एमसीसी पास गर्न प्रधानमन्त्रीको दौडधुप जारी

काठमाडौं : अमेरिकाले एमसीसी संसद्बाट अनुमोदन गर्न दिएको समयसीमा फागुन १६ मा सकिँदै छ। प्रतिनिधिसभा बैठकमा बिहीबार ‘सामान्य छलफल’को कार्यसूची तय भएको थियो। तर, दलहरूले बैठकै रोकेर चरण–चरणमा वार्ता गरे। यसमा दुई प्रयोजन देखिन्छ- एक, गठबन्धन जोगाउने, एमसीसी पास गर्ने अर्को एमसीसी रोक्ने ।

कांग्रेस र एमालेबीच दिउँसो र बेलुका गरी दुईपटक वार्ता भयो। छलफल सकारात्मक भएको एमाले उपाध्यक्ष सुवास नेम्बाङले बताए। ‘प्रधानमन्त्री र अध्यक्षबीच एक्लाएक्लै र सामूहिक रूपमा पटक–पटक कुराकानी भएको छ’, नेता नेम्बाङले भने, ‘वार्ता सकारात्मक ढंगले अघि बढेको छ । यसलाई शुक्रबार पनि निरन्तरता दिनेछौं।’ संसद्को अवरोध हटाउन समझदारी कायम गर्ने विषयमा कुराकानी भएको नेम्बाङले बताए ।

कांग्रेसले गठबन्धन जोगाइरहने पक्षमा नरहेको स्पष्ट पारेको पनि एक नेता बताए। एमालेका माग पूरा गर्ने विषयमा शुक्रबार थप सहमति हुने ती नेताको भनाइ छ । एमाले नेताहरूबीच पनि कांग्रेससँग कसरी सहकार्य गर्ने भन्ने विषयमा बालकोटमा छलफल भएको स्रोतको भनाइ छ ।

ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच पनि एक्लाएक्लै र सामूहिक रूपमा कुराकानी भएको नेता नेम्बाङले बताए । ओलीले नेकपाकालमा आफूलाई लगाएका १९ बुँदे आरोपपत्र खारेज गरे सम्बन्ध सुधार हुने बताएका थिए । ‘अध्यक्षज्यूले माओवादी केन्द्रसँग दुई कुरा राख्नुभयो। पहिलो त नेकपाकालमा आफूलाई लागएका आधारहीन १९ बुँदे आरोपपत्र फिर्ता लिन र खारेज गर्न भन्नुभयो। त्यो फिर्ता लिएपछि पार्टीको सम्बन्ध सुधारको वातारण बन्छ’, नेम्बाङले भने ।

संसद्को गतिरोधका विषयमा एमालेले माओवादीसँग स्पष्ट धारणा राखेको उनले बताए। ‘हामीले संसद्मा प्रवेश गर्ने ठाउँ नै पाएनौं। संसद्मा हामीप्रति भेदभावपूर्ण व्यवहार भयो । १४ सांसदको कारबाही सूचना दिँदा सभामुखले केही गर्नुभएन । तर, अरूको छिटोछिटो तामेली गर्नुभयो’, उनले भने, ‘यसकारण हामी आन्दोलनमै छौं। कुनै प्रक्रियामा नै प्रवेश गर्न पाएका छैनौं। यो विषयलाई सभामुखले सच्याउनुपर्‍यो । होइन भने उहाँले मार्गप्रशस्त गर्नुपर्‍यो। यी कुरा भएपछि सम्बन्ध नयाँ ढंगले अघि बढ्न सक्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् भवनमै शर्मा ओलीसँग भेट गरेका थिए। लगत्तै माओवादी केन्द्र अध्यक्ष दाहाल ओलीलाई भेट्न पुगेका थिए । ओली राति भने प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । दाहालले बिहान एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । त्यसपछि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग कुराकानी गरे ।

एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नभएपछि एमालेको सहयोग जुटाउन प्रधानमन्त्री देउवा ‘अन्तिम’ दौडधुपमा सक्रिय बनेका हुन्। आफूले सहयोग नगरे कतै गठबन्धन भत्किन्छ कि भनेर त्यसलाई जोगाउने ध्याउन्नमा थिए दाहाल । उनले संसद्को अवरोध फिर्ता लिन ओलीसँग आग्रह गरे। एमसीसी अनुमोदन गर्न ‘स्पष्ट’ बहुमत नदेखेपछि प्रधानमन्त्रीले संसद् बैठक स्थगन गर्न सभामुखलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीकै आग्रहमा बैठक एक दिन सारिएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए। बिहीबार एमसीसीबारे सामान्य छलफल गर्ने कार्यसूची बनेको थियो ।

प्रधानमन्त्री जसरी पनि एमसीसी अनुमोदन गर्न चाहन्छन्। गठबन्धन भत्काउने सर्तमा सघाउने दाउमा देखिन्छन् ओली । दाहाल गठबन्धन जोगाउँदै सके एमसीसी नै संसद्बाट विफल पार्न चाहन्छन्। आआफ्ना अनुकूलका निर्णय गर्न नेताहरूका दौडधुप जारी नै छन् ।