‘पिर्के सलामी’ले मन्त्री रामकुमारी झाँक्री विवादमा

गुल्मी । स्थानिय तहका पदाधिकारीले पिर्के सलामी लिएकोमा विरोध गर्दै आएकी शहरी विकास मन्त्री रामकुमार झाँक्री आफैं सलामीका कारण विवादमा तानिएकी छिन् । गृहजिल्ला गुल्मी पुगेको बेला इलाका प्रहरी कार्यालय मदानेमा मन्त्री झाँक्रीले सलामी ग्रहण गरेकी थिइन् ।

रातो कपडाले बेरिएको पिर्कामा उभिएकी मन्त्री झाँक्रीलाई ५ जना प्रहरीले सलामी दिइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । विगतमा पिर्के सलामी लिएका स्थानीय तहका पदाधिकारीबारे झाँक्रीले गरेको कमेन्टसहित सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

बहुसंख्यकले ‘पद नपाउञ्जेल मात्र रहेछ विरोध गर्ने’ भन्दै कमेन्ट गरेका छन् । गृह जिल्ला भ्रमणमा रहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ झाँक्रीले पिर्के सलामीबारे भइरहेका कमेन्टबारे कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

मान्छे मारेको हो र ? घूस खान्नँ, सलामी लिन्छु

त्यस्तै पिर्के सलामी लिएको सन्दर्भ र आलोचनाका विषयमा मन्त्री झाँक्रीले प्रस्टीकरण दिएकी छन् । मन्त्री नहुँदा तपाईं नै पिर्के सलामीको विरोध गरेर सोसल मिडियामा लेख्नुहुन्थ्यो तर, अहिले आफैँ किन पिर्के सलामी लिँदै हिँड्नुभएको ? भन्ने लोकान्तरको प्रश्नमा मन्त्री झाँक्रीले भनिन्, ‘सलामी नलिएर झण्डा, आर्मी, प्रहरी छाडेर हिँडौँ त ? म असान्दर्भिक हो र ? असान्दर्भिक व्यक्तिले लिएको त होइन ।’

त्यसपछि, उनलाई फेरि हामीले सोध्यौं, त्यसो भए हिजो ‘पिर्के सलामी’को विरोध गर्नुको के अर्थ भयो त ? मन्त्री झाँक्रीको जवाफ थियो, ‘मैले मान्छे मारेको हो र ? मान्छेले माला लगाइदिन्छन्, खादा लगाइदिन्छन् । अभिनन्दन गर्छन् । मचाहिँ त्यो सबै छाडेर, सबै मानिसलाई बेखुशी बनाइदिएर हिँड्न सक्छु र ?’

त्यसपछि उनले सलामी लिन जाँदाको लामो पृष्ठभूमि व्याख्या गरिन् ।

मन्त्री झाँक्रीको भनाइ जस्ताको तस्तै :

पुर्कोटको चौकी द्वन्द्वकालमा विस्थापित भएको थियो । राजनीतिक शक्तिका आधारमा त्यसको पुनःस्थापना अर्कै ठाउँमा गरिएको थियो । त्यसलाई पुनः पुर्कोटमा ल्याउने काम मेरै अगुवाइमा भएको हो । त्यहाँका समाजसेवी, नेता, मेरो सिनियर अभिभावक सबैले एकलौटी रूपमा त्यसको क्रेडिट मलाई दिनुहुन्छ । म अरू बेला त्यहाँ जाँदा पनि त्यसको चर्चा हुन्छ ।

म अहिले पाँच दिनदेखि जिल्लामा छु । विभिन्न राजनीतिक दलका मान्छेहरूसँग, सरकारी कार्यालयमा भेटघाट अन्तरक्रिया भएको छ । जिल्ला समन्वय समितिमा राजनीतिक दलका नेताहरूसँग भेटघाट गरें । स्थानीय तह (गाउँपालिका), मैले पढेका स्कूल लगायत सबै ठाउँमा कार्यक्रम भएको थियो । त्यसमध्येको मदाने गाउँपालिका म जन्मे/हुर्केको ठाउँ हो । पुर्कोट दहमा मैले पढेको स्कूल छ ।

मदाने गाउँपालिकाले सम्मान गर्ने भनेर सातै वडाका वडाध्यक्ष, राजनीतिक दलका मान्छेहरू सहभागी भएको कार्यक्रम आयोजना भएको थियो । म जन्मेको वडाको अध्यक्ष नै मसँग पढेको साथी हो । उहाँले पनि सम्मान कार्यक्रम आयोजना गर्नुभएको थियो । त्यसैगरी, आमा समूह, युवा क्लबले पनि अभिनन्दन कार्यक्रम आयोजना गरेको थियो ।

यी सबै कार्यक्रम र सरकारी कार्यालयहरूको निरीक्षण, अनुगमन भइसकेपछि आफ्नै ठाउँको प्रहरी कार्यालयमा नजाने कुरा भएन । सलामी गर्ने उहाँहरूको सामान्य कर्तव्य रहेछ । कोही विशिष्ट व्यक्ति, मन्त्री त्यो विभागीय होस् वा अन्य मन्त्रालयको त्यहाँ आउँदा सलामी दिने परम्परा रहेछ । त्यो गर्नैपर्ने काम पनि रहेछ ।

सलामीको कार्यक्रम नगरौं भन्दा मैले भ्रमण रद्द गर्नुपर्ने अवस्था भयो । सबै ठाउँ गएको छु, त्यही अफिस मात्रै किन नजाने भन्ने भयो । आफ्नो पनि योगदान भएको ठाउँ भन्ने छ । जाँदाचाहिँ सलामी गर्ने भन्ने छ ।

धेरैबेर सल्लाह गरेपछि त्यहाँका मेरा अभिभावकहरूले तिमी हिजोअस्ति आउँदा सलामी दिएको थियो र ? अहिले तिमी मन्त्री हौ, त्यसकारण सलामी दिएका हुन् । यो तिमीले गरेको कामको सम्मान हो । त्यो सम्मान लिन जानुपर्छ भन्नुभयो । सबैले भनेपछि जाने नि त भनेर म त्यहाँ गएँ । त्यसपछि सलामीको काम भयो । एक मिनेटको काम थियो, सकियो । त्यसपछि, मिडियामा आयो, भाइरल भयो ।

म अरूजस्तो ढोंगी पनि होइन, सलामी खान्छु । आर्मी पुलिस लिएर हिँड्छु । झण्डा हालेको गाडी चढ्छु । घुस खान्नँ, अनैतिक काम गर्दिनँ । गलत व्यवहार गर्दिनँ । गलत मान्छेसँग हिँड्दिनँ । राज्यले कानून अनुसार गरेको कर्तव्यप्रति मैले सम्मान गर्छु ।