सभापतिका तीन उम्मेद्वारले गरे मतदान, ३ बजेसम्म ८ सय बढी मत खस्यो
देउवालाई मतदान गर्न झन्डै एक घन्टा लाग्यो
काठमाडौँ- प्रधानमन्त्री एक कांग्रेस सभापति शेरबहादुर देउवा मतदान गरेर निस्किएका छन् । उनी सोमबार मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गरेका थिए । मतपत्र लिएर बुथ भित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्केका थिए । उनलाई मत हाल्न पौने घन्टा लागेको थियो ।
नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।
शेखर कोइरालाले गरे मतदान
नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् । राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् ।
मतदान गरेर बाहिरिए प्रकाशमान सिंह
नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनले मतदान गरेका हुन् ।
कांग्रेस नयाँ नेतृत्वको लागि राष्ट्रियसभा गृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान केन्द्रबाट मतदान कार्य भइरहेको छ । सभापति पदमा उम्मेदवार सिंहसहित शेरबहादुर देउवा र शेखर कोइरालाले पनि मतदान गरेका छन् ।
३ बजेसम्म ८ सय बढी मत खस्यो
कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । अहिले ३ बजेसम्म ८ सय मत खसेको छ। निर्वाचन समितिका अनुसार दिउँसो २ बजेसम्म ६ सय मत खसेको हो । सोमबार मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा ४ हजार ७४३ मतदाता रहेका छन् । पदाधिकारी सदस्यसहित १३४ पदका लागि निर्वाचन हुन लागेको हो ।
अहिलेसम्म पार्टी सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंहसहितका नेताहरुले मतदान गरिसकेका छन् । यस्तै, अन्य उम्मेदवार र प्रतिनिधिहरुले पनि भोट हालिरहेका छन् । मतदानस्थलमा ११ सय बुथको व्यवस्था गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यस बाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
मतदानस्थलको तस्बिर लिन रोक, फोटोपत्रकारले गरे ‘क्यामेरा डाउन’
भृकुटीमण्डपमा जारी कांग्रेसको मतदानस्थलमा तस्बिर लिन अवरोध गरेपछि विभिन्न सञ्चारमाध्यमका फोटोपत्रकारले ‘क्यामेरा डाउन’ गरेका छन् । मतदानस्थलमा रिपोर्टिङका क्रममा तस्बिर र भिडियो लिन पुगेकाहरुलाई प्रहरी प्रशासन लगाएर गेट बाहिर निकाल्न खोजेपछि आफूहरुले ‘क्यामेरा डाउन’ गरेको त्यहाँ रहेका सञ्चारकर्मीहरुले बताएका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ ।
शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका सार्थक हुनेमा आशावादी छन् ।