फर्काएकै राजदुतहरु पुन: राजदुत हुन दौडधुप
काठमाण्डौ । सरकारले विभिन्न मुलुकका लागि राजदूत नियुक्ति सिफारिसको गृहकार्य अघि बढाएको छ। यससँगै राजदूतका आकांक्षीहरुको दौडधुप सुरु भएको छ । राजदूत बन्ने दौडमा पूर्वराजदूत समेत देखिएका छन् ।
पूर्वराजदूतहरु शंकर शर्मा, चोपलाल भुसाल, लक्की शेर्पा, रमेश कोइराला र महेश दाहाल यतिबेला फेरि राजदूत बन्न दौडमा रहेका छन्। अर्थविद् समेत रहेका शर्मा अमेरिकाका लागि पूर्वराजदूत तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।
भुसाल, शेर्पा र कोइरालालाई ओली नेतृत्वको पूर्ववर्ती सरकारले फिर्ता बोलाएको थियो। दाहाललाई ओली नेतृत्वको सरकारले ६ महिनाअघि अस्ट्रेलियाबाट फिर्ता डाकेको थियो । भुसाल र कोइरालाको कमजोर कार्यसम्पादन रहेको तत्कालीन सरकारको बुझाइ थियो ।
पूर्वसांसद समेत रहेकी शेर्पामाथि आफ्ना एक सहयोगीसँग पैसा लिएर अस्ट्रेलिया लगेको र दुःख दिएको आरोप लागेको थियो । त्यसपछि उनले सरकारको आग्रहमा राजीनामा दिएकी थिइन् । उनलाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण समेत सोधेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठबन्धनभित्र तिहारलगत्तै राजदूत नियुक्ति सिफारिस गर्ने गरी छलफल गरिरहेका छन् । राजनीतिक कोटामा राजदूत सिफारिस गर्नुअघि सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच भागबण्डा हुनेछ ।
भारत र अमेरिकामा कांग्रेस, चीनमा माओवादी ?
राजनीतिक तथा कूटनीतिक हिसाबले बढी महत्व राख्ने भारत, चीन र अमेरिकामध्ये भारतमा नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिस हुने कांग्रेसका विदेश मामिला सम्वद्ध नेताहरूले दाबी गरेका छन् । अमेरिकामा समेत आफैँले सिफारिस गर्न पाउनुपर्ने दाबी कांग्रेसको छ । गठबन्धन सरकारको संरचना अनुसार चीनका लागि माओवादी केन्द्रका तर्फबाट राजदूत सिफारिस हुने देखिएको छ । तर, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि चीन दाबी गरेको छ। उपेन्द्र यादव नेतृत्वको समाजवादी दलको कोटामा बेलायत वा जापान पर्ने देखिएको छ ।
सत्तारुढ दलहरुबीच राजदूत सिफारिस गर्ने बिषयमा छलफल जारी छ । सिफारिस हुनेमध्ये परराष्ट्र सेवाबाट यसपाली पाँचदेखि सात जना पर्नसक्ने परराष्ट्रका अधिकारीहरू बताउँछन् ।
भारत, चीन, अमेरिका, बेलायत, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, साउदी अरब, अस्ट्रेलिया, श्रीलंका, बहराइन, डेनमार्क, रुस र अष्ट्रियामा सरकारले राजदूत नियुक्तिको सिफारिसका लागि गृहकार्य गरिरहेको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले अब धेरै समय राजदूत पद रिक्त राख्न नहुने बताइसकेका छन् । ‘मन्त्रीज्यू चाँडै राजदूत सिफारिस गर्ने पक्षमा रहेको बुझेका छौँ’, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नेपालखबरसँग भने। मन्त्री खड्काले एक महिनाअघि पदभार ग्रहणका क्रममा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाइने बताएका थिए ।
नेपालमा सरकार परिवर्तन भएपिच्छे राजदूत फिर्ता बोलाउने परिपाटी बसेको छ। जसका कारण आन्तरिक अस्थिरताको प्रत्यक्ष असर कूटनीति सञ्चालनमा समेत पर्ने गरेको छ । सत्तारुढ दलहरुबीच राजदूत नियुक्तिमा भागबण्डा हुनेगरेको छ । राजनीतिक दलहरुले राजदूत पद ‘किनबेच’ गर्न थालेको भन्दै आलोचना समेत हुने गरेको छ ।
पूर्व राजदूत डा. शम्भूराम सिंखडा ‘हाम्राभन्दा पनि राम्रा मान्छेलाई राजदूत नियुक्त गर्नुपर्ने’ बताउँछन् । ‘म सरकारको राजदूत नियुक्तिको तयारीबारे जानकार छैन । तर मेरो व्यक्तिगत विचार भन्नुपर्दा पार्टी वा व्यक्ति विशेषको स्वार्थ होइन, राष्ट्रिय स्वार्थ र हित हेर्नसक्ने तथा हाम्रो परराष्ट्र नीतिका प्राथमिकतालाई विदेशमा प्रभावकारी कार्यान्वयन गर्नसक्ने व्यक्तिलाई राजदूत बनाइनुपर्छ,’ उनले भने ।
असोज पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले राजनीतिक कोटामा नियुक्त भएका राजदूतलाई एकसाथ फिर्ता बोलाएको थियो । ओली नेतृत्वको सरकारले राजदूत नियुक्ति व्यवस्थित गर्न भन्दै मापदण्ड बनाएको थियो । तर, आफैँले सो मापदण्ड पालना गरेको थिएन ।
राजदूत बन्ने दौडमा को को ?
राजदूत बन्ने दौडमा सत्तारुढ दलनिकटका व्यक्ति अगाडि छन् । नेपाली कांग्रेसभित्र तिलक रावल, गेजा शर्मा वाग्ले, शंकर शर्मा, दिव्यमणि राज भण्डारी, चोपलाल भुसाल, रमेश कोइराला र डा. गोविन्दराज पोख्रेल चर्चामा छन्। माओवादी कोटाबाट लक्की शेर्पा, महेश दाहाल, युवराज चौलागाईं लगायतको नाम सो पार्टीभित्र चर्चामा छ ।
त्यस्तै एकीकृत समाजवादी पार्टीबाट मिलनराज तुलाधरको नाम चर्चामा छ ।