कन्सल्टेन्सीको लापर्बाही : बेलायती अध्यगमनबाटै फर्किए ८४ नेपाली बिद्यार्थी
अध्ययनका लागि बेलायत पुगेका नेपाली विद्यार्थी बेलायती अध्यागनबाटै फर्काइएका छन् । शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)को लापरबाहीका कारण नेपाली विद्यार्थी अध्यागमनबाट बेलायतमा प्रवेश नै नपाई फर्कन बाध्य भएका हुन् । गलत कागजात (फेक डकुमेन्ट) बनाएर नेपालका कन्सल्टेन्सीले विद्यार्थीलाई बेलायत पठाएका थिए । अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रमाणपत्र नचाहिने भन्दै उनीहरूले विद्यार्थीलाई बेलायत पठाएका थिए तर बेलायती अध्यागमनले सामान्य सोधपुछ गर्दा अंग्रेजी भाषामा एकदमै कमजोर पाइएपछि बेलायतको म्यान्चेस्टर अध्यागमनले उनीहरूलाई नेपालमै फर्काइदिएको हो ।
अंग्रेजी भाषा प्रयोगमा पूर्णतः अनभिज्ञ विद्यार्थीलाई पठाएसँगै ती विद्यार्थीको भाषिक योग्यतालगायतका विषयमा प्रश्न उठाउँदै भिसा रद्द गरी हालसम्म ८४ जनालाई नेपाल फिर्ता पठाइदिएको छ । नेपालका कन्सल्टेन्सीले ‘नो आईएलटीएस’ भन्दै योग्यता नपुगेका विद्यार्थीलाई पनि फेक डकुमेन्ट बनाएर पठाएका थिए । विद्यार्थी पठाएबापत मोटो रकम कमिसनमा प्राप्त हुने भएपछि नेपालका कन्सल्टेन्सीले त्यस्तो कामलाई ‘व्यवसायीकरण’ गर्दै आएका छन् ।
बेलायत फिर्ता पठाइएका विद्यार्थीको फाइनान्सियल डकुमेन्ट नपुगेको, अंग्रेजी भाषाको ज्ञान नभएको, आफूले अध्ययन गर्ने विषय र कलेजको पनि जानकारी नभएको, विश्वविद्यालयलाई तिर्न बाँकी शुल्क र खान बस्नका लागि बैंकमा रकम नदेखिएकोलगायतका कारण दर्शाउँदै म्यान्चेस्टर अध्यागमन ती विद्यार्थीलाई नेपाल नै फर्काइदिएको हो ।
नेपालको अध्यागमन विभागले भने बेलायतबाट फर्किएका विद्यार्थीहरू र उनीहरूलाई त्यहाँ पठाउने कन्सल्टेन्सीका विवरण संकलन र अध्ययनको काम भइरहेको जानकारी दिएको छ । ‘यस विषयमा हामी छिट्टै सार्वजनिक गर्छौँ,’ विभाग स्रोतले भन्यो ।
त्रिभुवन विमानस्थल अध्यागमन शाखा प्रमुख नारायणप्रसाद भट्टले केही दिनअघि बेलायत गएका विद्यार्थी नै फर्किएको भन्ने आफूले पनि सुनेको तर सञ्चार माध्यममा दिने गरी यकिन विवरण तयार भइनसकेको बताए । उनका अनुसार सन् २०२२ को जनवरीमा फर्किने सबैको रेकर्डमध्येबाट विद्यार्थीको विवरण संकलनको काम भइरहेको छ। ‘बेलायतको अध्यगमनले फिर्ता भएका व्यक्तिको विवरण इमेलमार्फत् नेपालको अध्यागमनमा पनि पठाउने गरेको थियो । तर त्यही विवरणमा मात्र भर पर्ने भन्दा पनि हामीले हाम्रै विवरण पनि केलाउनुपर्ने हुन्छ,’ उनले भने, ‘पठाउने गरे पनि सबैको विवरण पठाएकै छन् भन्ने हुँदैन । यस विषयमा विवरण हेरेर केही दिनमा विभागसँग भएको तथ्याङ्क उपलब्ध गराउँछौँ ।’
