राष्ट्रपति मोइजको हत्यामा विदेशी आक्रमणकारी समूह संलग्न

‘आक्रमणकारी समूहमा अधिकांश कोलम्बियाका अवकाशप्राप्त सैनिक’

पोर्ट–अ–प्रिन्स । हाइटीका राष्ट्रपति जोभनेल मोइजको हत्यामा विदेशी समूह संलग्न भएको त्यहाँको प्रहरीले दाबी गरेको छ । हाइटी प्रहरीका प्रमुख लियोन चार्ल्सका अनुसार राष्ट्रपतिमाथि आक्रमण गर्नेमा अधिकांश कोलम्बियाका पूर्वसैनिक थिए । प्रहरी प्रमुख चार्ल्सका अनुसार आक्रमणकारीको उक्त समूहमा २६ कोलम्बियाली र हाइटियन मूलका २ अमेरिकी थिए ।

अहिलेसम्म २ अमेरिकीसहित १७ जना संदिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको र ८ जना अझै फरार रहेको प्रहरीले जानकारी दिएको छ । बाँकी संदिग्ध राजधानी पोर्ट–अ–प्रिन्समा भएको भिडन्तमा मारिएको प्रहरीले बताएको छ । बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरी केही संदिग्धलाई सार्वजनिक गरेको थियो । प्रहरीले कोलम्बियाली राहदानी र अन्य केही प्रमाण पनि सार्वजनिक गरेको थियो । राष्ट्रपतिको हत्याको योजना कसले बनायो र केबाट प्रेरित थियो भन्नेबारे अहिलेसम्म केही स्पष्ट भएको छैन । तर हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले ५३ वर्षीय राष्ट्रपति मोइज मुलुकमा ‘तानाशाही’ प्रणालीरिुद्ध लडिरहेको हुनाले उनलाई निसाना बनाइएको दाबी गरेका छन् ।

कोलम्बिया सरकारले पनि उक्त आक्रमणकारी समूहमा आफ्नो सेनाका कम्तीमा ६ जना रिटायर्ड सैनिक संलग्न भएको जानकारी आएको बताएको छ । साथै कोलम्बियाले राष्ट्रपतिको हत्याबारे अनुसन्धानमा पूर्ण रुपमा हाइटी सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकी सरकारले भने अहिलेसम्म आफ्ना नागरिकलाई नियन्त्रणमा लिएकोबारे पुष्टि गरेको छैन ।

राजधानी पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपति निवासमा स्थानीय समयअनुसार बुधबार बिहान करिब ११ बजे अज्ञात हतियारधारीले गरेको आक्रमणमा मोइजको ज्यान गएको थियो । आक्रमणमा प्रथम महिला घाइते भएकी छन् । अमेरिकाका लागि हाइटीका राजदूत बोचित एडमन्डले प्रथम महिलाको अवस्था गम्भीर रहेको जनाउँदै उपचारका लागि अमेरिकाको फ्लोरिडा लगिएको छ । पछिल्लो समय हाइटमा राजनीतिक अस्थिरता बढ्दै गएको थियो । मोइजले नयाँ प्रधानमन्त्रीका रूपमा नाम घोषणा गरेका एरियल हेनरीले भने शपथ लिइसकेका थिएनन् । घटनापछि छिमेकी डोमिनिकन रिपब्लिकले हाइटीसँगको सीमा बन्द गरेको छ ।

जोभनेल मोइज सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए । तर पछिल्लो समय विरोधीहरूले उनको राजीनामा माग गर्दै आएका थिए । भ्रष्टाचार अभियोगहरूका कारण उनको लोकप्रियता ओरालो लागेको थियो र उनले सरकारविरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको सामना गर्दै आएका थिए । यसै वर्षको सुरुमा राजधानी र देशका अन्य सहरमा उनको राजीनामाको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए ।

विपक्षीहरूले मोइजका पूर्ववर्ती मिसेल मार्टेलीले पद त्याग गरेको मितिबाट ५ वर्ष पुगेको भन्दै उनको कार्यकाल सन् २०२१ को फेब्रुअरी ७ मै सकिएको दाबी गरेका थिए । तर मार्टेलीले पद त्यागेको मिति (सन् २०१६ फेब्रुअरी ७) मा आफूले पद नसम्हालेको भन्दै मोइजले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउने गरेका थिए ।

चुनावमा धाँधली भएको भन्ने आरोपका कारण बीचको एक वर्ष ढिलाइ हुन गएको हो । जसका कारण सन् २०१५ को निर्वाचनको नतिजा रद्द गरेर नयाँ निर्वाचन गरिएको थियो । चुनावमा मोइज विजयी भएका थिए ।