प्रस्तावित राजदूत आचार्यले भुपु गोर्खाहरुको समान पेन्सनदेखि बेलायतसँग राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने कुराको जोड
काठमाडौँ — बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र बेलायतबीच राजनीतिक, आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि दूतावास र सरकारले भूमिका खेल्नुपर्ने बताएका छन् । विश्वको पाँचौं ठूलो अर्थतन्त्र बेलायतसँग नेपालको सम्बन्ध ऐतिहासिक रहेको भन्दै प्रस्तावित राजदूत आचार्यले आगामी दिनमा आर्थिक र राजनीतिक सम्बन्ध विस्तारका लागि काम गर्नुपर्ने बताएका हुन् ।
संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सोमबार सुनुवाइका क्रममा आफ्ना कार्ययोजना, अनुभव र अभिरुची प्रस्तुत गर्ने क्रममा प्रस्तावित राजदूत आचार्यले आफू राजदूतमा नियुक्त भएमा ती क्षेत्रमा काम गर्न प्रतिबद्धता व्यक्त गरेका हुन् । बेलायतको अर्थतन्त्र, उसको विश्व राजनीति र अर्थतन्त्रमा प्रभाव, कुटनीतिक प्रतिनिधित्व ख्याल गरेर नेपालले लाभ लिनेगरी प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो । बेलायतले राष्ट्रिय आयको ०.७ प्रतिशत विकासोन्मुख देशमा आर्थिक विकास लगायतका क्षेत्रमा सहायता गर्ने र त्यो विश्वको सबैभन्दा अगाडि रहेको मुलुक भएकाले पनि नेपालले त्यहाँबाट लगानीको आफ्ना प्राथमिकताका क्षेत्र प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।
‘बेलायतले आफ्नै हिसाबले सम्बन्ध अगाडि बढाइरहेको छ । यो सन्दर्भमा नेपालले आफ्नो हितलाई केन्द्रमा राखेर सहकार्य गरी लाभ लिन सक्छ । सम्बन्धको सुदृढीकरण र विविधिकरणले नै हामीले लक्ष्य हासिल गर्न सक्छौं,’ उनले भने । राजनीतिक सम्बन्ध विस्तारका लागि दुवै देशबाट उच्चस्तरका भ्रमण हुनुपर्ने आचार्यको भनाइ थियो । उनले नेपालबाट बेलायतमा वर्तमान प्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा विगतमा पनि उच्चस्तरबाट भ्रमण भएको तर बेलायतबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भ्रमण नभएको बताए ।
‘सम्बन्धको विविधिकरण र सुदृढीकरण गर्नु महत्वपूर्ण हो । त्यसपछि मात्रै हामीले खोजेका लक्ष्य हासिल गर्न प्रभावकारी रूपमा लाग्न सक्छौं । यो विविधिकरणले स्वतन्त्र रूपमा सम्बन्ध विस्तार गर्न सक्ने हुन्छौं । विभिन्न चरणमा विगतमा पनि तत्कालीन राष्ट्राध्यक्ष, प्रधानमन्त्रीहरूबाट र विभिन्न तहमा पनि द्वीपक्षीय भ्रमण भएका छन्,’ उनले भने, ‘बेलायतबाट प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको भिजिट भएको छैन । यताबाट भएको तर उताबाट सरकारको प्रमुखको तहमा भएको छैन । त्यस्ता किसिमका भ्रमण गर्नका लागि सरकार र दूतावासले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।’
बेलायतबाट राष्ट्रप्रमुखले विगतमा भ्रमण गरेको तर नेपालमा बेलायतका कार्यकारी प्रमुखले भ्रमण नगरेको स्मरण गराउँदै भविष्यमा त्यस्ता भ्रमण गराउन पहल गर्नुपर्ने उनको भनाइ थियो । आचार्यले दुई देशबीचको संसदीय अभ्यास र अनुभव आदानप्रदान गरेर पनि दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सकिने भनाइ राखेका थिए । बेलायतबाट नेपालमा आर्थिक सहयोग ल्याउने क्रममा गरिबी निवारण, कोरोना संक्रमण र प्राकृतिक संकटमा सहयोग ल्याउनुका साथै आर्थिक विकासका लागि सहयोग ल्याउन सकिने उनले बताए । ‘प्राप्त सहयोगको गुणस्तरीय कार्यान्वयनमा तत्परता आवश्यक छ । बेलायत सहयोग र लगानी गर्न तयार छ र त्यो ठाउँ र वातावरण नेपालले दिनुपर्छ,’ उनले भने ।
नेपालको बेलायतसँगको सम्बन्ध ब्रिटिस गोर्खाले पनि जोडेको आचार्यको भनाइ छ । उनले ब्रिटिस गोर्खाले समान तलब र पेन्सनका लागि पहल लिनुपर्ने पनि बताए । बेलायतसँग व्यापार प्रवर्द्धनमा पनि नेपालको दूतावासले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो । बेलायतमा बजारको पहुँच बढाउने र नेपालमा बेलायतको प्रविधि एवं लगानी ल्याउनुपर्ने आचार्यले बताए । नेपालमा पर्यटन र प्रविधिका क्षेत्रमा लागानी ल्याउन सकिने उनको भनाइ थियो । नेपालबाट पढ्न बेलायत जानेको संख्या ठूलो रहेको उनको भनाइ थियो । उनीहरूका साथै त्यहाँ रहेका गैरआवासीय नेपालीलाई नेपालको बृहत्तर हितका लागि लगाउन पनि दूतावासले भूमिका खेल्नुपर्ने उनले बताए ।
द्वीपक्षीय सम्बन्धमा नेपालले राष्ट्रिय हित र उसको स्वार्थ हेर्नुपर्ने पनि आचार्यको भनाइ थियो । त्यसका लागि संविधान, परराष्ट्र मन्त्रालय र त्यसका विभिन्न निकायको रहेको उनको सुझाव थियो ।