उखु किसानद्वारा बक्यौता रकम नपाए फेरि आन्दोलनको गर्ने घोषणा

काठमाडौं । उद्योगबाट बक्यौता रकम नपाएपछि उखु किसानले फेरि काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन् । आज बिहिबार पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो । यसका लागि समितिले भदौ ५ गतेसम्म किसानको सबै भुक्तानी दिन सरकारलाई पत्र बुझाएको छ । बाँकी सबै भुक्तानी नपाए आन्दोलन चर्काउने समितिले जनाएको छ ।

समितिका अनुसार किसानले करिब ९० करोड रुपैयाँ अझै पाउन बाँकी छ । वर्षौँदेखि उखुको भुक्तानी नपाउँदा उखु किसानहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।

उखुको बक्यौता रकम भुक्तानी गर्न माग

उखु किसानले सरकारसंग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । चिनी मिलले लामो समयसम्म उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै काठमाडौं आएका किसानले रकम भुक्तानीको व्यवस्था मिलाइदिन सरकारसंग आग्रह गरेका हुन् ।

किसानले भदौ ५ गतेसम्म रु १५ करोड बढी रहेको बक्यौता रकम भुक्तानीको समय दिएका हुन् । उखु किसान सङ्घर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक सङ्घ र उखु किसानले विगतमा भएको सहमति पालना नभएको भन्दै उक्त अवधिमा भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरेका हुन् । किसानले गत वर्षको मङ्सिरमा बक्यौता रकम भुक्तानीको माग गर्दै माइतीघरमा आन्दोलनसमेत गरेका थिए । उखु किसान सङ्घर्ष समिति एवं उद्योग मन्त्रालयबीच २०७७ साल पुस १३ गते पाँचबुँदे सहमति दोस्रोपटक भएको थियो ।

सहमतिअनुसार २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम उद्योग मन्त्रालयले भुक्तानी गराउने जिम्मेवारी लिएको थियो । “उद्योग मन्त्रालयले उद्योगीको जायजेथा बिक्री गरेर भए पनि किसानलाई भुक्तानी गराउने जिम्मा लिएर पनि सम्पूर्ण भुक्तानी गराउन सकेन । किसानको भविष्यसँग खेलबाड गरिएको छ”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम राय यादवले उखु किसानसँग सम्बन्धित अन्य समस्याका बारेमा सम्झौता भएको १२० दिनपछि गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्ने भनेपनि हालसम्म सार्वजनिक नगरिएको जानकारी दिनुभयो । उहाँका अनुसार उद्योग मन्त्रालयले तयार गरेको प्रतिवेदतमा उद्योगीबाट कति रकम र नेपाल सरकारको अनुदानमध्ये कति रकम किसानलाई दिनुपर्ने हुन्छ त्यसको किटानी गरिएको छैन ।

किटानी नभएकाले नै किसानका प्रतिनिधिले उक्त प्रतिवेदनमा हस्ताक्षरसमेत गरेका छैनन् । उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष राम स्वार्थ राय छ वटा चिनी मिलले रु १५ करोड बढी रकम भुक्तानी नगरेको बताउनुहुन्छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने चिनी उद्योग तथा जिल्ला प्रशासन कार्यालयबाट सबै रकम भुक्तानी भएको जानकारी आएको जनाएको छ ।