एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा (दस्ताबेजसहित)
काठमान्डौ । एमाले उपाध्यक्ष भीम रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने संस्थापन पक्षको तयारी रहेका बेला आइतबार उपाध्यक्ष रावलले उम्मेदवार बन्ने बताएका हुन् । पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने रावल पहिलो हु न्।
ओलीले फेरि अध्यक्ष नबन्ने भनेर गरेको घोषणाको ‘सम्मानका लागि’ आफू अघि सरेको रावलले बताए । नेताहरूले महाधिवेशनलाई सहमतिको बनाउने बताइरहेका बेला रावलको कदमले निर्वाचन हुने टिप्पणी हुन थालेको छ । महाधिवेशन आउन पाँच दिन बाँकी छ ।
प्रवक्ता प्रदीप ज्ञवाली अझै सहमतिको गृहकार्य भइरहेको बताउँछन् । भन्छन्, ‘सहमतिका आधारमा नेतृत्व चयन गर्ने अधिकतम कोसिस हुन्छ । सम्भव भएन भने पनि उच्चतम समझदारी कायम हुनेछ ।’ रावलले भने ओली अध्यक्ष र प्रधानमन्त्री भइसकेकाले आफूलाई अध्यक्ष बनाउनुपर्ने तर्क गरेका छन् । ‘ओलीले ७० वर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र प्रधानमन्त्रीसमेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नुभएको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘उहाँले गर्न सक्ने गरिसक्नुभएको छ । नेतृत्व हस्तान्तरण गर्ने र अध्यक्ष पदमा नदोहोरिने घोषणा सम्झनुपर्छ ।’
उनले पार्टीमा फुट भएका बेला अरूबाट परिस्थितिको सामना गर्न केही कठिनाइ हुन्छ कि भन्ने लागेको भए त्यसबारे आफूमाथि भरोसा गरी ढुक्क हुन ओलीलाई आग्रह गरे । ‘मैले अध्यक्षको जिम्मेवारी पाए भने उहाँको अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारमा सदुपयोग गर्न तत्पर छु’, उनले भने । अध्यक्ष पदमा आफ्नो उम्मेदवारीलाई सहज रूपमा लिन र आफूप्रति सद्भाव प्रकट गर्न ओली र अरू नेतालाई उनले आग्रह गरे । पार्टीको नियम र प्रणालीबमोजिम उम्मेदवारी घोषणा गरेको उनले बताए । उनले पार्टीले प्यानल बनाउन प्रतिबन्ध लगाएकाले एक्लै उम्मेदवारी दिने स्पष्ट पारे ।
‘कसरी अघि बढ्ने भन्नेमा नेतृत्वसँग कुराकानीको प्रस्ताव राखे पनि सुनुवाइ भएन । आफूभित्रको निष्ठासहित महाधिवेशन आउन पाँच दिन बाँकी रहँदा मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेँ’, उनले भने । पार्टी एकता कायम गर्न कार्यदलमा सक्रियता र इमानदारीका साथ काम गरेको उनको भनाइ थियो ।
पार्टीमा अन्तरविरोध चर्किएपछि समाधानका लागि शीर्ष तहको सहमतिअनुसार कार्यदल गठन भएको थियो । कार्यदलले पार्टीलाई एकताबद्ध पार्न १० बुँदे सिफारिस प्रतिवेदन तयार गरी नेतृत्व समक्ष प्रस्तुत गरेको थियो । प्रतिवेदन कार्यान्वयन गर्न अनेकौं प्रयास भए पनि नेतृत्वको टकरावका कारण सार्थक हुन नसकेको रावलको गुनासो छ। ‘यसरी पटक–पटक पार्टीको विधि, पद्धति र एकता कायम गर्न गरिएका निर्णय र प्रयासलाई निरर्थक बनाइयो,’ उनले भने ।