नेपाली काङग्रेस पार्टी विधिविधानसम्मत नचलेको कोइराला पक्षको निस्कर्ष

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशन सकिएको दुई साता नबित्दै शेखर कोइराला समूहले पार्टी विधिविधानमा चल्ने संकेत नरहेको निष्कर्ष निकालेको छ । कोइराला पक्षीय नेताहरूको बुधबारको भेलाले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिविधानमा आधारित भएर नचलाउने र प्रतिपक्षीलाई पेलेर जाने संकेत गरेको निष्कर्ष निकालेको हो । बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले देउवाले पार्टीलाई फेरि विधानबमोजिम चलाउने नदेखिएको बताएका थिए ।

भेलामा यसअघिको पौडेल समूहका नेता रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंहबाहेक सबैजसो नेताहरू र १४ औं महाधिवेशनका कोइराला समूहका उम्मेदवारहरू सहभागी थिए । बैठकमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले सम्बोधन गरेका थिए, त्यसबाहेक बोल्ने अधिकांश वक्ताहरू केन्द्र र प्रदेशका उम्मेदवारहरू थिए ।

छलफलका क्रममा मुख्यगरी केन्द्रीय सदस्य मनोनयन, वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको छनौट र जिल्ला अधिवेशन सार्ने निर्णयका विषयमा छलफल भएको थियो । महामन्त्री थापाले यी निर्णयमा देउवाले आफू र पार्टीमा ४० प्रतिशत हिस्सा ओगट्ने समूहसँग सामान्य छलफल र परामर्शसमेत नगरेको बताएका थिए ।

उनले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको छनोट गर्दा देउवाले संसदीय बोर्डबाट छान्ने विधानको व्यवस्थालाई बेवास्ता गरेको र आफूहरूसँग समेत छलफल नगरेको सुनाएका थिए । त्यसो त, सोमबारको राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारको टुंगो लगाउने बैठकमा महामन्त्री थापा सहभागी नै थिएनन् । उनी आमसभामा सम्बोधन गर्न अर्घाखाँची पुगेका थिए । थापाले देउवाले अचानक बैठक राखेर वैधानिक प्रक्रियाविपरीत निर्णय लिएको बताएका छन् ।

त्यसपछि बोल्ने सबैजसो नेताहरूले बलियो प्रतिपक्षीको भूमिका खेल्न नसके देउवाले निरन्तर पेलेर अघि बढ्ने संकेत देखिएको बताएका थिए । ‘अहिलेदेखि नै विधान मिच्ने सिलसिला सुरू भएको छ, यो निरन्तर रहने संकेत देखिन्छ, त्यसैले अहिल्यै बलियो प्रतिपक्षीको भूमिका निभाउन आवश्यक छ भन्ने फ्लोरबाट सुझाव आएको छ,’ बैठकपछि केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले इकान्तिपुरसँग भने, ‘धेरै नेता साथीहरूले देउवाले आफूभन्दा फरक मत राख्नेलाई पेलेर जाने संकेत गरेकाले सजग हुनुपर्नेमा जोड दिनुभएको छ ।’

उनका अनुसार नेताहरूले देउवाको विधिविपरीतका कदमहरूलाई नजरअन्दाज गर्न नमिल्नेमा जोड दिएका थिए । तर, त्यसबारे कोइरालाले भने केही बोलेनन् । छलफलको अन्तिममा उपसभापति गुरुङले सम्बोधन गर्दै अहिले पार्टीलाई समग्र एकताबाट अघि बढाउनुपर्ने आवश्यक रहेको बताएका थिए । उनले आफूहरू पार्टीभित्र गुटबन्दी नगर्ने, भागबन्डा पनि नखोज्ने, तर सभापतिले सबै कार्यकर्तामाथि न्याय गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।

वाग्मती प्रदेश सभापतिका उम्मेदवार जगदीशश्वरनरसिंह केसीले पार्टी विधिविधानबमोजिम सञ्चालन हुने संकेत नेखिएकाले आफूहरूले सुधारवादी समूहको रुपमा काम गर्न सुझाव दिएको बताए । ‘पार्टी फेरि पनि विधिबमोजिम सञ्चालन हुनेमा हामीलाई आशंका भयो, त्यसैले पार्टीभित्र सबै कार्यकर्ताको न्यायका लागि, विधिका लागि संघर्ष गर्ने समूहको रुपमा अघि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं, नेताहरूलाई त्यही सुझाव दिएका छौं,’ उनले भने ।

नेता कोइरालाले बैठकको सुरुमै सम्बोधन गरेका थिए । कोइरालाले मुख्यगरी पार्टीको निर्णय प्रक्रिया, न्यायोचित र विधिसम्मत् रुपमा अवसरको वितरण र व्यवस्थापनका विषयमा प्रश्न उठाएका छन् । उनले यस्ता विषयमाथि सभापतिले ध्यान नपुर्‍याए पार्टीभित्र नेता, कार्यकर्तामाझ आखिर कांग्रेसमै किन बस्ने भन्ने प्रश्न उठ्ने र त्यसले विभाजनको अवस्था ल्याउन सक्ने संकेत गरेका छन् ।

‘महाधिवेशन भर्खरै सम्पन्न भएको छ, अहिले पार्टी संगठनभित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन, तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगतरुपमा अगाडि बढोस् भन्ने चाहन्छौं, सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनु पर्छ,’ कोइरालाले भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’

उनले सभापतिले केन्द्रीय सदस्य मनोनीत गर्दा मापदण्डका विषयमा प्रश्न उठेको बताए । ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं,’ उनले प्रश्न गरेका छन् ।

कोइरालाले सभापतिले मन पराए वा मन नपराएको अवस्थामा हुने छनौटले पार्टीलाई दुर्घटनामा धकेल्ने बताएका छन् ।