बेलायतले अझै नेपाललाई रातो सूचीबाट हटाएन
काठमाडौँ– अहिले नेपालमा कोभिड–१९ संक्रमणको दर १० प्रतिशतबाट ओरालो लागेको छ भने कोभिड विरुद्धको खोप लगाउने जनसंख्या १९ प्रतिशत पुगिसकेको छ । खोप लगाउने दर नेपालभन्दा निकै तल रहेका देशहरूलाई सेप्टेम्बर २२ बेलायतले पहेंलो सूचीमा उकाल्दैछ भने अक्टोबर ४ मा पहेंलो र हरियो सूची अक्टोबर ४ देखि मर्ज हुँदैछ ।
बेलायतले अहिले जोखिमका आधारमा विभिन्न देशलाई ‘ट्राफिक लाइट सिस्टम’का आधारमा वर्गीकरण गरेको छ । जोखिम कम भएका बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स, इजिष्ट, केन्या, ओमान, टर्की २२ सेप्टेम्बरदेखि पहेंलो सूचीमा चढाइँदैछन् । तर नेपालले आफ्नो कूटनीतिक सम्बन्धको प्रयोग गरी खोप अभियानमा भएको प्रगति र नयाँ संक्रमितहरूको संख्याबारे राम्ररी जानकारी गराउन नसक्दा नेपाल भने रातो सूचीमा नै रहीरहेको छ ।
बीबीसीका अनुसार, हरियो र पहेंलो सूचीमा रहेका देशका नागरिकले पूर्ण मात्रा खोप लिएको खण्डमा बेलायतको भ्रमण गर्दा पीसीआर परीक्षणको प्रमाणपत्र लिइरहनुपर्दैन । यो नियम युरोप र अन्य देशका लागि लागू हुनेछ । अहिले पनि युरोपेली देशहरूबाट दुई दिन अघिको पीसीआर परीक्षणको रिपोर्ट बुझाउन अनिवार्य गरिएको छ भने ४ अक्टोबरदेखि यो नियम सरलीकरण गरिदैंछ ।यद्यपि, रातो सूचीमा नै रहेका देशहरूबाट यात्रा गर्ने यात्रुले क्वारेन्टीन होटलमा ११ दिन बिताउनुपर्छ, यसमा एकजना यात्रुको २ हजार दुई सय ८५ पाउण्ड खर्च हुन्छ ।
दक्षिण एसियाका चार देश बंगलादेश, पाकिस्तान, श्रीलंका, मालदिभ्स रातो सूचीबाट हट्दा नेपाललाई भने बेलायतले रातो सूचीमा कायमै राखेको छ । ‘नेपालमा कोभिड–१९ को संक्रमण घटिरहेको छ । खोपको राम्रो प्रगति छ । खोपमा र संक्रमण जोखिममा हामीभन्दा तल रहेका देश हट्ने, अनि बेलायतसँग सदीयौं लामो कूटनीतिक सम्बन्ध रहेको नेपाल रातो सूचीमा रहीरहने भन्ने हुँदैन,’ एकजना पूर्व एक पूर्व कूटनीतिज्ञले भने । नेपाललाई रातो सुचीबाट हटाउन बिशेष कुटनितिक पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
जनसंख्याको आधारमा कोभिड–१९ विरुद्धको खोप लगाउनेमा नेपाल दक्षिण एसियामा भुटानपछि दोस्रो स्थानमा छ । भारतमा १४ प्रतिशत, पाकिस्तानमा १०.७ प्रतिशत र बंगलादेशमा ८.८ प्रतिशत जनसंख्याले मात्र खोप लगाएका छन् ।