खुकुरीको धारमा वाचा–कसम, आफ्नै कानुनमा बाँधिए भुजुङका ४०० परिवार

आश गुरुङ । कान्तिपुर

काठमाडौँ — बुद्धिजीवी वरपर बस्छन् । गत वर्ष बनेको कानुन उल्लंघन नगरेको, पापकर्म नगरेको, झूटो नबोलेको भनेर गाउँका हरेक घरमूलीले अनिवार्य कसम खानुपर्छ । सत्य बोलेको छु भनेर तामाको ताउलो र ताउलोभित्रको खुकुरीको धारमा छोएर कसम खानुपर्ने नियम छ । स्थानीय भाषामा यसलाई ‘धर्म समात्ने’ भनिन्छ ।

यसका लागि भुजुङवासीले बर्सेनि भदौ अन्तिम साता सभा राख्छन् । यसलाई ‘भदौ सभा’ भनिन्छ । करिब ४ सय घरधुरीका गाउँलेबीच चार दिन लगाएर गरिएको सभा गत आइतबार सकिएको हो । भुजुङ साविक गाविस हुँदा ९ वटै वडा एकै ठाउँमा रहेको गाउँ हो । त्यतिबेला भुजुङलाई ‘एउटै गाउँ, एउटै गाविस’ भनेर चिनिन्थ्यो ।

यो कामको व्यवस्थापन गाउँमा गठित रीतिथिति व्यवस्थापन समितिले गर्छ । समितिमा बुद्धिजीवी, जनप्रतिनिधि, हरेक टोलका अगुवा, आमा समूह, युवा क्लबका अध्यक्षलगायत रहन्छन् । समिति २५ सदस्यीय हुन्छ ।

समितिका अध्यक्ष कालबहादुर गुरुङका अनुसार सभामा घरमूलीले आफूसहितका आफ्ना परिवारले चोरीडकैती नगरेको, कसैको हानिनोक्सानी नपुर्‍याएको, आफ्ना बस्तुभाउले अरूको खेतीबाली नखाएको, बन्देज लगाएको ठाउँमा बस्तुभाउ नलगेको भनी धर्म समात्नुपर्छ ।

सभाले तय गरेको कानुनविपरीत काम गरेमा गाउँलेलाई जरिवाना लाग्छ । यो चलन क्व्होलासोंथर–४ भुजुङमा परम्परा हो । कोरोना संक्रमण जोखिमलाई ध्यानमा राख्दै यसपटक भौतिक दूरी कायम गरेर सभा गरिएको उनले सुनाए । ‘पोहोर र अहिले कोरोनाको डरका बीच हामीले भदौ सभा गर्‍यौं । छिटो–छिटो सक्नुपर्ने बाध्यता थियो । ४ दिनको सभामा अन्तिम दिन हामी समिति मात्रै बस्यौं र ३ दिनसम्मको छलफलमा उठेका कुरालाई निचोड निकाल्यौं,’ उनले भने ।

गुरुङ जातिको आदिम थलो क्व्होलासोंथर पतनपछि छरिएका गुरुङ १ हजार २ सय वर्षअघि भुजुङ आएको मानिन्छ । ‘हामी जहिलेदेखि (तमु) गुरुङ कहलियौं । हाम्रो पुर्खाले समाज र गाउँलाई एकतामा बाँध्न सभा सुरु गरे । त्यसैलाई निरन्तरता दिएका हौं,’ उनले भने, ‘१ हजार २ सय वर्षअघि ६० कुरिया घर बसाएको बेलादेखि सभा हुँदै आएको छ ।’

वडाध्यक्ष खिमबहादुर गुरुङका अनुसार लमजुङका दशथर, नौथर, बाह्रथर, चौथर, पाँचगाउँ, छगाउँ (मादीदेखि लमजुङतर्फको कास्की) मा आ–आफ्नै नालसभा हुन्थ्यो । ‘हामीले आगामी वर्षका लागि कानुन र नीतिनियम बनाएका छौं । मानापाथी, शेरधार्नी (नापतौल) को मूल्य तोकेका छौं । चोरीडकैती तथा अरूमाथि पापको काम नगर्ने नियम बनाएका छौं,’ उनले भने, ‘नियम उल्लंघन गरेमा कारबाही हुन्छ ।’ कुनै विशेष निर्णय गर्नुपरेमा समितिमात्रै बसेर निर्णय गर्न सक्ने उनले बताए ।

