माओवादी केन्द्रको महाधिबेशनले पारित गरेको समसामयिक प्रस्ताव यस्तो छ (पूर्णपाठ)
काठमाडौँ- नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशनबाट समसामयिक प्रस्ताव पारित गरेको छ । हालै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गरेको हो । माओवादीले पुष्पकमल दाहाललाई पुनः अध्यक्ष चयन गर्दै हालै महाधिवेशन सम्पन्न गरेको थियो ।
माओवादीले कालापानीलगायतका भूमि समावेश गरेर पाठ्यक्रम बनाउन माग गरेको छ । ‘यो महाधिवेशन कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘साथै, संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’
माओवादीले अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित नगर्ने निष्कर्ष निकालेको छ । ‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस्,’ माओवादीको जोड छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसदसहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’
त्यस्तै माओवादीले ‘जनयुद्धकालीन मुद्दा’मा आफ्ना तीन कार्यकर्तालाई पक्राउ गरी बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ । मोरङका झलक भगत, गोरखाका विक्रम गुरुङ र कालीकोटका सिंहबहादुर शाहलाई ‘जनयुद्धकालीन मुद्दा’ पक्राउ गरी बन्दी बनाएपछि माओवादीले आपत्ति जनाएको हो ।
सो घटनालाई लिएर माओवादीको आठौं महाधिवेशनमार्फत समसमायिक प्रस्ताव पारित गर्दै बन्दी रिहाइको अपिलसमेत गरेको छ । ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षका रूपमा सञ्चालित महान् जनयुद्धमा भागलिएका मोरङको क. झलक भगत, गोरखाका क. विक्रम गुरुङ र कालिकोटका क. सिंहबहादुर शाह लगायत पूर्व जनमुक्ति सेनाका सदस्यहरू माथि जनयुद्धकालीन मुद्दाका आधारमा बन्दी बनाइएको छ’ प्रस्तावमा अगाडि भनिएको छ, ‘यो महाधिवेशन उहाँहरूमाथि लगाइएका मुद्दा खारेज गर्न र थुनामा रहेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’ माओवादी महाधिवेशनले ४५ वटा समसामायिक प्रस्ताव पारित गर्ने क्रममा उक्त पक्राउ घटनालाई सम्बोधन गरेको हो ।
माओवादीले काठमाडौँ उपत्यकाभित्रको माटो बालुवा उत्खननमा रोक लगाउनुपर्नेमा जोड गरेको छ । चुरे विनासप्रति सतर्क रहनुपर्ने भन्दै काठमाडौं उपत्यका भित्र उत्खनन र प्रशोधन दुवै गर्न नदिनका लागि जोड गरेको हो ।
‘चुरे विनास एवं बालुवा, ढुंगागिटीको चरम दोहनले पानीको सतह सयौं फिट तल जाने, डुबान र कटानले धनजनको क्षति हुने, साथै मधेशको मरूभूमिकरणको कारक चुरे दोहनको प्रक्रिया रोक्न तथा नदी प्रणाली र काठमाण्डौं उपत्यकाभित्र रहेको माटो, बालुवा उत्खनन तथा प्रशोधन तत्काल बन्द गर्न प्रभावकारी कदम चाल्न यो महाधिवेशन आग्रह गर्दछ’ पारित प्रस्तावमा भनिएको छ ।
यस्तो छ महाधिवेशनले पारित गरेको समसामयिक प्रस्ताव :