गाजा अस्पतालमा इजरायली आक्रमणमा पाँच सयकाे मृत्यु, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, मानव अधिकार प्रमुख भोल्कर टर्कले मंगलबार राति विज्ञप्ति जारी गर्दै गाजा सहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणमा परी सयौँ मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन्। टर्कले भने, ‘स्तब्ध छु। आज राति, सयौँ मानिस मारिए। भयानक रूपमा गाजा सहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र देखेका परिवारहरू पीडित भएका छन् ।’

प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा पाँच सय प्यालेस्टाइनी मारिएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो । ‘हामीलाई यो नरसंहारको पूर्ण मात्रा थाहा छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्ण रूपमा रोकिनुपर्छ, यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ,’ टर्कले भने, ‘नागरिकहरूलाई सुरक्षित गर्नुपर्दछ र मानवीय सहायता प्रदायकहरूलाई त्यहाँ तुरुन्तै पुग्न अनुमति दिनुपर्छ।’

मिडिया रिपोर्टका अनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मंगलबार दिउँसो आक्रमण हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको थियो । त्यहाँ शरण खोजिरहेका करिब चार हजार मानिसले आश्रय लिइरहेका थिए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ ।

डब्लुएचओले भनेको छ, ‘अस्पताल सञ्चालनमा थियो, बिरामीहरू, स्वास्थ्यकर्मीहरू र आन्तरिक रूपमा विस्थापित मानिसहरू त्यहाँ आश्रय लिएका थिए । यो अस्पताल इजरायली सेनाबाट निकासी आदेशको सामना गरिरहेका गाजापट्टीको उत्तरमा अवस्थित २० मध्ये एक हो। डब्लुलुओले नागरिक र स्वास्थ्यकर्मीहरूको तत्काल सक्रिय सुरक्षाका लागि आह्वान गर्दछ, निकासी आदेशहरू उल्टाउनुपर्दछ र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गरिनुपर्छ, जसको अर्थ स्वास्थ्य सेवा सक्रिय रूपमा सुरक्षित हुनुपर्छ र आक्रमणबाट लक्षित गरिनुहुँदैन ।’ मंगलबार राति जारी गरिएको समाचार टिप्पणीमा, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाको अल अहली अरब अस्पताल ध्वस्त भएको र सयौँको ज्यान गएको घटनाले स्तब्ध र भयभीत भएको बताएको छ ।

‘अस्पतालहरू मानव जीवन बचाउनका निम्ति आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशका दृश्यहरू हेर्नका लागि होइन । अस्पतालको शय्यामा आक्रमणबाट बिरामीको मृत्यु हुनुहुँदैन। अरूलाई बचाउन खोज्दा कुनै पनि डाक्टरले आफ्नो ज्यान गुमाउनुहुँदैन । अस्पतालहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत सुरक्षित हुनुपर्छ,’ उनले भने ।