५० बढी देशका अवैतनिक दूतमा उच्च घरना उधोगपतिहरुको नै अधिपत्य

ठूला व्यापारी अवैतनिक दूत बन्न किन गर्छन् मरिहत्ते ?

सरकारले नेपालस्थित अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरुलाई उनीहरुको गाडीमा निलो प्लेट नम्बर र झण्डा राख्न पाउने सुविधालाई निरन्तरता दिने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयले केही दिनअघि अवैतनिक दूतहरुलाई गाडीमा पुनः निलो नम्बर प्लेट र झण्डा राख्न दिने निर्णय गरेको हो ।

‘अघिल्लो सरकारले अवैतनिक दूतका गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न लगाएको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय भएको छ । यसबारे अवैतनिक दूतहरुलाई जानकारी पनि गराइसकिएको छ,’ परराष्ट्रका एक अधिकारीले नेपालखबरसँग भने । नेपालस्थित अवैतनिक महावाणिज्यदूत र अवैतनिक दूतहरुको लबिइङपछि परराष्ट्रमन्त्री डा. नारायण खड्काले सो निर्णय लिएका हुन् ।

परराष्ट्रमन्त्री खड्काले नेपालस्थित अवैतनिक दूतहरुसंग केही दिनअघि भएकोे भेटमा गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न लगाइएको प्रतिबन्ध हटाइएको जानकारी गराएका थिए । इन्डोेनेसियाका तर्फबाट नेपालका लागि अवैतनिक महावाणिज्यदूत तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले परराष्ट्र मन्त्रालयले गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न यसअघि लगाएको प्रतिबन्ध फुकुवा गरिएको पुष्टि गरे।

‘परराष्ट्रले अब फेरि अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतले गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न पाउनेबारे निर्णय गरेको छ। यसले हाम्रो कामलाई सहजीकरण गर्न सहयोग पुग्छ। जस्तोः बाहिरबाट यहाँ राजदूतहरु आउँदा उनीहरुलाई स्वागत गर्न र त्यसपछिका भेटघाटमा सहज हुन्छ। हामी सरकारको यो निर्णयको स्वागत गर्छौँ,’ ढकालले नेपालखबरसँग भने।

अग्रवाल प्रकरणपछि खोसिएको थियो वाणिज्यदूतको सुविधा

किर्गिस्तानका तर्फबाट नेपालका लागि अवैतनिक दूत तथा व्यापारिक घराना शंकर समूहका सञ्चालक सुलभ अग्रवाल कोरोना महामारीको पहिलो लहरका बेला निलो नम्बर प्लेटको गाडी चढेर थर्मल गन (कोरोनाका बेला ज्वरो नाप्न प्रयोग गरिएको) को कालाबजारी गरिरहेकै अवस्थामा पक्राउ परेपछि उनले पाउँदै आएको कूटनीतिक सुविधामाथि प्रश्न उठेको थियो। उनले कूटनीतिक उन्मुक्तिको बाटो दुरुपयोग गरेको तत्कालीन सरकारको ठम्याइ थियो ।

त्यसपछि सरकारले २०७६ चैत २६ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्म नेपालस्थित अवैतनिक​ महावाणिज्यदूत तथा वाणिज्यदूतले गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न रोक लगाउने निर्णय लिएको थियो । निलो नम्बर प्लेट कूटनीतिक नियोग तथा विदेशी दूतावासका अधिकारीले मात्रै प्रयोग गर्न पाउँछन् ।

पहुँचवाला व्यापारी मरिहत्ते गर्छन् अवैतनिक दूत बन्न

नेपालमा हाल चार दर्जनभन्दा बढी अवैतनिक महावाणिज्यदूत र अवैतनिक दूत छन्। तर उनीहरुको काम र भूमिकाबारे पटक—पटक बहस चल्ने गरेको छ। अवैतनिक​ महावाणिज्यदूत हुन नेपालका प्रभावशाली व्यापारी मरिहत्ते गरेर लाग्ने गरेका छन्। नेपालमा आवासीय दूतावास नभएका विदेशी मुलुकले नेपालका लागि अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूत राख्ने गरेका छन् ।

