जसपाको वरियतामा हेरफेर, पहिलो नम्बरमा डा.बाबुराम भट्टराई

३५ सदस्यीय कार्यकारिणी समिति, को रहे को हटे ?

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)को पहिलो वरियतामा पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पाएका छन् । निर्वाचन आयोगले सोमबार अध्यावधिक गरेको कार्यकारिणी समितिको पहिलो वरियतामा डा. भट्टराईको नाम उल्लेख छ । अध्यक्ष उपेन्द्र यादवको नाम दोस्रो वरियतामा छ । तेस्रो वरियतामा वरिष्ठ नेता अशोककुमार राई छन् । चौथोमा राजेन्द्रप्रसाद श्रेष्ठलाई राखिएको छ ।

त्यसपछि भने वर्णानुक्रमअनुसार अमृता अग्रहरी, गजाधर रोहिता यादव, गोविन्द चौधरी, गंगानारायण श्रेष्ठ, डम्मरुबल्लभ खतिवडा, दुर्गा सोब, नवराज सुवेदी, नवलकिशोर साह, प्रकाश अधिकारी, प्रशान्त सिंह, परशुराम खापुङ, परशुराम बस्नेत, भक्तबहादुर शाह, मनिषकुमार सुमन, महिन्द्रराय यादव, मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इश्तियाक राई, युवराज कार्की, रकम चोम्जोङ, रणध्वज लिम्बु, रमेशप्रसाद यादव, राजकिशोर यादव, रामनरेश राययादव, रामसहायप्रसाद यादव, रेणुकुमारी यादव, रेशमलाल चौधरी, लालबाबु राउत, विजयकुमार, सुशीला श्रेष्ठ, हिसिला यमी र हेमराज राई छन् ।

ज्यान मार्ने उद्योगमा सम्लग्न रहेको प्रमाणित भएपछि डिल्लीबजार जेलमा रहेका रेशमलाल चौधरी पनि कार्यकारिणी समितिमा समेटिएका छन् । ५१ सदस्यीय कार्यकारिणी समिति ३५ सदस्यीयमा खुम्चिँदा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहितका १६ नेता बाहिरिएका छन् ।

निर्वाचन आयोगबाट प्राप्त कागजात अनुसार बाहिरिने अन्य नेतामा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, बृजेशचन्द्र लाल, जीतेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशवकुमार झा, इकवाल अहमद साह, निर्जला राउत, सुनिलकुमार झा र प्रशान्त सिंह छन् ।उनीहरूलाई साधारण सदस्यमात्र राखिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले केन्द्रीय कार्यकारिणी समितिले प्रक्रिया पुर्‍याएर कार्यकारिणी समितिको संख्या हेरफेर गरिएको जानकारी दिए ।

जसपामा मन्त्री बन्‍न होडवाजी, अध्यक्ष यादवलाई नै सरकारमा नजान पार्टीभित्र दबाव

जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच मन्त्री पदको आकांक्षी बढेपछि पार्टीमा किचलो बढेको छ । नेताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा नजान दवाब दिइरहेका छन् । महेन्द्र राय यादव, राजकिशोर यादवमध्ये कुनै एक नेताको नेतृत्वमा पार्टी सरकार जानुपर्ने जसपाका नेताहरुको दबाव छ । ‘उपेन्द्र यादव धेरै पटक सरकारमा जानुभयो । अब नयाँ अनुहारलाई अवसर दिनुपर्छ,’ जसपाका एक नेताले भने ।

अध्यक्ष यादव भने उप–प्रधान सहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा जाने योजनामा छन् । आफ्नो नेतृत्व नभए पार्टी सरकारमा नजाने अध्यक्ष यादवको अडान छ । जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भने सबैलाई मिलाएर पार्टीलाई सरकार जानुपर्ने कित्तामा उभिएका छन् ।

मन्त्री पदका लागि दर्जन बढी नेताहरु आकांक्षी छन् । जसपाका सांसद महेन्द्र राय यादव, राजकिशोर यादव, इस्तियाक राई, रेणु यादव, राजेन्द्र श्रेष्ठ, मृगेन्द्र सिंह यादव, प्रदीप यादव, नरमाया ढकाल, रानी मण्डल, रेनुका गुरुङ, लिला सिटौला, डा सुरेन्द्र यादव, प्रमोद साह, अमृता अग्रहरी लगायत मन्त्री पदमा आकांक्षी देखिएका छन् ।

मन्त्री छनोटमा पार्टीभित्र रस्साकस्सी देखिएपछि त्यसको अन्तिम टुंगो लगाउन भदौ १ र २ गते काठमाडौँमा जसपाको कार्यकारणी समितिको बैठक बोलाइएको छ । सत्ता सहयात्री राजनीतिक दलको गठबन्धभित्र मन्त्रालय र मन्त्री संख्या नमिलेका कारण सरकारमा जान ढिला भएको जसपाका नेता इस्तियाक राईको भनाइ छ ।

‘गठबन्धनभित्र बाँडफाँड कुरा मिलेको छैन,’उनले भने,‘अब त्यसको टुङ्गो दुई दिनभित्र लाग्छ।’गठबन्धनको साझा कार्यक्रम र रणनीतिको प्रतिक्षामा जसपा थिए । संविधान संशोधन, नागरिकता जस्ता मुद्दा जसपाको मूल मुद्दा हो । जुन गठनबन्धनको साझा कार्यक्रममा समेटिएको छ । यससँगै जसपा नेताहरु सरकारमा जाने मुडमा छन् ।

मन्त्री पद हत्याउन पार्टीका शीर्षस्थ नेताहरुले हानाथाप गरेपछि पार्टी अध्यक्ष यादव दबावमा छन् । ‘मन्त्री पदको विषयमा कुनै विवाद छैन । आकांक्षी माननीयहरुको नाम पार्टीबाट अनुमोदनपछि मात्रै जसपा सरकारमा जाने कुरो छ,’अध्यक्ष यादवका प्रेस सल्लाहकार महेश चौरसियाले भने ।

जसपाले ६ मन्त्रालय र ३ राज्यमन्त्री गठबन्धनसँग मागेको स्रोतको भनाइ छ । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा लगायतमा मन्त्री पदका थुप्रै नेताहरु दावेदार हुँदा सबै पार्टीलाई सरकारमा मन्त्री पठाउनु चुनौती नैबनेको छ । जसकारण देउवा सरकारले महिना दिन पुग्न लाग्दा पनि पूर्णता पाएको छैन ।