प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, भ्रमणको बेला उच्चस्तरीय भेटबार्ताहरु पनि सम्पन्न

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।स्कटल्याण्डको ग्लास्गोमा आयोजित सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री देउवा आज बिहान काठमाडौं आइपुगेका हुन् । सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीसहित यही कात्तिक १२ गते बेलायत प्रस्थान गरेका थिए ।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले जलवायु सम्मेलन बाहेकका अरु प्रश्न नसोध्न सुरुमै आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्कीलगायत सहभागी थिए ।

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलगायतका नेताहरु सँग साइडलाइनमा उच्चस्तरीय भेटबार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गर्नुभएको थियो । सम्मेलनको दोस्रो दिन नोभेम्बर २ मा भएको भेटमा रक्षामन्त्री वालेसले प्रधानमन्त्री देउवासँग बेलायती गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोना विरुद्धको भ्याक्सिनमा बेलायतको सहयोगका विषयमा पनि छलफल गगरेको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिएका छन ।

यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सरकार प्रमुखहरूको स्वागतमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले वन तथा भूउपयोग व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलका रूपमा सम्बोधन गर्दै स्वैच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औजारमा नेपालको चासो रहेको धारणा व्यक्त गरेको भेटमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेष्टुले नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड–१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल गर्नुभएको भेटमा सहभागी अर्थ सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभएको छ ।

त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्री देउवाको मङ्गलबार नै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षे र मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुख्दसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा सन्दर्भमा कुराकानी गर्नुभयो । शिखर सम्मेलनको पहिलो दिन नोभेम्बर १ मा उनले नेपालका तर्फबाट सम्बोधन गर्नुभयो । सम्मेलनमा ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले हिजो नोभेम्बर ३ मा बिहान १०ः३० बजे स्कटल्याडको इडनबरास्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी सो अवसरमा उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्नुभएको थियो ।