एल साल्भाडोरमा बिटक्वाइनलाई आधिकारिक मुद्रा

बीबीसी । विश्वमै पहिलोपटक एल साल्भाडोरले पछिल्लो समय प्रख्यात र विवादास्पद मानिएको क्रिप्टोकरेन्सी बिटक्वाइनलाई आधिकारिक मुद्राका रूपमा अपनाउन स्वीकृति दिएको छ । यो निर्णयसँगै विश्वभर बिटक्वाइनजस्ता डिजिटल करेन्सी नयाँ अवसर हुन् या खतरा बन्न सक्छन् भन्नेमा बहस सुरु भएको छ । अब एल साल्भाडोरमा सबै व्यवसायीले मुद्राका रूपमा बिटक्वाइनलाई स्वकार्नैपर्ने हुन्छ ।

यता, सरकारले प्रत्येक नागरिकलाई ३० डलर बराबरको बिटक्वाइन प्रदान गर्ने हुँदा लाखौँ मानिसले सरकारको नयाँ ‘डिजिटल वालेट एप’ डाउनलोड गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, बिटक्वाइनका समर्थकहरूले यसको मूल्य वृद्धिमा मद्दत गर्न विश्वभरबाट ३० डलर बराबरको डिजिटल क्वाइन खरिद गरिरहेका छन् ।

यो खबरले कतिपय नागरिकलाई उत्साहित बनाएको छ भने कतिचाहिँ खुसी छैनन् । किनकि, बिटक्वाइनको मूल्य गत वर्ष अप्रत्यासित रूपमा घटबढ भएको थियो । केवल १० हजार डलरप्रति क्वाइनबाट बढेर सन् २०२० सेप्टेम्बर मा यसको भाउ ६३ हजार डलरसम्म पुगेको थियो । तर, २०२१ को अप्रिलमा आएर फेरि ३० हजार डलरमा झरेको हो ।

पछिल्ला केही दिन यसको मूल्य ५१ हजारसम्मले वृद्धि भएको छ, यो एल साल्भाडोरको निर्णयबाट प्रभावित भएको हुन सक्ने बताइएको छ ।सोमबार मात्र रेडिटको एउटा भाइरल पोस्टमा ‘मंगलबार सबैजना ३० डलर बराबरको बिटक्वाइन खरिद गर्न तयार छौँ नि ?’ भनेर लेखिएको थियो । तर, देशमा बिटक्वाइनलाई आधिकारिक मान्यता दिइए पनि सेन्ट्रल अमेरिकन युनिभर्सिटीको सर्वेक्षणमा सहभागी केवल ४.८ प्रतिशत मानिसले मात्र बिटक्वाइनका बारेमा राम्ररी बुझेको र यसलाई कसरी प्रयोग गर्ने भनेर थाहा भएको पत्ता लागेको छ । एक हजार २८१ सहभागीहरूमा ६८ प्रतिशतले यसलाई आधिकारिक मुद्राको मान्यता दिने कुरामा सहमति जनाएका थिए ।

७० वर्षीया जेनेट सेनडोभल होम डेलिभरीमार्फत दैनिक उपभोग्य सामानहरू बिक्री गर्छिन् र उनले आफू यस क्रिप्टोकरेन्सीको विषयमा कुनै संलग्नता नजनाउने बताएकी छन् । उनी भन्छिन्, “म परिवर्तनलाई अपनाउने मान्छे हुँ । तर, यसपटक म सहमत छैन । किनकि। मेरो देशमा धेरै मानिस शिक्षित छैनन् र कतिसँग अझै पनि मोबाइल फोन छैन । विशेषगरी ज्येष्ठ नागरिकले यसको प्रयोग गर्ने छैनन् । अहिलेका लागि भने म सरकारले जारी गरेको एप डाउनलोड गर्दिनँ । तर, कुनै न कुनै समय मैले गर्नैपर्छ होला । मलाई उनीहरूले दिने ३० डलरमा कुनै रुचि छैन । म मिहिनेत–पसिनाले कमाएको रकम नै रोज्छु ।”

यता, २६ वर्षीय ट्याक्सी चालक डेनिअल हर्कुलस भने सरकारको यस्तो निर्णयप्रति ज्यादै उत्साहित छन् । तर, यसबाट हुने कमाइबारे केही चिन्तित पनि छन् । उनी भन्छन्, “मैले करिब दुई महिनादेखि बिटक्वाइन अपनाउन थालेको हुँ । मलाई थाहा थियो यस्तो हुनेछ भनेर । तर, अहिलेसम्म पनि केवल १० प्रतिशत ग्राहकले मात्र बिटक्वाइनबाट भुक्तान गर्न खोज्छन् ।”

यस्तोमा उनले आफ्नो वालेटलाई एक हजार डलरको बिटक्वाइनमा परिणत गर्ने अपेक्षा गरेका छन् । उनी भन्छन्, “मलाई एउटै कुराको डर छ, दिनरात काम गरेर कमाएको पैसा गुमाउनुपर्‍यो भने त्यो उचित हुनेछैन ।” अहिले डलरलाई बिटक्वाइनमा परिणत गराउनकै लागि भनेर त्यहाँ देशभर २०० वटा नयाँ ‘क्यास मेसिन’ राखिएका छन् । तर, यो खबरलाई धेरै नागरिकले बिटक्वाइनविरुद्ध राजधानीमा जारी सरकारको विरोध प्रदर्शनबाट ध्यान हटाउने बहानाका रूपमा मात्र लिएका छन् ।

एल साल्भाडोरभन्दा विपरीत विश्वका अरू मुलुकजस्तै चीन सरकारले भने बिटक्वाइनमाथि कडाइ गर्न थालेको छ ।