एमाले महाधिवेशन : सहमतिका लागि कार्यकर्ताको दबाब, नेताहरु बिच छलफल जारी

सौराहा । नेकपा (एमाले) को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्द-सत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन् । सौराहामा सुरु हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन् ।

उनीहरुले पार्टीमा एकताबद्ध र सर्वसम्मत नेतृत्व हुनैपर्छ भन्दै नारा लगाइरहेका छन् । महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार २७५ प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको थियो ।

गत असोजमा सम्पन्न प्रथम विधान महाधिवेशनमा पारित विधान अहिले नै परिमार्जन गरिँदा सहमतिका लागि सहज हुने भए पनि छिटोछिटो निर्णय परितर्वन हुने स्थिति आएको टिप्पणी पनि कार्यकर्ताबीचमा सुनिएको छ । तर, सङ्कटपूर्ण अवस्थामा पार्टीको नेतृत्व तहमा उच्चस्तरको एकता, सहमति र उच्च लोकतान्त्रिक अभ्यासका लागि उक्त प्रस्तावलाई अन्यथा मान्न नमिल्ने पनि तर्क प्रतिनिधिको रहेको देखिन्छ ।

बन्दसत्रस्थलमा चितवनको चिनारी चिनाउने र स्थानीय उत्पादन तथा विभिन्न माक्र्सवादी पुस्तकका कक्ष राखिएका छन् । प्रतिनिधिको स्वास्थ्य व्यवस्थापनका लागि पार्टीको स्वास्थ्य समितिले निःशुल्क शिविर खडा गरेको छ । प्रतिनिधिका लागि बाँकी परिचयपत्र वितरण कार्य अहिले पनि भइरहेको छ । मनोनितमध्ये कतिपय प्रतिनिधिका परिचयपत्र बन्दै गरेको जनाइएको छ ।

बन्दसत्रस्थलमा अहिले प्रवेशका लागि कडाइ गरिएको छ । बन्दसत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ भने पार्टीले करिब ५०० स्वयंसेवक परिचालन गरेको छ । सो स्थलमा काल माक्र्सको मूर्ति, जननेता मदनकुमार भण्डारी, तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुको तस्बीर सजाइएको छ । पार्टीको केन्द्रीय प्रचार कमिटीले बन्दसत्रस्थल नजिकैको होटेल रोयल सफारीमा मिडिया सेन्टर सञ्चालन गरेको छ भने प्रेस चौतारी नेपाल, चितवन शाखाले सो स्थलमा सञ्चारकर्मीका लागि सहायता कक्षा खडा गरेको छ ।

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेका सचिव योगेश भट्टराईले पार्टीको आन्तरिक व्यवस्थापनका लागि सहमतिको प्रयास भइरहेको र त्यो आवश्यक रहेको जनाउनुभयो । उहाँले पार्टीमा एकताका लागि गरिएको १० बुँदे सहमति महाधिवेशनका प्रतिनिधिकै बीचमा रहेको प्रतिक्रिया दिनुभयो । सहमतिका नाममा प्रतिनिधिको मताधिकार गर्ने अधिकार कुण्ठित गर्ने त होइन भन्ने प्रश्नमा एमाले केन्द्रीय सदस्य सूर्य थापाले केन्द्रीय कमिटीको संख्या वृद्धि भएकाले अनुभवी नेतृत्व र नयाँ साथीहरु समेटिने गरी नेतृत्व चयन हुने बताउनुभयो ।

पार्टीका प्रतिनिधि र पर्यवेक्षक नेता कार्यकर्ताका प्रतिक्रिया सञ्चारमाध्यममा छाइरहेका छन् । उनीहरुले पनि मुलुकको विषम स्थितिमा पार्टी एकताबद्ध हुनुपर्ने र सहमतिमा नेतृत्व हुनुपर्ने धारणा दिइरहेका छन् । सहमतिमा नेतृत्व हुने तयारी भएपछि विभिन्न पदमा उम्मेदवारीको घोषणा गर्ने नेताहरुले प्रचार कार्यलाई स्थगन गरेका छन् ।

बन्दसत्र सुरु हुनुअघि एमाले नेताहरु छलफलमा जुटेका छन् । आज बिहान १० बजे हुने भनिएको बन्दसत्र सहमतिको प्रयास जारीका कारण १२ बजेपछिमात्र सुरु हुने बताइएको छ । बन्दसत्रमा विदेशी पाहुना प्रतिनिधिले पनि शुभकामना दिने कार्यक्रम छ । सौराहाको होटेल सेभेन स्टारमा निर्मित हलमा बन्दसत्र हुने तयारी छ । सहमति नभए निर्वाचन गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयारी गरेको छ । अहिले सौराहाका सबै होटेल महाधिवेशनका प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र सुरक्षाकर्मीले भरिभराउ छन् भने सडक र चोक वरपर सवारी साधन र मानिसको बाक्लो उपस्थिति देखिन्छ । सौराहा चोकबाट सौराहा बजार आउन जान शुक्रबार साँझदेखि अहिलेसम्म पनि सवारी जामको स्थिति हुँदा व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई धौधौ परेको छ । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा शुक्रबार भएको थियो ।

बन्दसत्र दुई घण्टापछि सर्‍यो

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र दुई घण्टाको लागि सरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाको अनुसार चितवनको सौराहास्थित सेभेन स्टार होटलमा १२ बजेबाट बन्दसत्र सुरु हुनेछ । बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने उनको भनाइ छ ।

पार्टीमा सर्वसम्मतको प्रयास भइरहेको बेलामा पदाधिकारीमा आकांक्षी धेरै भएपछि छलफलको लागि बन्दसत्र सारिएको हो । शिर्ष नेताहरु अहिले आन्तरिक छलफलमा बसिरहेका छन् । बन्द सत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। शुक्रबार राति बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो ।

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ । यसअघि ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पास गरेअनुसार २२५ सदस्यीय केन्द्रीय कमिटी अब ३०१ सदस्यीय बन्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार एमाले केन्द्रीय कमिटीमा अब अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी १९ जना पदाधिकारी हुनेछन् ।

यसअघि हटाइएको पोलिटब्युरो पनि ब्यूँताउने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ। केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गर्नेछ ।