परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच टेलिफोन वार्ता, महाकालीमा पुल बनाउन सहमत
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। समकक्षी जयशंकरले टेलिफोनमार्फत् परराष्ट्रमन्त्री खड्कालाई टेलिफोन सम्वाद गरेका हुन्।
दुईबीच अंग्रेजी नयाँको वर्षको शुभकामना आदान प्रदान भएको थियो । त्यससँगै द्विपक्षीय साझेदारीहरुका विषयमा कुराकानी भएको थियो। भारतीय विदेशमन्त्री जयशंकरले कोरोना नियन्त्रणका विषयमासमेत छलफल भएको उल्लेख गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘हामीबीच हाम्रा साझेदारीहरुसँगै कोरोना नियन्त्रण र सहयोगका विषयमा छलफल भयो। सहयोगको दायरा बढाउनुपर्ने सहमति भयो ।’ पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्ररुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा करिब ९१ हजारमा कोरोना संक्रमण देखिएको थियो भने नेपालमै पनि तीन महिनाकै उच्च संक्रमण आज देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ५४० जनामा कोरोना संक्रमण देखिएको थियो ।
महाकालीमा पुल बनाउन भारत सहमत
नेपाल र भारत सरकारबीच छिट्टै सम्झौता हुने, तीन वर्षभित्र पुल तयार हुने
त्यस्तै दार्चुलाको नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् । ‘यो एउटा महत्त्वपूर्ण कदम हो, यसले हाम्रो मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउनेछ,’ जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् ।
महाकालीमा पुल नहुँदा सीमा वारपार गर्न समस्या छ । दार्चुलाका बासिन्दाले नेपालबाट नेपालकै भूमि आउन पनि तुइनको भर पर्नु परिरहेको छ । तुइन वारपार गर्दा कतिपयको ज्यानै जाने गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइनको सहारामा महाकाली तर्ने क्रममा स्थानीय जयसिंह धामी नदीमा बगेर गत साउन १५ देखि वेपत्ता छन् । नेपालको गृह मन्त्रालयले गरेको अनुसन्धानमा धामी तर्दै गरेका बेला भारतीय एसएसबीका जवानले तुइन काटिदिएको पाइएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले चासो राख्दै भारतलाई कूटनीतिक नोट पठाएको थियो । तर उक्त कूटनीतिक नोटको जवाफ भारतले दिएको छैन ।
नेपाल सरकारले धेरै समयदेखि दार्चुलास्थित महकाली नदीमा पुल बनाउने विषयमा सहमतिका लागि भारतलाई आग्रह गर्दै आएको थियो । तर भारत तयार भएको थिएन । भारतीय मन्त्रिपरिषद्ले बिहीबार दुई देशबीच पुल बनाउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने अनुमति दिएको छ । केन्द्रीय सूचना एवं प्रसारणमन्त्री अनुराग ठाकुरले सम्झौतापत्रमा छिट्टै हस्ताक्षर हुने जानकारी दिए । पुलको निर्माण आगामी ३ वर्षमा पूरा हुने उनको भनाइ छ । ‘पुलबाट भारतको उत्तराखण्ड र नेपालका बासिन्दालाई लाभ पुग्नेछ । दुई देशबीचको व्यापार, भाइचारा सम्बन्ध थप बलियो हुनेछ,’ उनले भनेका छन् ।