नेपालमा आजदेखि जनगणना सुरू
संघीय संरचना लागू भएपछिको पहिलो तथा देशको १२औं जनगणना बुधबार (आज) सुरु हुँदैछ। जनगणनाका लागि पहिलो चरणमा परीवेक्षकहरू आउँदो असोज १८ सम्म नागरिकको घर–घर पुग्दैछन् । त्यसपछि गणकहरू विस्तृत विवरण संकलनका लागि जानेछन् । सुपरीवेक्षकले प्रत्येक घर पुगेर २५ प्रश्नावली भर्नेछन् । उनीहरूले ल्याएको तथ्यका आधारमा कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणनाको मुख्य काम हुनेछ। जनगणनाका लागि घरमा पुग्ने गणकले चाहिँ ८० प्रश्नको जवाफ लिनेछन् ।
‘मेरो गणना, मेरो सहमागिता’ नारासहित हुनलागेको यसपटकको जनगणनामा प्रत्येक परिवारको सामाजिक र आर्थिक गणना पनि हुनेछ । यसअघिका जनगणनामा प्रत्येक परिवारको नभई नमुनाका रूपमा प्रति ८ परिवारमात्र सामाजिक-आर्थिक गणना गरिन्थ्यो। सुपरीवेक्षकले चाहिँ वडा तहको सामुदायिक तथ्यांकसमेत संकलन गर्ने जनगणना कार्यालयले जनाएको छ ।
वडा तहको तथ्यांकका लागि वडाका निश्चित व्यक्तिबाट विवरण लिइनेछ । वडा तहको विभिन्न विवरणसमेत आउने भएकाले यो पटकको जनगणना विगतभन्दा फरक रहेको कार्यालयका जनगणना अधिकारी खगेन्द्र कार्कीले बताए । ‘गणकले प्रत्येक परिवारको सामाजिकरआर्थिक गणना गर्ने भएकाले पनि यो पटकको जनगणना फरक र महत्वपूर्ण छ,’ उनले भने, ‘तर, व्यक्ति र परिवारको त्यस्तो विवरण गोप्य राखिन्छ, सामूहिक तथ्यांकमात्र सार्वजनिक हुन्छ ।’
यसअघि व्यक्तिगत विवरणमा महिला, पुरुष र तेस्रो लिंगीको महल रहेकामा यो पटक महिला, पुरुष र अन्य भन्ने स्तम्भ राखिएको छ । अन्यको महलमा तेस्रो लिंगीसहित ५ प्रकारका यौनिक अल्पसंख्यकको विवरण संकलन गरिने कार्यालयले जनाएको छ । ‘यसअघिका गणनामा यौनिक अल्पसंख्यकको यकिन तथ्यांक आउन सकेको थिएन,’ जनगणनाको विवरण संकलनकी सहजकर्ता गौरी नेपालीले भनिन्, ‘यसअघि तेस्रो लिंगीलाई मात्र गणनामा राखिएको थियो, अब त्यो महलमा अन्य लिंगी राख्दा ५ प्रकारका यौनिक अल्पसंख्यकको तथ्यांक आउनेछ ।’ तर, यो प्रकारको विवरण संकलन निकै चुनौतीपूर्ण भएकाले सहयोग गर्न सबैलाई उनले आग्रह पनि गरिन् ।
जनगणनाका लागि जिल्लामा ९९ सुपरीवेक्षकलाई तालिम दिइएको छ । तर, गणकको सूची भने तयार हुन बाँकी नै रहेको कार्कीले जनाए । जिल्लामा ३ सय ९७ गणक छनौट हुने र १ गणकले १ सय ६० देखि १ सय ९० परिवारको गणना गर्ने अनुमान छ । जिल्लाका स्थानीय तहमा जनगणना कार्यालय खुलिसकेका छन् । मानिसको अक्सर बसोबास रहेको ठाउँमै उसको गणना गरिनेछ । स्थायी ठेगाना जहाँ भएपनि व्यक्ति बढीजसो जहाँ बस्छ, उसको तथ्यांक बसेकै ठाउँमा संकलन हुने कार्कीले बताए । ‘व्यक्तिको विवरण नछुटाइ र नदोहोर्याइ संकलन गरिनेछ,’ उनले भने, ‘व्यक्तिको स्थायी ठेगाना कता हो भन्ने छुट्याउनुपर्दैन तर उसको अहिले बसोबास कहाँ हो भन्ने आधारमा विवरण संकलन गरिन्छ ।’
विगतभन्दा यो पटक गुणस्तरीय र विश्वसनीय तथ्यांक आउने आशा गरिएको छ। जनगणना अधिकारी कार्कीले जिल्लामा जनगणनाका लागि सबैजसो तयारी पूरा भएको बताए । विगतमा सामुदायिक विद्यालयका शिक्षकलाई गणक रूपमा नियुक्त गरिन्थ्यो। यो पटक कक्षा १२ उत्तीर्णलाई छनौट गरी गणक राखिनेछ। जनगणनाको प्रारम्भिक तथ्यांक ३ महिनाभित्रमा आउनसक्ने उनले जनाए ।
यसअघि गत असार ८ मै सम्पन्न गर्नेगरी जनगणनाको तयारी गरिएको थियो। तर, कोभिड महामारीका कारण जनगणना कार्यक्रम नै स्थगित गर्नुपरेको थियो ।