संस्कृतिविद् जोशीको जीवनीमा आधारित ‘सत्यमोहन’ लोकार्पण

काठमाडौँ — एक सय दुई वर्षे संस्कृतिविद् सत्यमोहन जोशी शुक्रबार मध्यान्हमा पाटन दरबार स्क्वायरमा रहेको पाटन संग्राहलयको भित्री चोकमा भेटिए । हालैमात्र बिरामीबाट तंग्रिएका जोशीको जोस उनको अनुहारमा मुर्झाएजस्तो देखिए पनि एक सतक भन्दा बढीको समयमा उनले भोगेको समयको चित्र समेटिएको आत्मवृतान्त ‘सत्यमोहन’को विमोचनमा उनी हर्षित देखिए ।

पत्रकार एवं लेखक गिरिश गिरीले लेखेको यो आत्मबृतान्त बुकहिल पब्लिकेशनले बजारमा ल्याएको हो ।

खचाखच भरिएको विमोचन कार्यक्रममा सत्यमोहनले किताबका बारेमा धेरै लामो त बोलेनन तर उनले आफ्नो जीवनका विविध कालखण्ड पुस्तकाकार रुपमा सार्वजनिक हुनुको हर्ष साटे । उनले बुद्धले चार आर्य सत्यको कुरा गरेजस्तै आफूले पनि पुस्तकमा नयाँ दर्शनको कुरा गरेको बताए । लोकगीतको ईतिहास कहिलेबाट सुरु भयो र कसरी भयो भन्नेबारेको खोजलाई आफूले ‘जुरेली दर्शन’को नाम दिएको बताए ।

दार्शनिक भावमा पोखिएका सत्यमोहनले पुस्तकमा आफूले सपनामा जुरेली चरालाई देखेको र त्यस्तै चरा आफूले विपनामा आफ्नै घरआँगनको हलुवावेदको बोटमा जुरेली चरा देखिएको संयोगलाई लेखेका छन् । हलुवावेदमा बसेको जुरेली चरोले पुर्ख्यौली लोकगीतलाई आफ्नै भाका र ताल सुरुमा गुञ्जयमान गरेर गाईरहेको, उफ्रि उफ्रि नाचिरहेको देखेको पुस्तकमा लेखेका छन् । उनले सपनामा देखेको चरा अलप भएजस्तै हलुवावेदमा देखिएको चरो पनि अलप भएको प्रसंग लेख्दै भनेका छन, ‘विपनामा देखेको यो जुरेली चरो पनि आखिर शून्यताभित्रको शून्यताकै विकसित क्रममा देखापरेको उही जुरेली चरो हो कि त भन्ने मनमनै सोचे । शून्यता र रुपको दोसाँधमा उभिएको यही जुरेली चरोको बिम्बलाई उनले दर्शनको रुपमा बुझाउन खोज्दै नेपाली लोकगीतको ईतिहासले दीर्घजिवी अथवा चिरञ्जीवी जुरेली चरोझैं प्रतित हुनथाल्छ भनेर लेखेका छन् ।

बिमोचनमा बोल्दै सत्यमोहनले नेपाली लोकसंस्कृति नेपाली एकता जोड्ने कडी भएको बताए । उनले विविध समुदायको बसोबास भएको नेपालमा लोकसंस्कृतिको विविधता भएको भन्दै यो लोकसंस्कृतिको देश भएको बताए । उनले भने, ‘सबै लोकसंस्कृतिको एकताले देशको एकता गर्छ । लोकसंस्कृतिलाई हेला गर्ने हो भने जस्तै उन्नती भएपनि समावेशीकरण हुन सक्दैन । आपसमा झगडा भईराख्छ ।’

संस्कृतिविद्को आम चिनारी बनाएका भएपनि सत्यमोहन जोशी जीवनका अनेकन कुईनेटाहरुमा कहिले औद्योगिक तथा व्यापारिक समाचार संग्रह अड्डाका तथ्यांक संकलक भए त कहिले पुरातत्व विभागका निर्देशक । कहिले नेपाल अमेरिका सांस्कृतिक केन्द्रको कल्चरल सेक्रेटरी भए त कहिले तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ भए । जहाँ जे भएपनि सत्यमोहनले ईतिहास र संस्कृतिको खोजीमेली, लोकभाका र लोकसंस्कृतिको खोज अनुसन्धानको काम भने जारी नै राखे । वि‍.सं. २०२६ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाईमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदनपुरस्कार पाए । यसअघि नै जोशीले हाम्रो लोकसंस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी दुईपटक मदनपुरस्कार पाईसकेका थिए ।

जीवीत अवस्थामै हुलाक टिकटमा प्रकाशित पहिलो नागरिक रहेको सत्यमोहन जोशीको आत्मकथामा राणाकालदेखि गणतन्त्रकालसम्मको समय चित्र जोशीको भोगाई र अनुभवका आधारमा खिचिएको छ ।

जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पंचायत देखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण ईतिहासका साक्षी जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि हुन् । एकै व्यक्तित्वको अनेकन भूमिका र त्यसमा निरन्तरको सर्मपणभाव देखेरै होला पुस्तक विमोचनका वक्ता रहेका गीतकार/संगीतकार एवं लोकगीत संकलक अमृत गुरुङले भने, ‘एक जुनीमा कति काम गर्न भ्याउनुभाको के तपाईंले ?’