पोखराको फेवातालदेखि सराङकोटसम्म केबलकार सञ्चालनमा
कास्की । पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म शुक्रबारदेखि ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ । फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नको लागि अन्नपूर्ण केबुलकार प्रालिले केवलकार सञ्चालन गरेको हो ।
केबुलकार पोखरा महानगरपालिका–१८ को सेदीबाट सराङकोटसम्म २ हजार २६५ मिटर लामो रहेको छ । १३ वर्ष अगाडि अध्ययन भएर २ अर्ब भन्दा बढी लगानीमा निर्माण गरेर शुक्रबारदेखि व्यवसायिक रुपमा सेवा शुरुवात गरिएको अन्नपूर्ण केबुलकार प्रालिका निर्देशक तिर्थ त्रिपाठीले बताए। उनले केबुलकारको क्षमता १ घण्टामा २ हजार मान्छेहरु ओहोर दोहोर गराउने सक्ने रहेको बताए ।
१३ वर्ष अगाडि जापानी मुलुकको नेपाली नागरिक ताकासी म्याआराले सर्भे गर्दा केवलकारको लागि यो स्थान उचित लागेको थियो । केबुलकारका लागि नयाँ जग्गा खरिद गरेर अन्नपूर्ण केवलकार प्राली भनेर कम्पनी दर्ता गरिएको थियो। ‘यो केवलकारको क्षमता १ घण्टामा १५ सय जना मान्छेहरु ओहोर दोहोर गर्न सक्छन्,’ उनले भने । त्यस्तै अन्नपूर्ण केबुकार प्रालीका प्रबन्ध निर्देशक दिनेश पौडेलले केबुलकार पोखराको गहना भएको बताए। उनले फेवातालबाट साङकोटसम्म केबुलकारबाट ९ मिनेटमा पुग्न सकिने बताउनु भयो ।
आगामी नयाँ वर्षमा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म व्यावसायिक संचालन गर्ने तयारी गरेको छ । स्वदेशी तथा विदेशी पर्यटक धेरै आउने पोखरामा पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको हो । अंग्रेजी नयाँ वर्षका दिनदेखि व्यावसायिक संचालनको योजना रहेपनि प्राविधिक समस्याका कारण ढिलाइ भएको हो । केबुलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन एक हजार ४६५ मिटर रहेको छ। प्राकृतिक सुन्दरताले भरिएको पोखरामा केबुलकार पर्यटकको नयाँ गन्तव्य र रोजाइ बन्नेछ ।
केबुलकार सञ्चालनपछि सुन्दर फेवाको किनारबाट केबुलकारमा चढेर ताल र हिमालर पोखरा शहर हेर्दै सराङकोट डाँडामा पुग्ने अवसर पर्यटकले पाएका छन्।सराङकोट सूर्योदय र सूर्यास्तसहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात छ। केबुलकारमा हालसम्म २ अर्ब लगानी भएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोक्न जारी बन्दाबन्दीका कारणले पनि परियोजना सम्पन्न हुन ढिलाइ भएको र लागत बढेको हो ।
केबुलकारमा जडान गरिएका उपकरण र प्रविधि पछिल्लो समयमा विकास भएको आधुनिक भएको बताइन्छ। जापानको ‘निप्पल केबुल’ कम्पनीबाट डिजाइन र विकसित प्रविधिलाई प्रयोगमा ल्याइएको छ। केबुलकारमा पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी छ। कम्पनीले नेपालीका लागि ७ सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८ सय रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तय गरिएको छ। ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ। स्थानीयवासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत आयोजनामा लगानी गरिएको छ ।