एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई “कम्युनिटी अचिभर” अवार्डबाट सम्मानित
बेजिङस्टोक, ह्याम्पसायर । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङलाई उहाँ बसोबास गरिरहनुभएको स्थान बेजिङस्टोक क्षेत्रको लागि स्थानिय बेजिङस्टोक अफ्रिकन क्यारेबियन क्याथोलिक एशोसिएसन (बिएसीसीए)ले “कम्युनिटी अचिभर अवार्ड” बाट सम्मानित गर्नुभएको छ ।
स्थानीय समुदाय र परोपकारी क्षेत्रमा बिशेष योगदान पुर्याउनु भए बापत श्रीमती पुनम गुरुङलाई उहाँको योगदानको कदर गर्दै उक्त ‘कम्युनिटी अचिभर अवार्ड’ प्रदान गर्ने घोषणा गरिएको हो । बेजिङस्टोक अफ्रिकन क्यारेबियन क्याथोलिक एशोसिएसन (बिएसीसीए) को आव्हानमा हरेक वर्ष मनाइने ‘ब्ल्याक हिस्ट्री मन्थ’ का अवसरमा यो अवार्ड दिइने गरेको छ । यस वर्ष गुरुङसहित अन्य समुदायका अरु १० जना ब्यक्तित्वहरुलाई भोटिङ मार्फत कम्युनिटी लिडरलाई अवार्डका लागि छनोट गरेका छन । गुरुङलाई अवार्डका लागि छनोट गरिएको घोषणा गर्दै उक्त संस्थाले उनको अगुवाइमा भएका परोपकारी कामहरुको कदर गरिएको जनाएको छ ।
क्यान्सर पीडितहरुको सहयोगार्थ च्यारिटी दौड, नेपालमा विपन्न परिवारका बालबालिकाको शिक्षादिक्षा, कोभिड महामारीका बेला नेपाललाई बेलायतबाट डेढ सय अक्सिजन सहयोग लगायतका कार्यमा गुरुङले गरेको सफल नेतृत्वको कदरस्वरूप अवार्ड प्रदान गरिएको जनाइएको छ ।
एनआरएनएनए यूके इतिहासकै पहिलो महिला अध्यक्ष गुरुङ बेलायतको नेपाली समुदायकी एक अग्रणी अभियन्ता हुन् । कोभिड महामारीका बेला उनको नेतृत्वमा सहयोग तथा राहतको प्रभावकारी अभियान सञ्चालन गरिएको थियो । बेलायतस्थित अन्य नेपाली संघसंस्थामा समेत आबद्ध रहेर गुरुङले सामाजिक क्षेत्रमा योगदान गर्दै आएकी छन् ।
तमुधिं यूके र क्वोने घोण्डे घोताने समाजमा आमा समूहकी संस्थापक अध्यक्ष उनी तमुधिं यूके, बेजिङस्टोक नेपाली समाजसहित विभिन्न संघसंस्थामा सल्लाहकारको भूमिकामा छन् । नेप्लिज वुमन एशोसिएसनमा समेत उनी उपाध्यक्ष छन् । बेलायतमा यस किसिमको पुरुस्कारबाट सम्मानित हुने श्रीमती गुरुङ प्रथम नेपाली महिला हुन ।
हालै श्रीमती पुनम गुरुङ अध्यक्ष रहेको एनआरएनए यूकेको निबर्तमान समितिले बर्तमान कार्य समितिलाई २,११,५४७ं.८४ (दुई लाख, एघार हजार, पाँच सय सतचालिस पाउण्ड, चौरासि पेन्स) खर्च कटाउन बाँकि रकम हस्तान्तरण गरिएको छ । एनआरएनए यूकेको ईतिहासमा यत्तिका धेरै मौज्दात रकम नयाँ कार्यसमितिलाई हस्तन्तरण गरेको यो पहिलो ईतिहास हो ।