उदाउँदै छ प्रविधिको नयाँ युग

‘अहिले कर्मचारीले भिडियो कन्फ्रेन्स र उपभोक्ताले ई–कमर्सको सहारा मात्र लिइरहेका छैनन् । महामारीले डिजिटल भुक्तानी, टेलिमेडिसिन र औद्योगिक स्वचालनलाई पनि तीव्रता दिएको छ । अप्ठेरो परिस्थितिले समाजलाई प्रायः विकसित तुल्याउँछ ।’

गएको दशकमा नव अन्वेषणको धीमा गतिबाट थुप्रै मानिस निराश भए । खासगरी अर्थशास्त्रीहरु। उत्पादकत्व वृद्धि एकदमै गतिहीन थियो । स्मार्टफोन र सामाजिक सञ्जालजस्ता लोकप्रिय बनेका अन्वेषणहरुले उत्पादकत्वमा खासै ठूलो योगदा दिन सकेनन् । अर्कोतर्फ तिनको खराब कुप्रभाव भने प्रत्यक्ष देखिन्थ्यो । उदाहरणका लागि तिनले खडा गरेको शक्तिशाली एकाधिकार र सार्वजनिक विचारको प्रदुषणलाई लिन सकिन्छ । स्वचालित कारजस्ता भरोसा गरिएका प्रविधि अगाडि बढ्न सकेनन् । जसले गर्दा सिलिकन भ्यालीका प्रचारकहरु बुद्धु देखिए। सुरक्षाबारे बढाइचढाइ कुरा गर्नेहरुले सर्वसत्तावादी चीनले पश्चिमलाई उछिन्न लागेको खतरा देखाए । निराशावादीहरुले अन्ततः संसारमा कामलाग्ने विचार समाप्त हुँदै गएको चेतावनी दिए ।

तर, आज प्रविधिसम्बन्धी नयाँ आशा उदाउँदैछ। कोभिड–१९ को खोप जुन गतिमा उत्पादन भयो, त्यसले वैज्ञानिकहरुलाई लोकप्रिय बनाएको छ । महामारीकै समयमा प्रविधिको क्षेत्रमा लगानीमा ह्वात्तै वृद्धि भयो र डिजिटल प्रविधिको प्रयोग पनि व्यापक वृद्धि भयो । यी सफलताले प्रगतिको नयाँ युगको आशा देखाएको छ । आशावादीहरु निकै फूर्तिसाथ आगामी दशकमा प्रविधिले ठूलो फड्को मार्ने अनुमान गर्छन् । उसो त सन् २०१० दशकमा पनि थुप्रै प्रगति भएका थिए । उदाहरणका लागि क्यान्सर उपचारलाई लिन सकिन्छ । त्यसैले प्रविधिका कारण उटोपिया नै आउने भविष्यवाणी बेकार हुन् । तर, यदि राज्यले नयाँ प्रविधिलाई फूल्नफल्न दिए भने मानिसको जीवनस्तरलाई नै उकास्नेगरी अन्वेषणको नयाँ युग सुरु हुने सम्भावना भने छ ।

पुँजीवादको इतिहास हेर्ने हो भने प्रविधिको तीव्र विकास नै यसको मुख्य विशेषता हो । १८औँ शताब्दीले औद्योगिक क्रान्ति र यन्त्रसहितको कारखाना ल्यायो । १९ औँ शताब्दीमा रेलमार्ग र विद्युत विकास भयो भने २० औँ शताब्दीमा कार, विमान, आधुनिक औषधिविज्ञान । वासिङ मेसिनको विकासले घरेलु कामकाजबाट ठूलो राहत दियो । तथापि १९७० को दशकमा पुगेर समग्र उत्पादकत्व वृद्धिका हिसाबले प्रगतिको गति सुस्तायो । काम गर्ने जनशक्तिमा महिलाहरु थपिँदै गएकाले त्यसले अर्थतन्त्रमा पारेका प्रभाव भने केही समयलाई छोपियो । १९९० को दशकमा व्यक्तिगत कम्प्युटरको विकासले कार्यक्षमता वृद्धि गरयो । तर, २००० पछि भने वृद्धि पुनः रोकियो ।

