नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख, पुरूषभन्दा ६ लाख बढी महिला

काठमाडौँ — नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।

यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । यसअघि विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत रहेको थियो । त्यसअघि १९८७ र १९७७ मा गरिएको जनगणनामा भने जनसंख्या वृद्धिदर माइनसमा थियो ।

यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । नेपालमा विक्रम संवत १९६८ सालदेखि जनगणना गर्न थालिएको हो । त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३९ हजार रहेको थियो ।

सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिका

त्यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकामध्ये काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र विरगञ्ज महानगरपालिका छन् ।

यस्तै अर्को नगर विराटनगर महानगरपालिका शीर्ष ५ मा परेको छैन । यस्तै सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकामा डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभा जिल्लाको मादी, तेह्रथुम जिल्लाको लालिगुराँस र दोलखा जिल्लाको जिरी नगरपालिका पर्छन् ।

सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९ सय ६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १ सय ८७ जनसंख्या रहेको छ ।

२० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा छन् ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकामा बाँकेका तीन वटा छन् । बाँकेको बैजनाथ, राप्तीसोनारी र खजुरा, रूपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी सबैभन्दा बढी जनसंख्या हुने गाउँपालिका हुन् ।

सबैभन्दा कम जनसंख्या भएका ५ गाउँपालिकाहरुमा मनाङ जिल्लाको नार्पा भूमी, मुस्ताङ जिल्लाको लो–घेकर दामोदरकुण्ड, मनाङ जिल्लाको मनाङ ङिस्याङ र नासोँ गाउँपालिका पर्दछन् ।

सबैभन्दा धेरै जनसंख्या बाँकेको वैजनाथ गाउँपालिकामा ७० हजार ३ सय १५ र सबैभन्दा कम जनसंख्या भएको मनाङ जिल्लाको नार्फाभूमि गाउँपालिकामा ४ सय ४२ रहेको छ ।

१० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जना पुगेको छ ।

जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ ले बढी देखिन्छ । अर्थात दश वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको छ ।

विगत दश वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको विभागले जनाएको छ । वि।सं। २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो ।