सर्लाहीमा दलका प्रतिनिधिहरू टिकट ताक्दै पार्टी फेर्दै
सर्लाही — स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सर्लाहीका विभिन्न दलका प्रतिनिधिहरू चुनावी रणनीतिमा जुट्न थालेका छन् । गाउँ तथा टोलमा पुगेर मतदाता रिझाइरहेका दलका नेताहरू आफू जित्नका लागि पार्टी परिवर्तनसम्मको रणनीतिमा छन् ।
उनीहरू एक पार्टीमा लागे पनि जित्ने आधार नभेटिएपछि अन्य पार्टीमा पनि टिकटका लबिइङ थालेका छन् । कतिपय नेताले आफू आबद्ध पार्टीबाट टिकट पाउनमै संशय भएपछि अन्य दलसँग पनि संवाद अगाडि बढाइरहेका छन् । जसमा ठूला दलका जिल्लाका नाम चलेका नेताहरू पनि छन् । कतिपय पालिकाका जितेका मेयरसमेतले आफू जितेको पार्टी भन्दा पनि अन्य पार्टीबाट टिकटका लागि लबिइङ थालेका हुन् ।
मुलुककै सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीलगायत दलहरू चुनावी अभियानमा जुटिरहेका छन् । जिल्लामा यी ठूला दलका नेताहरूले नै जित सुनिश्चित गर्नका लागि फरक पार्टीमा टिकटको लबिइङ गरिरहेको पाइएको छ ।
जिल्लामा एमालेका कतिपय नेताले मेयर पदमा कांग्रेसबाट वडा सिफारिससमेत गराउन थालेका छन् । कतिपय फरक पार्टीबाट जितेका मेयरले नै एमालेबाट लबिइङ गरिरहेका छन् । उनीहरूले फरक पार्टीसँग टिकटका लागि पहल थाले पनि औपचारिक रूपमा बोल्न चाहेका छैनन् । पार्टीले समेत यसका बारेमा जानकारी दिन सकेको छैन । उनीहरूले यसलाई गोप्य रूपमै राख्न चाहेका छन् । फरक पार्टीले टिकट दिन नसके फेरि पुरानै ठाउँमा बस्ने उनीहरूको रणनीति छ ।
तर पार्टीमा प्रवेश नै नगरी फरक पार्टीका नेताले कांग्रेसबाट मेयर पदका लागि दबाब दिएपछि कांग्रेसका क्रियाशील सदस्यहरूले आपत्ति जनाइरहेका छन् । उनीहरूले यसलाई अवसरवादीका रूपमा रहेको चित्रण गरिरहेका छन् । कार्यकर्ताहरूले पार्टी नेतृत्वले अवसरवादीको पक्ष लिनु भन्दा क्रियाशील रूपमा लागेका नेतालाई नै उम्मेदवार बनाउनुपर्ने माग राखिरहेका छन् । कविलासी नगरपालिकामा कांग्रेसबाट मेयरका प्रत्याशी रहेका उपेन्द्र झाले पालिकामा कांग्रेस पार्टीको अवस्था राम्रो देखेपछि अन्य पार्टीका नेता मेयरको टिकट हत्याउने दाउमा रहेको बताए । ‘यहाँ कांग्रेसको अवस्था राम्रो छ, यो सबै बुझेर अन्य दलका नेताहरू कांग्रेसबाट मेयरमा टिकट पाउन चाहिरहेका छन्,’ उनले भने, ‘यस्ता अवसरवादी हुन्छन्, पार्टीले क्रियाशील रूपमा लागेका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ ।’
स्थानीय तहको निर्वाचनमा जुटेको कांग्रेसले करिब एक महिनादेखि नै केन्द्रको सर्कुलर अनुसार घरघर जाऔं, कांग्रेस जिताऔं अभियान चलाइरहेको छ । एमालेले टोल कमिटी विस्तार र विभिन्न संगठनहरूलाई क्रियाशील बनाइरहेको छ । माओवादीसहित जसपा र लोसपा पनि चुनावी गतिविधि गरिरहेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा आम नेता तथा कार्यकर्ता उत्साहित भइरहे पनि आम मतदाता भने विरक्तिएका छन् । उनीहरूले गत चुनावबाट जितेका जनप्रतिनिधिहरू छोटे राजा भई भ्रष्टाचारमा लिप्त भएको तथा प्रतिपक्ष पनि चुप लागेर बसेको भन्दै रुष्ट बनिरहेका छन् ।
गैरका स्थानीय मनोज ठाकुरले विकासको मूल फुटाउन स्थानीय तह गठन भए पनि विकास नभएको गुनासो पोखे । ‘जनप्रतिनिधिले विकास गर्ने हो, तर हाम्रो गाउँ ठाउँमा विकास देख्नै पाइएन,’ उनले भने, ‘यसमा जनप्रतिनिधिहरु र चुप लागेर बसेको प्रतिपक्षहरु पनि उत्तिकै दोषी हुन्, यहाँका नेताहरूले जनताको मन नै जित्न सकेनन्, जसले आम मतदातामा यस पटक निर्वाचनको उत्साह नै छैन ।’