अवैतनिक महावाणिज्यदूत तथा वाणिज्य दूतहरूले प्रयोग गर्दै आएको कूटनीतिक ओहोदा मिल्दो गाडीको निलो नम्बरप्लेट र सम्बद्ध मुलुकको झन्डा फहराउन दिने सुविधा दुरुपयोग भइरहेको जानकारी परराष्ट्र मन्त्रालयमा बेला—बेलामा आउने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन्।

अन्तर्राष्ट्रिय कूटनीतिक प्रचलनमा विभिन्न मुलुकले एकअर्का देशमा अवैतनिक दूत राख्ने गरेका छन् । नेपालभित्र सत्ताशक्ति र व्यापारिक प्रतिष्ठाको आड–भरोसा देखाएर अधिकांश महावाणिज्य तथा वाणिज्य दूतले सरकारी सेवा सुविधा समेत लिने गरेका छन् । परराष्ट्र मन्त्रालयका पूर्वशिष्टाचार महापाल गोपालबहादुर थापाले अवैतनिक महावाणिज्य तथा वाणिज्य दूत मानार्थ पद भए पनि प्रभाव–पहुँचका आधारमा पदको दुरुपयोग भइरहेको बताए । ‘कुनै मुलुकको प्रतिनिधित्व गरेको भन्दै कूटनीतिक जमघट र समारोहमा गएर आफ्नो उच्च सामाजिक हैसियत देखाउन निलो नम्बरप्लेट तथा ती मुलुकको झन्डा फहराउन उनीहरु लालायित हुन्छन्,’ थापाले नेपालखबरसँग भने ।

२०६४ सालमा थापा शिष्टाचार महापाल रहँदा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अवैतनिक महावाणिज्य तथा वाणिज्य दूतलाई निलो नम्बर प्लेट तथा विदेशी मुलुकको झन्डा फहराउन दिने निर्णय लिएको थियो । त्यसका पछाडि अवैतनिक महावाणिज्य तथा वाणिज्यदूत रहेका पहुँचवाला व्यापारी तथा व्यवसायीकै दबाब र प्रभाव कारण रहेको थापाले बताए ।

‘परराष्ट्र मन्त्रालयको कर्मचारी प्रशासन उनीहरुलाई निलो नम्बर प्लेट तथा विदेशी मुलुकको झन्डा फहराउन दिने पक्षमा थिएन। तर राजनीतिक नेतृत्व अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतको प्रभावमा पर्यो। कर्मचारी प्रशासनको केही जोर चलेन,’ उनले भने । तर, थापाको भनाइमा निलो नम्बर प्लेट भएको गाडी लिएर अवैतनिक दूत उपत्यका बाहिर जानुपरेमा परराष्ट्र मन्त्रालयको स्वीकृति चाहिन्छ। तर, त्यसको अनुगमन परराष्ट्र मन्त्रालयबाट हुन सकेको छैन ।

द्विदेशीय आर्थिक कूटनीति प्रबद्र्धन, आफूले प्रतिनिधित्व गर्ने मुलुकबाट नेपाल आउने पर्यटकलाई आवागमन सहजीकरण अथवा संकटकालीन समयमा उद्धार समन्वय गर्नेजस्ता काममा सहयोग पुग्ने हेतुले अवैतनिक दूतको नियुक्ति हुने गरेको छ । तर, नेपालमा व्यवसायी, व्यापारी र उद्योगपति आफ्नो सामाजिक प्रतिष्ठा उँचो बनाउने तथा कूटनीतिक सुविधा पाइने लोभमा विभिन्न देशको अवैतनिक दूत एवम् अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूत बन्ने गरेका छन् ।

परराष्ट्र मामिलाका जानकारहरुका भनाइमा यस्ता अवैतनिक दूतलाई कुनै पनि खालको प्रशासनिक, कूटनीतिक वा कानुनी उन्मुक्ति हुँदैन । ‘तर, निलो रङको कूटनीतिक नम्बर प्लेट भएको गाडीमा विदेशी झण्डा हल्लाउँदै हिँड्न पाउँदा व्यवहारिक रुपमा उनीहरुलाई धेरै छुट हुने गरेको छ। राजनीतिक तहका उच्च व्यक्ति र प्रशासकसँग राम्रो उठबस हुनेहुँदा उनीहरुले नेपालमा रहेको आवासीय राजदूतसरहको सुविधा पाउने गरेका छन्,’ परराष्ट्रका अर्का एक अधिकारीले भने, ‘राजदूतहरुलाई राजनीतिक भूमिका पनि हुन्छ । तर उनीहरुको बढी भूमिका आर्थिक क्षेत्रमा सम्बन्ध निर्माण गर्नमा हुन्छ ।’

कसरी हुन्छ नियुक्ति?

विद्यमान अवैतनिक वाणिज्यदूत सम्बन्धी नियमावलीअनुसार विदेशी मुलुकको प्रस्तावमा नेपाल सरकारले स्वीकृति दिएअनुसार अवैतनिक महावाणिज्यदूत नियुक्त हुन्छन्। २०३९ मा पहिलोपटक लागू भएको उक्त नियमावली पछिल्लो पटक परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको कार्यकालमा २०७५ फागुन मसान्तमा संशोधन गरिएको थियो।

नियमावलीको पाँचौ संशोधनअनुुसार कुनै मित्रराष्ट्रले चाहेमा नेपालको कन्सुलर क्षेत्रमा अवैतनिक वाणिज्यदूत नियुक्त गर्न सक्नेछन्। जसका लागि नियमावलीको बुँदा १२ को उपनियम (१) अनुसार विदेशी मुलुकले कुनै पनि नेपाली नागरिकलाई नेपालमा अवैतनिक वाणिज्यदूत नियुक्त गर्न चाहेमा स्वीकृतिका लागि परराष्ट्र मन्त्रालय समक्ष प्रस्ताव गर्नुपर्ने हुन्छ।

वाणिज्यदूतका लागि प्रस्तावित व्यक्ति ३५ वर्ष उमेर पुरा भएको, सार्वजनिक जीवनमा ख्याति कमाएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, बैंक तथा वित्तीय संस्थाको ऋण नतिरे बापत कालोसूचीमा नरहेको हुनुपर्ने व्यवस्था छ।

उक्त नियमावलीअनुसार अवैतनिक वाणिज्यदूतले दिइएको सुविधा, सहुलियत वा उन्मुक्ति दुरुपयोग गरेको पाइएको खण्डमा सरकारले जुनसुकै बेला रद्द गर्नसक्छ। नियमावलीको यही बुँदा प्रयोग गरेर २०७६ चैत अन्तिम साता परराष्ट्र मन्त्रालयले किर्गिस्तानका तर्फबाट नेपालका लागि अवैतनिक दूत तथा प्रतिष्ठित व्यापारिक घराना शंकर समूहका सञ्चालक अग्रवाललाई कारबाही गरेको थियो।

अवैतनिक दूतमा ठूला व्यापारीको पकड


अवैतनिक दूत र अवैतनिक महावाणिज्य दूत भएका सबैले कूटनीतिक सुविधा पुरै दुरुपयोग गरेका छन् भन्ने अवश्य होइन। उनीहरुले नेपाल र ती मुलुकसँगको कूटनीति सञ्चालन र आर्थिक सम्बन्ध जोड्न सेतुको काम समेत गरेका छन्। तर बेलाबेलामा उनीहरुको भूमिका शंकास्पद देखिने गरेको छ।

अधिकांश अवैतनिक दूत ठूला व्यापारिक घरानाका सदस्य छन्। जसमध्ये नेपालका चौधरी समूह, अग्रवाल समूह, वैद्य समूह, खेतान समूहको नाम अग्रपंक्तिमा आउँछ । परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाका अनुसार चर्चित व्यापारिक घराना चौधरी समूहका प्रमुख विनोद चौधरीको परिवारका दुई भाइ र तीन छोरासहित पाँच जना अवैतनिक दूत छन् । विनोदका भाइ वसन्त चौधरी नेपालस्थित मोरक्कोका तर्फबाट अवैतनिक महावाणिज्य दूत हुन्। उनका कान्छा भाइ अरुणकुमार चौधरी हंगेरीका अवैतनिक दूत छन्। विनोदका छोरा वरुण कजाकस्तानका तर्फबाट, राहुल माल्दिभ्स र निर्वाण चौधरी सर्बियाका तर्फबाट अवैतनिक दूत छन् ।