स्रोतका अनुसार बेलायतबाट फर्किएकाहरूलाई पठाउनेमा ११ वटा कन्सल्टेन्सी छन् । बेलायत जानुपूर्व पूर्वतयारी कक्षा सञ्चालन गरी पठाउनुपर्ने भएपनि ती कन्सल्टेन्सीले विद्यार्थीलाई सबै कुरा खुलस्त परेका थिएनन् । ‘नो आईएलटीएस’ भन्दै आर्थिक र शैक्षिक योग्यता नपुगेका विद्यार्थीलाई पठाएकाले समस्या आएको हो । नेपालको अध्यागमन विभागले भने बेलायतबाट फर्किएका विद्यार्थीहरू र उनीहरूलाई त्यहाँ पठाउने कन्सल्टेन्सीका विवरण संकलन र अध्ययनको काम भइरहेको जानकारी दिएको छ। ‘यस विषयमा हामी छिट्टै सार्वजनिक गर्छौँ,’ विभाग स्रोतले भन्यो । बेलायतबाट जाने बेला विद्यार्थीहरूले ३ सय पाउन्ड स्टर्लिङ मात्र लिएर गएका थिए । यो रकम त्यहाँ अध्ययन गर्न र खाना नपुग्ने भएपछि ‘शंकास्पद’ भएको भन्दै म्यान्चेस्टर अध्यागमनले उनीहरूलाई प्रष्ट पार्न भनेको थियो। तर भाषिक दक्षता नभएका उनीहरुले प्रष्ट पार्न सकेनन् । यसपछि उनीहरूलाई फिर्ता पठाउने निर्णय गरेको हुनसक्ने बताइएको छ ।
नेपाल फर्किएका एक विद्यार्थीका अनुसार कन्सल्टेन्सीले नै आफूहरुलाई कागजात मिलाइदिने र त्यहाँ पुगेपछि कुनै समस्या नहुने आश्वासन दिएका थिए । ‘त्यसैको भरमा भिसा आवेदन प्रक्रिया अगाडि बढायौँ। उनीहरूले भनेजति पैसा पनि दियौँ । भिसा टिकट लिएर बेलायत पुगेको पनि हो । तर अध्यागमनले फिर्ता गरिदियो,’ नेपाल समयसँग कुराकानी गर्दै बेलायती अध्यागमनबाट नेपाल नै फिर्ता भएका ती विद्यार्थीले नेपाल समयसँग भने, ‘हामीलाई गलत आश्वासन दिइयो। यसमा कन्सल्टेन्सीकै हात छ । पैसा आउँछ भनेपछि जस्तो पनि काम गर्ने ?’
बेलायतमा अध्ययन पूरा भएपछि (ग्राजुऐट इमिग्रेसन रुट)मार्फत २ वर्षका लागि काम गर्ने अनुमति दिने भएपछि नेपाली कन्सल्टेन्सी त्यतातर्फ आकर्षित भएका थिए। विद्यार्थीलाई गतल आश्वासन दिएर कन्सल्टेन्सीले बेलायत पठाउने व्यवसाय विस्तार गरेका थिए।
सन् २०१२ मा बेलायतकी तत्कालीन गृहमन्त्री टेरिजा मेले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन पूरा गरेको चार महिनाभित्रै बेलायत छाड्नुपर्ने नियम लगाएकी थिइन्। यसले त्यसबेला उच्च शिक्षाका लागि बेलायत गएका धेरै नेपाली फर्किएका थिए। बेलायतले रोजगारी पनि दिने भन्दै परामर्शदाताले सही जानकारी नदिँदा समस्या आएको ‘अल्टिमेट कन्सलटेन्सी एन्ड एड्भाइजरी नेटवर्क (युक्यान)का कार्यकारी निर्देशक निरञ्जन पन्त बताउँछन् । ‘कन्सल्टेन्सीले यस्ता विषयमा संवेदनशील बन्नुपर्ने हो । तर त्यतातर्फ उनीहरूको ध्यान पुगेको देखिएन,’ पन्तले भने। उनका अनुसार हालसम्म बेलायतले ८४ जना विद्यार्थीलाई फिर्ता गरिसकेको छ ।
विद्यार्थीको अवस्था बुझेर करिअर काउन्सिलिङ भन्दा पनि विद्यार्थीलाई भिसा दिलाउने मात्र सोचेका कारण बेलायत पुगेका विद्यार्थी फर्कनुपरेको उनको भनाइ छ । ‘विद्यार्थीलाई उसले अध्ययन गर्ने विषय, भौतिक शैक्षिक वातावरण, रोजगारीको अवसरको बारेमा पूर्ण जानकारी दिएर बेलायतमा अध्ययन गर्न जाने विद्यार्थीले दुःख पाउनु पर्दैन। परामर्शदाताले विद्यार्थीलाई उसले अध्ययन गर्ने विषय र विद्यालय छनोट गर्न दिनुपर्छ ।’
विश्वविद्यालय छनोट गर्दा लागत खर्च, विश्वविद्यालयको श्रेणी, उसले अध्ययन गर्ने विषयको पाठ्यक्रम र विश्वविद्यालयमा उसले अध्ययन गर्न उसको योग्यता पुग्छ कि पग्दैन हेर्ने काम परामर्शदाताकै भएको शैक्षिक परामर्श व्यवसायीहरू नै बताउँछन् ।
