अधक्ष्य ओली र नेपालबिच भेटबार्ता अझै हुन सकेन, नेपालको ‘आनाकानी’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् । तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन् । अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन् । नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए ।

त्यहीबमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिब डेढ घन्टा भेटवार्ता भएको छ । नेपालले पौडेलसँग शुक्रबार भेट गर्न सक्ने जनाइएको छ । नेम्बाङले दुई शीर्ष नेता भेटेर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन आग्रह गरेको जानकारी दिए । ‘तपाईं (नेपाल) र अध्यक्ष कमरेड (ओली) भेटेर कुराकानी गर्नुहोस् र एकतालाई ठोस रूपमा अगाडि बढाउन सकिन्छ भनें’, विघटित कार्यदलमा संस्थापन पक्षका संयोजकसमेत रहेका नेम्बाङले भने । नेम्बाङको आग्रहमा नेपालले ‘ठिकै छ’ भनेर जवाफ दिएको जनाइएको छ ।

नेम्बाङले ओली र नेपालले बनाएको कार्यदलमा दुई पक्षबीच भएको १० बुँदे सहमति जोगाउन पनि आग्रह गरेका थिए । ‘१० बुँदे सहमति गरेका छौं । यसलाई टुंगोमा पुर्याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ’, नेम्बाङले नेपाललाई भनेका थिए । नेपालले नेम्बाङसँगको भेटमा पनि १० बुँदे सहमतिका विषयमा स्पष्ट नबताएको जनाइएको छ । ‘मकहाँ कार्यदलले दिएको प्रतिवेदन बोक्छु’ भन्ने जवाफ नेपालले दिएको स्रोतले बतायो ।

नेम्बाङले सत्तारुढ गठबन्धनमा सहभागिताका विषयमा प्रश्न गर्दा पनि नेपालले विभिन्न उपमा दिएर उत्तर दिएका थिए । ‘तपाईंले गठबन्धनमा छैन भन्नुभएको थियो । तर, पछिल्लो समय प्रतिनिधि गएको देखिन्छ । किन जानुभएको ?’ नेम्बाङको प्रश्न थियो । नेपालले भने कथा हालेर जवाफ दिएको जनाइएको छ । पार्टी यो अवस्थामा आउनुमा लामो कारण रहेको उनको भनाइ थियो ।

एकतासम्बन्धी विघटित कार्यदलले ओली र नेपाललाई भेट गराउन प्रयास गरेको छ । १० बुँदे सहमतिको प्रतिवेदन दुवै नेतालाई बुझाएदेखि नै भेट गराउन लागे पनि यो प्रयास अझै सफल भएको छ । कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । ओलीले त्यो प्रतिवेदन अपनत्व ग्रहण गर्दै कार्यान्वयनका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि अनुमोदन गराइसकेका छन् । तर, नेपालले सुरुकै दिनदेखि विमति राख्दै आएका छन् । नेपालले आफैंले गठन गरेको कार्यदलका आफू पक्षका सदस्यप्रति पनि अविश्वास गरिरहेका छन् ।

१० बुँदे सहमतिविपरीत नेपालसहित २२ प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिइसकेका छन् । नेपाल पक्षमा रहेका कार्यदल सदस्य तथा स्थायी कमिटी सदस्यसमेत एकताकै पक्षमा देखिए पनि कहिले नेपाल स्वयं त कहिले डा. विजय पौडेललाई पठाएर सत्तारुढ गठबन्धनको बैठकमा सहभागी भइरहेका छन् । वरिष्ठ नेता नेपाललाई विश्वासको मत दिने २२ जनाले देउवा सरकारमा जान पनि नेपाललाई दबाब दिइरहेका छन् ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालकै सहमतिमा जेठ २ मा दुवै पक्षका पाँच-पाँच जना राखेर कार्यदल बनाइएको थियो । कार्यदलमा संस्थापन पक्षबाट नेम्बाङको नेतृत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए भने नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए ।