गठबन्धन निरन्तर गर्नुपर्ने बताउँदै आएका छन्। आजको बैठकले निर्वाचनको विषयमा छलफलपछि सरकारलाई सुझाव दिने बताइएको छ।
स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ। निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न आयोग र प्रमुख प्रतिपक्ष दल एमालेले दबाब दिँदै आएको छ। तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ। वैशाखमा निर्वाचनको मिति नतोकेर सरकारले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजेको एमालेको आरोप छ।
आयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने प्रस्ताव गरेको छ। आयोगले आगामी वैशाख १४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न सरकारसँग यसअघि नै प्रस्ताव गरिसकेको छ। एकै चरणमा सम्भव नभए वैशाख १४ गते पहिलो र वैशाख २२ गते दोस्रो चरणको निर्वाचन मिति तोक्ने आयोगको प्रस्ताव गरेको छ।
पाँच दलीय गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत शीर्ष नेता रहेको समिति गठन गरेको थियो। मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्यका रुपमा रहेका छन्।
प्रचण्डको प्रस्तावमा एमाले महासचिवको ब्यङ्ग्य
स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचन गर्ने प्रस्ताव प्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले ब्यङ्ग्य गरेका छन । सत्तारुढ दलको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमाले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टी हुन नसकेकाले स्थानिय तहको निर्वाचन अघि संघीय संसदको निर्वाचनको प्रस्ताव गरेका थिए ।
सो प्रस्ताव प्रति एमाले महासचिव पोखरेलले ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानिय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे’ भन्दै सामाजिक सञ्जालबाट ब्यङ्ग्य हानेका हुन ।