अमेरिकाको रुबिन म्युजियममा भेटिएका दुई नेपाली सम्पदा नेपाल फर्काउन सम्झौता
‘सम्पदा घर फर्काउन लाग्ने शुल्क म्युजियमले बेहोर्ने’
काठमाडौँ — उपत्यकाका दुई विहारबाट चोरिएका र अमेरिकाको प्रतिष्ठित म्युजियम रुबिनमा फेला परेका दुई पुरातात्विक सम्पदा तत्काल घर फर्काउनेबारेमा न्युयोर्कमा समझदारी भएको छ ।
सन् ९० को दशकमा इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा( गन्धर्व) र पाटनको यम्पी महाविहारबाट हराएको मूलढोकाको माथि राखिने तोरण आकृति रुबिन म्युजियम अफ आर्टबाट घर फिर्ता आउने भएको छ । सोमबार म्युजियममा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र म्युजियमका कार्यकारी प्रमुख डा.जोरिट बित्स्गीले सम्पदा घरफिर्तीको समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
‘नेपाली सम्पदाको पहिचान र यसबारेको प्रमाण जुटाएपछि रुबिन म्युजियमले सहयोगी रूपमा हाम्रा सम्पदा घर फर्काउन सहमति जनाएको हो,’ न्यूयोर्कस्थित कूटनीतिक नियोगका कार्यवाहक महावाणिज्यदूत गौतमले कान्तिपुरसँग भने । यी दुई पुरातात्विक सम्पदा न्युयोर्कको रुबिन म्युजियममा फेला परेकोबारे गत असोजमा नेपाली सम्पदाको पहिचान तथा प्रमाणीकरणको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ले सूचना बाहिर ल्याएको थियो ।
त्यसलगत्तै सम्पदा पुनःस्थापना अभियानले यी सम्पदा घरफिर्तीका लागि रुबिन म्युजियमलाई पत्राचार गरेर प्रक्रिया अघि बढाइएको थियो । पुरातत्व विभागले पनि हराएका सम्पदाबारेको प्रमाणीकरण र उत्पत्तिको पहिचानसहितको प्रमाण न्युयोर्क पठाएको थियो ।
दुईमध्ये ‘माला पहिरिएकी अप्सरा’ लाई ७ सय वर्ष पुरानो सम्पदा मानिएको छ । यो सन् १९९९ देखि हराइरहेको र सन् २००३ मा रुबिन म्युजियमको संग्रहमा पुगेको जानकारी महावाणिज्यदूत कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, ४ सय वर्ष पुरानो मानिने काष्ठकलाको तोरण भने सन् २०१० मा म्युजियमको संग्रहमा पुगेको थियो । कार्यवाहक महावाणिज्यदूत गौतमका अनुसार, यी सम्पदा औपचारिक समझदारीपछि नेपाल सरकार मातहतमा आए पनि घरफिर्ती प्रक्रिया सुरु नहुन्जेल म्युजियमकै संरक्षणमा रहनेछन् ।
‘सम्पदा घरफिर्तीमा लाग्ने आवश्यक खर्च रुबिन म्युजियम स्वयंले बेहोर्ने भएको छ,’गौतमले भने, ‘साथै, यी सम्पदालाई अहिले म्युजियम डिस्प्ले (प्रदर्शनी) बाट हटाइएको छ । अहिले कोरोना संक्रमणको स्थितिमा फिर्ती प्रक्रियामा कठिनाइ देखिएकाले सम्भवतः आगामी वैशाखभित्रमा यी सम्पदा काठमाडौं पुग्नेछन् ।’
न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार, सन् १९९९ देखि हराइरहेको ‘माला पहिरेकी अप्सरा’ (गार्लेन्ड बियरिङ अप्सरा)को आकृति भने म्युजियमका संस्थापकसमेत रहेका रुबिन कल्चरल ट्रस्टका सेली र डोनाल्ड रुबिनले एक निजी व्यापारीबाट खरिद गरेका थिए । तर, रुबिन म्युजियमका प्रवक्ता सान्ड्रिन मिलेटले यो सम्पदा कोबाट, कसरी खरिद गरिएको हो, खुलाउन चाहेकी छैनन् ।
सम्पदा घरफिर्तीको समझदारी पत्रमा हस्ताक्षर गरेपछि रुबिन म्युजियमका कार्यकारी प्रमुख डा.जोरिट बित्स्गीले ‘पुरातात्विक महत्वका सम्पदाका बारेमा कला जगतमा उब्जिएको सरोकारबारे म्युजियम सचेत रहेको’ जनाएका थिए । ‘हामीसँग सग्रहमा रहेका र प्रदर्शनीमा आएका कला सामग्रीबारेमा हामी सावधानीपूर्वक अनुसन्धान गरिरहेका हुन्छौं ।
रुबिन म्युजियमले यस्ता सामग्रीको नैतिक र व्यवसायिक उच्चतम आधारलाई सम्मान गर्नेछ,’कार्यकारी प्रमुख बित्स्गीको भनाइ उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ—‘सांस्कृतिक सम्पत्तिको सरोकारलाई सम्बोधन गर्न र समस्या समाधान गर्न हामीले आफ्नो जिम्मेवारीबोध गरेका छौं, यस्ता सम्पदा घरफिर्ती गर्नमा समेत उचित सहायता गर्नेछौं ।’