यो मन्दी अन्त्य हुनुपर्ने तीन वटा कारण छन् । पहिलो हो– ठूलो परिवर्तन निम्त्याउने सम्भावना रहेका प्रविधिको विकास । फाइजर–बायोएनटेक र मोडर्नाले तयार गरेको कोभिड–१९ विरुद्धको खोपमा ‘मेसेन्जर आरएनए’ प्रविधि सफल भएको छ । विज्ञानले औषधि विज्ञानलाई कसरी शक्तिशाली बनाउँछ भनेर यसले देखाउँछ । मानिसले जीव विज्ञानलाई आफ्नो इच्छाअनुसार मोड्दै आएको छ । उदाहरणका लागि रोगको उपचार, जिन एडिटिङ वा ल्याबमा मासु उत्पादनलाई लिन सकिन्छ।

अन्ततः आर्टिफिसियल इन्टेलिजेन्सले पनि अनेक क्षेत्रमा गतिलो प्रगति गरिरहेको छ । अल्फाबेटकै एउटा हिस्सा डिपमाइन्डले बनाएको एउटा कार्यक्रमले प्रोटिनको आकार अनुमान गर्ने गतिलो क्षमता देखाएको छ । त्यस्तै, गएको गर्मीमा ओपनएआईले भाषासम्बन्धी हालसम्मकै उत्तम अल्गोरिदम ल्याएको छ । अक्टोबरदेखि एरिजोना राज्यको फिनिक्समा चालकरहित ट्याक्सीले मानिसहरुलाई ओसरपसार गर्न थालेको छ । नवीकरणीय उर्जाको मूल्यमा ठूलो गिरावट आएको छ । जसले गर्दा हरित उर्जामा गरिएको लगानी नडुब्नेमा सरकारहरु ढुक्क भएका छन् । चीनले समेत सन् २०६० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने बाचा गरेको छ।

आशावादी हुने दोस्रो कारण हो– प्रविधिमा ह्वात्तै बढेको लगानी । २०२० को दोस्रो र तेस्रो त्रैमासिकमा अमेरिकाको निजी क्षेत्रले भवन वा औद्योगिक यन्त्रमा भन्दा बढी कम्युटर, सफ्टवेयर र अनुसन्धानमा खर्च गरेको छ । एक दशकको समयमा यस्तो पहिलो पटक भएको हो । त्यस्तै, वैज्ञानिकहरुलाई बढी पैसा दिन पनि सरकारहरु इच्छुक देखिएका छन् । चिकित्सकीय निदान, बायोटेक्नोलोजी र सेमिकन्डक्टरप्रति लगानीकर्ताको रुचि जागेको छ । विद्युतीय वाहनप्रति बजारको आशा यति ठूलो छ कि अहिले टेस्लाका सीईओ इलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति भएका छन् ।

खुसीको तेस्रो स्रोत हो– नयाँ प्रविधि तीव्र रुपमा प्रयोगमा आउनु । अहिले कर्मचारीले भिडियो कन्फ्रेन्स र उपभोक्ताले ई–कमर्सको सहारा मात्र लिइरहेका छैनन् । महामारीले डिजिटल भुक्तानी, टेलिमेडिसिन र औद्योगिक स्वचालनलाई पनि तीव्रता दिएको छ । अप्ठेरो परिस्थितिले समाजलाई प्रायः विकसित तुल्याउँछ । जलवायु परिवर्तनविरुद्धको लडाइँ अनि अमेरिका र चीनबीचको महाशक्तिको प्रतिस्पर्धाले अझ ठूला कदम चाल्न बाध्य बनाउन सक्छ ।