चर्चित उद्योगपति शशीकान्त अग्रवाल इक्वेडरका तर्फबाट नेपालका लागि अवैतनिक दूत छन् । अर्को मुलुक बोस्निया एन्ड हर्जगोभिनाले साहिल अग्रवाललाई अवैतनिक दूत बनाएको छ । त्यसैगरी सुमितकुमार अग्रवाल पेरु र अशोककुमार अग्रवाल गुयनाका तर्फबाट नेपालमा अवैतनिक दूत रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ दक्षिण अफ्रिकाका तर्फबाट नेपालमा अवैतनिक दूत छन् ।

अर्का व्यापारी राजेशकाजी श्रेष्ठ भियतनामका तर्फबाट नेपालमा दूत छन्। शोभाकर न्यौपाने लिथुवानियाका तर्फबाट यहाँ अवैतनिक दूत हुन्। नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा स्लोभेनियाका तर्फबाट यहाँ अवैतनिक दूत हुन् । वैद्य समूहका सदस्यको समेत अवैतनिक दूतमा बाहूल्यता छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा वैद्य समूहका प्रमुख सुरज वैद्य फिलिपिन्सका तर्फबाट अवैतनिक महावाणिज्य दूत छन् । करन वैद्य लाट्भिया र किरण वैद्य युक्रेनका तर्फबाट अवैतनिक महावाणिज्य दूत छन् । माल्टाका तर्फबाट नेपालका लागि दिनेश श्रेष्ठ अवैतनिक दूत हुन् ।

अर्को युरोपेली मुलुक पोर्चुगलले उद्योगपति राजेन्द्र खेतानलाई, टर्कीले प्रेमप्रकाश खेतान र अजेयराज सुमार्गीलाई बेलारुसले नेपालका लागि अवैतानिक दूत खटाएको छ। अर्को युरोपेली मुलुक ग्रिसले पर्यटन व्यवसायी विक्रम पाण्डेलाई अवैतनिक महावाणिज्य दूत बनाएको छ । यी व्यक्ति पहुँच र प्रभावका आधारमा नेपालमा ठूला व्यापारीमा पर्छन्। ग्लोबल आइएमई समूहका चन्द्र ढकाल इन्डोनेसियाका तर्फबाट महावाणिज्यदूत छन् ।

पर्यटन क्षेत्रमा नाम कमाएका वसन्तराज मिश्र चिलिका तर्फबाट यहाँ महावाणिज्यदूत छन् । राजेशबाबु श्रेष्ठ अस्ट्रियाका तर्फबाट नेपालमा महावाणिज्यदूत छन्। उनी मनकामना केबुलकारका मालिक हुन् । अर्को युरोपेली मुलुक पोल्यान्डले लोकमान्य गोल्छालाई महावाणिज्यदूत बनाएको छ। उनी हाल नेपालस्थित महावाणिज्यदूत तथा वाणिज्यदूतका डिन (प्रमुख) पनि हुन्। अर्का व्यवसायी अमिरप्रताप राणा युरोपकै अर्कोे मुलुक क्रोएसियाका तर्फबाट वाणिज्यदूत छन्। पर्यटन व्यवसायी आङछिरिङ शेर्पा नेपालका लागि बेल्जियमका अवैतनिक दूत छन् ।

पद्म ज्योति साइप्रसका तर्फबाट वाणिज्यदूत छन् । उनी चर्चित ज्योति समूहका सञ्चालक हुन्। त्यसैगरी नरेश दुगड मेक्सिकोका तर्फबाट अवैतनिक दूत छन्। उनी दुगड समूहका सदस्य हुन् । रोमानियाका तर्फबाट नारायण बजाज, इटालीका तर्फबाट प्रतिमा पाण्डे, इस्टोनियाका तर्फबाट नवराज दाहाल, इथोपियाका तर्फबाट राजेन्द्र गिरी र मोरिससका तर्फबाट गणेश कार्की अवैतनिक दूत छन् ।