सर्बोच्चमा कानुन व्यवसायीको आन्दोलन जारी, न्यायाधीशहरू आन्तरिक छलफलमा
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आन्दोलन जारी राखेका छन् । आइतबारबाट कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले सोमबार पनि आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।
प्रधानन्यायाधीश जबराले आफू ‘सम्मान जनक बहिर्गमन’को पक्षमा रहेको सन्देश दिइसकेका अवस्थामा पनि उनको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आन्दोलन जारी राखेका छन् । बारसहित सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरू प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएका छन् । उनीहरू इजलासमा समेत बसेका छैनन् । सोही क्रममा आन्दोलनमा उत्रिएका न्यायाधीशहरूलाई जबराले आफू सम्मानजनक बहिर्गमन हुन चाहेको सन्देश पठाएका थिए ।
कार्यपालिकासँग मिलेर राजनीतिक भाग खोजेको आरोप लगाउँदै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वाेच्चकै न्यायाधीश र कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।
न्यायाधीशहरू आन्तरिक छलफलमा
त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणको मुद्दामा इजालस तोकेपछि सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । सोमबार प्रधानन्यायाधीश जबराले १० जना न्यायाधीशलाई ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका छन् ।
आइतबार मात्रै प्रधानन्यायाधीशले १७ जना न्यायाधीशहरूको छलफलमा न्यायाधीश मनोज शर्मामार्फत आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश पठाएका थिए । प्रधानन्यायाधीशको प्रस्तावबारे बुझ्न न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई जिम्मा दिइएको थियो ।
उनीहरूले सोमबारका लागि प्रधानन्यायाधीश जबराले आफ्ना लागि पेसी नतोक्न र बाँकी न्यायाधीशका लागि पनि बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी तोक्न आग्रह गरेका थिए ।