साविक भुजुङ गाविसका अध्यक्ष नारायणबहादुर गुरुङका अनुसार गाउँले सबैको सहभागितामा नीतिनियम बनाइएको हुन्छ । सभामा सहभागी नहुनेलाई जरिवाना गरिन्छ । ‘यो नितान्त आन्तरिक मामिला हो । राज्यको कानुन, संविधानसँग हाम्रो समाजको कानुन बाझ्दैन । हामी व्यावहारिक पक्षलाई बढी ध्यान दिन्छौं,’ उनले भने । उनका अनुसार कानुन संशोधन वा परिवर्तन गर्नुपरेमा समिति र बुद्धिजीवीको भेला डाकेर निर्णय लिनुपर्छ ।

गाउँमा हुने धान, मकै, कोदोलगायत खाद्यान्न बालीको भाउ, कामदारको दैनिक ज्याला, घिउ, महको मूल्य, चोया तथा ऊनद्वारा निर्मित विभिन्न हस्तकलाका सामग्रीको मूल्य सभाले तोक्छ । सभाले पहिलोपटक ब्रोइलर कुखुराको मासु प्रतिशेर १ सय ८० रुपैयाँ तोकेको छ । गत वर्षसम्म तोकेको थिएन । लोकल कुखुराको प्रतिशेर २ सय तोकेको छ । गत वर्ष १ सय ५० थियो । गत वर्ष ७० रुपैयाँ रहेको लोकल रक्सी प्रतिबोतल १ सय पुर्‍याइएको छ । राँगाको मासु प्रतिधार्नी (८ शेर) को ६ सय रुपैयाँ, भैंसीको ५ सय ५०, खसीको १ हजार १ सय, भेडाबाख्रा प्रतिधार्नी १ हजार ५० रुपैयाँ तोकेको छ ।

ज्यामी (दक्ष) को प्रतिदिन ६ सय ५० रुपैयाँ, अर्धदक्ष ६ सय, ढुंगा, माटो बोक्न खट्नेलाई ५ सय ज्याला तोकिएको छ । गोरुसहित जोत्नेको १ हजार, असारे पर्म खाजासहित ४ सय, हिउँदे पर्म ३ सय, अन्न (धान, मकै, कोदो) प्रतिपाथी २ सय, पराल प्रतिभारी २ सय तोकिएको छ । गुरुङको मृत्यु संस्कारमा अर्घुं गर्दा घ्याब्रे गुरुको समूहलाई पगरीबापत ५ हजार, पच्यु गुरुहरूलाई पगरीबापत ४ हजार रुपैयाँ कायम गरिएको छ । ठूलो छोरासँग पुटपुटे नाच्दा गाउँ कोषमा ५ हजार र पुटपुटे नाचका गुरु समूहलाई १० हजार रुपैयाँ तोकेको छ । दसैं र तिहारमा एक टोलले अर्को टोललाई भैंसी उपलब्ध गराउँदा जरिवाना गर्न नपाउने नियम बनाइएको छ ।

गाउँका अगुवा बृजबहादुर गुरुङका अनुसार यो वर्ष ५१ हजार १ सय ७५ रुपैया जरिवाना संकलन भएको छ । बन्देज लगाएको ठाउँमा चौपाया गएको, बाली नष्ट गरेको, व्यक्तिले कसैको चोरी गरेको, अटेरी गरी सभामा उपस्थित नभएकाको जरिवाना लिइएको हो । ‘जरिवाना रकम गाउँको कोषमा जम्मा हुन्छ । यो पैसा विकास निर्माण र गाउँमा गरिने पूजापाठमा खर्च हुन्छ,’ उनले भने ।