चितवनको भरतपुर महानगरपालिका पुन: चुनावी तालमेलको केन्द्रमा
भरतपुरमा रेणुलाई दोहोर्याउने माओवादी अध्यक्षको प्रस्ताव, चितवनमा कोइराला समूहको बाहुल्य भएकाले निर्णय लिन देउवालाई अप्ठ्यारो
चितवन । सत्ता गठबन्धन दलबीच चुनावी तालमेलका लागि गृहकार्य अघि बढिरहँदा यतिबेला भरतपुर महानगरपालिका चर्चामा छ । बालुवाटार स्रोतका अनुसार केही दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेणुलाई मेयरमा दोहोर्याउन भन्दै भरतपुर महानगर माओवादीलाई दिने वातावरण बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रस्ताव गरेका थिए । दाहालको यस्तो प्रस्तावपछि कांग्रेसभित्र हलचल सुरु भएको छ ।
देउवाले चैत ६ गते बिहान चितवन कांग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटार निवासमै बोलाएर ‘भरतपुर प्रचण्डकी छोरीलाई दिनुपर्ने हुन सक्छ, त्यसका लागि सहयोग गर्नुपर्यो’ भनेका थिए । दाहालले पनि चैत १० गते चितवनमै खनाललाई भेटेर थप कुराकानी गरे । चुनावी तालमेलका लागि आफैंले अघि सारेको ‘मोडालिटी’ ले पनि भरतपुर महानगर माओवादीले पाउनुपर्ने दाहालको तर्क छ । दाहालले स्थानीय तहको निर्वाचनमा जुन दलले जहाँ–जहाँ जितेका छन् त्यसलाई कायम राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने ‘मोडालिटी’ अघि सारेका थिए । त्यसमा छलफल अघि नबढे पनि भरतपुरमा माओवादीलाई दिएर देउवाले दाहालको विश्वास जित्ने प्रयत्न जारी राखेका छन् । कांग्रेसमा शेखर कोइराला पक्ष भने स्थानीय तहमा केन्द्रबाटै तालमेल गर्न नहुने पक्षमा छ । चितवनमा कोइराला समूहकै बाहुल्य भएकाले स्थानीय तहका नेता तथा कार्यकर्ताको विश्वास नजिती निर्णय लिन देउवालाई अप्ठ्यारो छ ।
माओवादी नेता हरिबोल गजुरेलले दाहालको आफ्नै निर्वाचन क्षेत्र र महानगरमा माओवादीकै नेतृत्व रहेकाले भरतपुर विशेष चर्चामा रहनु अनौठो नभएको बताए । ‘अहिलेसम्म कुन–कुन स्थान कसले लिने भनेर भागबन्डाको विषयमा छलफल भएको छैन । कांग्रेसको निर्णयपछि संयन्त्र बनाएर काम गर्ने कुराकानी मात्रै भएको हो,’ उनले भने, ‘कांग्रेसका एकथरी साथीले माओवादीलाई दिन हुन्न भनेर वातावरण बनाउन खोजेका होलान् तर पार्टीको नेतृत्वलाई आफ्नै निर्वाचन क्षेत्रमा असुरक्षित बनाएर गठबन्धन गर्न कति सहज हुन्छ त्यो बुझ्नुपर्छ । डडेलधुराको नगरपालिकामा गएर माओवादीले भाग खोजेर हुन्छ र ?’
केन्द्रीय तहका नेताको तुलनामा कांग्रेसका स्थानीय कार्यकर्ता तथा मतदातामा चुनावी तालमेल गर्न हुन्न भन्ने भावना बढी छ । यसको सबैभन्दा ठूलो विवाद भरतपुरमै छ । स्थानीय तहमा माओवादीलाई विश्वासमा लिने र आगामी मंसिरमा हुने प्रदेश र संघको चुनावमा तालमेल गरेर फेरि प्रधानमन्त्री बन्ने दाउमा देउवा रहेको कतिपय नेताको बुझाइ छ ।
स्थानीय तहबाटै माओवादीलाई विश्वासमा लिन नसक्दा प्रदेश र संघमा माओवादी–एमालेबीच फेरि तालमेल हुन सक्ने चिन्ता देउवामा देखिन्छ । शनिबार बीपी स्मृति सहकारी सामुदायिक अस्पतालको वार्षिक साधारणसभामा देउवाले खुलेरै गठबन्धन कायम गर्न नसके माओवादी एमालेसँग मिल्ने र कांग्रेस फेरि एमालेभन्दा कमजोर हुने तर्क अघि सारेका थिए ।
०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भए पनि त्यसको परिणाम सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै माओवादी प्रदेश र संघको निर्वाचनमा एमालेसँग गठबन्धन गर्न पुगेको थियो । ‘पहिला पनि भरतपुरमा माओवादीले सहजै जितेको होइन, मतपत्र च्यात्ने काण्डसमेत भयो । अहिले कांग्रेसभित्रै एकता भएन भने जित्न गाह्रो छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘चितवनबाट फर्केका केन्द्रीय प्रतिनिधिको रिपोर्टले पनि भरतपुर माओवादीको पक्षमा नभएको देखाएको छ । यो यथार्थलाई बुझेर माओवादीले निर्णय लिँदा राम्रो हुन्थ्यो । जित्न सकिएन भने गठबन्धन कायम रहन्छ कि रहन्न भन्ने चिन्ता पनि छ ।’