तर, दुःखको कुरा अर्थतन्त्र वृद्धिमा रहेका संरचनागत बाधालाई नवअन्वेषणले मात्रै हटाउन सक्ने छैन । समाज जति धनी हुँदै गयो, त्यसले आफ्नो आयको त्यति नै ठूलो हिस्सा अत्यधिक श्रम आवश्यक पर्ने सेवाहरु जस्तै रेस्टुराँको खाना, आदिमा खर्च गर्छ । जसमा उत्पादकत्व वृद्धि एकदम न्यून हुन्छ । किनभने त्यस्ता क्षेत्रमा स्वचालन कठिन हुन्छ। जनसंख्या जति बुढो हुँदै गयो, त्यति नै बढी केयरगिभरको आवश्यकता पर्छ । यो पनि न्यून उत्पादकत्व भएको क्षेत्र हो । जीवाष्म इन्धनभन्दा हरित उर्जा सस्तो नभइन्जेल कार्बन उत्सर्जन घटाइरहँदा दीर्घकालीन वृद्धि सम्भव हुँदैन ।

तथापि, नवअन्वेषणको नयाँ लहरले चाँडै नै आर्थिक मन्दीलाई उल्ट्याउने आशा गर्न सकिन्छ । २१औँ शताब्दीको आर्थिक मन्दीमा करिब २० प्रतिशत हिस्साका लागि अन्वेषणमा भएको ढिलाइ जिम्मेवार छ । त्यो लहरले अन्ततः जीवनस्तर उकास्न सहयोग गर्नेछ । किनभने स्वास्थ्य सेवा र शिक्षाजस्ता थुप्रै सेवा उद्योगहरु नवअन्वेषणबाट विशाल मात्रामा लाभान्वित हुनेछन् । अन्ततः सिन्थेटिक बायोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सले लगभग सबैखाले काम गराइको तरिकालाई बदलिदिनेछ ।

कुन अन्वेषण सफल हुन्छ र कुन असफल हुन्छ भन्ने निर्धारण निजी क्षेत्रले नै गर्नेछ । तर, सरकारले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ । अत्यन्त महत्वाकांक्षी परियोजनामा जोखिमको भार सरकारले वहन गर्नुपर्छ । अनुसन्धान र विकासका लागि राज्यले नै सबैभन्दा बढी र उत्तम अनुदान दिन सक्छ । कुनै अन्वेषण अर्थतन्त्रमा कति छिटो विस्तार गर्ने भन्ने विषयमा पनि राज्यको ठूलो प्रभाव रहन्छ ।

नवअन्वेषणले ल्याउने परिवर्तनको लहर र गडबडीलाई नियमकानुन र लबिङले नरोकोस् भनेर सरकारले सुनिश्चित गर्नुपर्छ । नयाँ आविष्कारले जसको जीविका खोस्छ, तिनलाई सरकारले आर्थिक सुरक्षा प्रदान गर्नुपर्छ। अहिले अन्वेषण एकदमै कम कम्पनीहरुमा मात्र खुम्चिएको छ । नयाँ प्रविधिबाट सम्पूर्ण अर्थतन्त्रले लाभ पाउनका लागि कर्पोरेसनहरुलाई नियमन गर्ने कानुन बलियो हुनुपर्छ भने बौद्धिक सम्पत्तिसम्बन्धी कानुन खुकुलो । यदि राज्यले यस्ता चुनौती समाधान ग¥यो भने तीव्र वृद्धि र उच्च जीवनस्तर सम्भव छ। यसले निराशावादीहरुलाई गलत साबित गर्न सहयोग पुग्नेछ। २०२० को दशक पीडा र रोदनका साथ सुरु भएको छ । तर, सही नीति लिने हो भने यो दशक उल्लासका साथ समाप्त हुन सक्छ ।

अनुवाद नेपालखबर,
स्रोत- The Economist