बेलायतमा गत अक्टोबर २० देखि अध्ययन गर्न जान चाहने विद्यार्थीलाई आईएलटीएस अनिवार्य गरेको भएपनि पहिले नै अंग्रेजीबिना आवेदन दिएका विद्यार्थीले भिसा पाएका थिए । परामर्शदाताले कमिसनको प्रलोभनमा परेर आईएलटीएस नभए पनि हुन्छ भनेर प्रोत्साहित गर्ने, टन्न पैसा कामाउने सपना देखाउने र जति पनि काम पाइन्छ भन्दै म्यानचेस्टर र लिभरपुल पठाइदिने गर्दा विद्यार्थी बिचल्लीमा पर्नुपरेको सरोकारवालाको भनाइ छ ।
कन्सल्टेन्सीले पूर्वतयारी विना नै विद्यार्थीको भिसाको प्रक्रिया अघि बढाएर पठाएकाले यस्तो समस्या आएको स्वतन्त्र शैक्षिक परामर्श संघका अध्यक्ष वासु नेपालले बाताए। ‘हचुवाको भरमा परामर्शदाताले विद्यार्थीलाई अध्ययनका लागि पठाएका कारण विद्यार्थी अध्यागमनबाटै फर्किन बाध्य भएका छन्। आर्थिक अवस्था सबल नहुँने र शैक्षिक योग्यता नै नपुगेका विद्यार्थीलाई परामर्शदाताले भिसा आवेदन प्रक्रियामा सहजीकरण गर्नु हुँदैनथ्यो । उनीहरुको लापरबाहीका कारण समस्या आएको छ। यसको कसरी समाधान गर्ने भनेर व्यवसायीहरुसंग छलफल गरेका छौं । संघले यस विषयमा आफ्नो धारणा छिट्टै सार्वजनिक गर्छ,’ उनले भने ।
विश्वविद्यालय छनोट गर्दा लागत खर्च, विश्वविद्यालयको श्रेणी, उसले अध्ययन गर्ने विषयको पाठ्यक्रम र विश्वविद्यालयमा उसले अध्ययन गर्न उसको योग्यता पुग्छ कि पग्दैन हेर्ने काम परामर्शदाताकै भएको शैक्षिक परामर्श व्यवसायीहरू नै बताउँछन् ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का उपाध्यक्ष शेषराज भट्टराईले विगत केही दिनयता उच्च शिक्षाका लागि बेलायत गएका केही नेपाली विद्यार्थीहरू त्यहाँको अध्यागमनबाट फिर्ता भएको विषयप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को ध्यानाकर्षण भएको बताए । ‘बेलायत लामो समयदेखि नेपाली विद्यार्थीका लागि मात्रै नभइ विश्वका कैयन् देशबाट उच्च शिक्षाका लागि राम्रो गन्तव्य रहँदै आएको छ । विदेशी विद्यार्थीका लागि बेलायतको आफ्नै शैक्षिक नीति नियम छ । जसलाई पालना गर्नु त्यहाँ जाने विद्यार्थी र अभिभावकको साथै शैक्षिक परामर्श दिने संस्थाको पनि जिम्मेवारी हो। यस विषयको गाम्भीर्यतालाई बुझेर आगामी दिन सेवा प्रवाहमा सुधार ल्याउन सम्बन्धित सबै पक्षलाई हामी आग्रह गर्दछौं ।’
बेलायत जाने कुनै पनि विद्यार्थीले प्रक्रिया अपनाउँदा, कागजपत्र प्रस्तुत गर्दा र शैक्षिक परामर्श संस्थाले परामर्श दिँदा सम्पूर्ण नीति नियमअनुसार नै प्रक्रिया पूरा गरेर मात्रै सेवा प्रवाह गर्नुपर्ने, बेलायतको अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धित प्रचलित कानूनको अनिवार्य रुपमा पालना गर्नुपर्ने विषयमा ईक्यानले सरोकारवालाको ध्यानाकर्षण गराएको छ । ईक्यानले भिसा प्राप्त गरिसकेका विद्यार्थीहरुलाई विभिन्न कारण देखाउँदै बेलायतको अध्यागमन विभागले नेपाली विद्यार्थीलाई फिर्ता पठाउँदा त्यसले विद्यार्थी, अभिभावकमा गम्भीर असर परेको देखिएको कुरालाई दृष्टिगत गर्दै यस्तो संवेदनशील विषयको गाम्भीर्यता बुझी गम्भीर बन्न सबै कन्सल्टेन्सीहरूलाई समेत आग्रह गरेको छ ।