चितवन कांग्रेसका सभापति खनालले जिल्लामा कांग्रेसको जनमत गठबन्धनको पक्षमा नभएको दाबी गरे । ‘पार्टी सभापति पुरानै अडानमा हुनुहुन्छ । उहाँको मानसिकता माओवादीलाई मेयर दिनेमै देखिन्छ । तर, स्थानीय आवश्यकता र माग त्यस्तो छैन,’ उनले भने, ‘फेरि माओवादीलाई भोट हाल्न लगाउने हो भने पार्टीको संगठन ध्वस्त हुन्छ । राजनीतिक शक्तिका आधारमा उम्मेदवार तय गर्नुपर्छ । कांग्रेस कार्यकर्ता र मतदाताको चाहना पनि त्यही हो ।’
०७४ मा दाहालपुत्री रेणुलाई सहयोग गर्न देउवाले ‘जबर्जस्ती’ केन्द्रबाटै निर्णय लिएका थिए । त्यतिबेला पनि महानगर/उपमहानगरमा तालमेल गर्ने निर्णय कांग्रेस र माओवादीबीच भएको थियो । तर, धेरै ठाउँमा कार्यान्वयन भएन । तालमेलको निर्णय गर्नुअघि नै पार्टीले प्रमुखमा दिनेश कोइराला (हाल केन्द्रीय सदस्य) लाई उम्मेदवार बनाइसकेको थियो । उनले उम्मेदवार फिर्ता गर्न नमानेपछि देउवाले केन्द्रबाटै चिठी लेखेर निर्वाचन आयोगबाट उम्मेदवारी फिर्ता गराएका थिए । त्यसको आलोचना देउवाले लामो समयसम्म खेप्नुपर्यो । ‘अहिले त्योभन्दा चर्को स्थिति छ । केन्द्रले निर्णय लिए पनि स्थानीय नेता र कार्यकर्ता त्यस्तो निर्णय मान्ने अवस्थामा छैनन्, विद्रोह हुने अवस्था छ,’ कोइरालाले भने, ‘जबर्जस्ती केन्द्रले निर्णय लिए पनि माओवादीलाई यसपटक जिताउने स्थिति छैन ।’ उनी आफैंले पनि केही दिनअघि देउवालाई भेटेर चितवनको वस्तुस्थितिका बारेमा जानकारी गराएका बताए । तालेमल गरेर मात्रै चुनाव जित्न सकिन्छ भन्ने पार्टी नेतृत्वको मनोविज्ञान नै गलत भएको कोइराला बताउँछन् ।
नेकपा विभाजित नहुँदै भएको उपनिर्वाचनमा धरान उपमहानगर र भरतपुर महानगरका तीनवटा वडामा कांग्रेसले निकालेको नतिजाले पनि सभापति देउवाको तर्कलाई खण्डन गर्ने कोइरालाको भनाइ छ । ‘गएको निर्वाचनमै करिब १२ हजार मत बदर भएको थियो । त्यसमध्ये करिब ११ हजार मत त रूखमा थियो,’ कोइरालाले थपे, ‘मतदातालाई ह्वीप लाग्दैन, कांग्रेसका कार्यकर्ता फेरि पनि हँसिया हथौडामा भोट हाल्ने मनस्थितिमा देखिँदैनन् ।’
देउवा भने भरतपुरकै कारण पुरानो घटना नदोहोरियोस् भनेर नेता शेखर कोइरालासहित गठबन्धनको विपक्षमा उभिएका नेतालाई सचेत बनाइरहेका छन् । स्थानीय तहमा माओवादीको विश्वास जित्न नसकिए संघको निर्वाचनमा एमाले ठूलो पार्टी हुने र कांग्रेस हार्ने मनोविज्ञान निर्माण गर्दै उनले गठबन्धनको विरोधमा रहेका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । तर, कोइराला पक्ष मान्न तयार छैन । सिद्धान्तहीन गठबन्धन गरेर कांग्रेस बलियो नहुने उनीहरूले तर्क राख्दै आएका छन् ।
‘स्थानीय आवश्यकता हेरेर संवदेनशील स्थानमा तालमेल गर्न सकिन्छ । त्यस्तो निर्णय स्थानीय तहलाई गर्न दिनुपर्छ । हाम्रो प्राथमिकता चुनावी तालमेलभन्दा पनि पार्टीभित्रको एकतामा हुनुपर्छ भन्नेमा हो,’ नेता अर्जुननरसिंह केसीले भने, ‘पार्टीभित्र एकता कायम गरियो भने कांग्रेसलाई कसैको बैसाखी आवश्यक पर्दैन । नभए चुनावी तालमेल गरे पनि त्यसले राम्रो नतिजा दिँदैन ।’
कोइरालापक्षीय नेताहरूका अनुसार माओवादी अध्यक्ष दाहाललाई विश्वासमा लिएर देउवा आगामी पाँच वर्ष सत्ता राजनीतिको साँचो आफैं लिन खोजिरहेका छन् । ‘माओवादीलाई भरतपुर महानगर दिँदा कांग्रेसभित्र उठ्न सक्ने असन्तुष्टि र नतिजामा कति ठूलो असर पर्छ भन्नेबारे बुझ्ने काम भइरहेको छ,’ देउवानिकट स्रोतले भन्यो, ‘यथार्थ धरातल बुझिसकेपछि माओवादी आफैं ‘मेयर’ को दाबीबाट पछि हटेर अर्को विकल्प खोज्न सकिने ठाउँ पनि छ । माओवादीलाई नै दिइहाल्ने भन्ने निर्णय भएको छैन ।’
माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भरतपुरका विषयमा गठबन्धन दलबीच कुनै निर्णय नभएको बताए । ‘गठबन्धनबारे छलफल चलिरहेको छ । कहाँ कसरी जाने भन्नेबारेमा संयन्त्र बनाउने कुराकानी भइरहेको हो, कुनै स्थानविशेषमा छलफल भएको छैन,’ उनले भने, ‘भरतपुरमा माओवादीले दाबी गर्दैन भन्ने कुरा पनि सही होइन ।’