रिहा भइन् जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी

काठमाण्डौ । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा प्रहरीलाई नै फिर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायधिवक्ता चन्द्रप्रसाद संजेलले थप अनुसन्धान गरेर ल्याउन भनिएको बताए ।

‘सरकारी वकिल कार्यालयले थप अनुसन्धान गरेर मानिसलाई फेरि अनुसन्धान प्रतिवेदनसाथ पेश गर्न भनेर पठाएका हौं । प्रहरीले मन लाग्यो भने राख्न पनि सक्छ, छोड्न मन लागे छाड्न पनि सक्छ र म्याद थपेर लिन पनि सक्छ,’ उनले भने, ‘अहिले फोरेन्सिक टेस्ट गर्नुपर्ने भएको छ । त्यसमा समय लाग्ने भएकोले अनुसन्धानमा नभ्याउला भनेर मानिसलाई आवश्यकताअनुसार हाजिर जमानी वा धरौटीमा छाड भनेको पनि हो ।’

यो विषयमा मुद्दा चल्ने/नचल्ने निर्णय भइनसकेको उनले बताए । यस मुद्दामा प्रहरीले जाहेरीवालाले पेश गरेको अडिओ रेकर्ड को कसको सीममा प्रयोग भएको हो र त्यसको प्रदायक कम्पनीबाट कागजातलगायत डिटेल लिएर आऊ र आवाजसहितको पहिचान गरी फोरेन्सिक रिपोर्ट पेश गर्न भनिएको उनले बताए ।

भएको के थियो ?

तनहुँकी २४ वर्षीया रूपा सुनार काठमाडौंको बबरमहलमा आमासँग बस्छिन् । उनीहरूको भाडाको कोठा छ । इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन् । आमासँग भाडाको कोठा थियो । कोरोनाभाइरसको महामारी रोक्न निषेधाज्ञा गरियो । रूपा पनि अरू काम घरबाटै गर्थिन् । कार्यक्रम चलाउन केही समय कार्यालय जान्थिन् ।

आमा-छोरीलाई एउटामात्रै कोठा साँघुरो भएको थियो । त्यही भएर उनी सर्नका लागि कोठा खोजिरहेकी थिइन् । कतै कोठा भेटिए आफूलाई जानकारी दिन साथीहरूलाई भनेकी थिइन् । मंगलबार दिउँसो उनकी एकजना साथीले बबरमहलमै कोठा छ हेर्न जाउँ भनिन्। उनीहरू तीन जना भएर कोठा हेर्न गए । घरबेटी प्रधान थरका रहेछन् । कोठा हेरेपछि रूपालाई मन पर्‍यो । घरबेटीसँग भाडाको कुरा भयो । कुरा मिल्यो । घरबेटीले कोठामा बस्दा राम्रोसँग बस्नु पर्ने बताइन् ।

‘हल्ला गर्ने, अबेला आउने, मान्छेहरू धेरै ल्याउनेजस्ता काम गर्न पाइन्न,’ घरबेटीले भनेको कुरा उद्धृत गर्दै रूपाले भनिन्,‘आफ्नै छोरीहरूजस्तो लाग्यो मलाई । एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ । बसेपछि भाडामा बस्नेलाई पनि हामीले हेप्नु हुँदैन, भाडामा बस्नेले पनि अरूको घर सम्झेर बस्नुहुँदैन । सबै जना मिलेर बस्नुपर्छ ।’ रूपाले आमालाई पनि एकपल्ट कोठा देखाउन ल्याउने बताइन् ।

त्यत्तिकैमा घरबेटीले थरको कुरा उठाइन् । ‘मैले सिधै भनें-म कामीको छोरी हुँ,’ रूपाले भनिन् । उनको थर सुनेर घरबेटीले केही बोलिनन् । केहीबेर अघिसम्म मिलेर बस्नुपर्ने भनेकी उनी अकमकिइन् । रूपा र उनकी साथीहरू पनि केही बोल्न सकेनन् । त्यसपछि घरबेटीले अनकनाएर भनिन्, ‘तपाईंको नम्बर दिनू न, म तपाईंलाई पछि खबर गर्छु ।’ घरबेटीको कुरा सुनेर रूपाको चित्त दुखिसकेको थियो । तर उनले केही नभएजस्तो गरिन् । साथीसँगै उनी कोठामा फर्किइन् ।

घरबेटीले केहीबेरपछि उनकी साथीलाई फोन गरिछन् र कोठा नदिने कुरा सुनाइछन् । ‘हामी फर्किएको केहीबेरपछि उहाँले साथीलाई फोन गरेर यस्तो-यस्तो मान्छे पो ल्याउनुभएछ है, मलाई त थाहा भएन । बस्न मिल्दैन भनेर भन्नुभयो,’ उनले भनिन् । त्यसपछि रूपालाई यो कुरा आफूमा मात्र सीमित राख्न र चित्त दु:खाएर दबाइरहन मन लागेन । त्यसपछि राति उनले दिउँसो आफूले भोगेको घटनाबारे फेसबुकमा भिडिओ पोष्ट गरिन् । उनलाई आफू कामी भएकै कारण त्यो घरमा नअटाएको भन्ने लागेको छ । आफूलाई ती घरबेटीले अर्को दर्जाको व्यवहार गरिएको महसुस भएको बताइन् । रूपाले थरकै कारण विभेद भोगेको यो पहिलो पटक भने होइन ।

उनी कक्षा ४ सम्म लमजुङको भुजुङस्थित एक विद्यालयमा पढेकी थिइन् । त्यहाँ गुरूङ समुदायको बाहुल्यता थियो । कथित उपल्लो जातका साथीहरूबाट पनि आफूमाथि सानैदेखि दुर्व्यवहार हुने गरेको उनलाई याद छ । गैरदलितले छोइछिटो गर्दा उनी शिक्षकलाई गुनासो गर्न जान्थिन् । शिक्षकले बेवास्ता गर्थे ।

आफूहरूले केही गर्न नसकिने भन्दै कुट्यो भने तिमीहरू प्रतिरोध गर न भनेर फर्काउँथे ।

‘खेल्ने ठाउँ पनि फरक-फरक हुन्थ्यो । दुई कक्षामा पढ्दा मेरा पाँच जना साथीहरू थिए । थाई कट कपाल काट्ने चलन आएको थियो । मेरा सबै जना साथीहरूले कपाल काटेका थिए । त्यसपछि मेरो पनि कपाल काट्देऊ न भनेर म गएँ,’ उनले सम्झिइन्, ‘तर उनीहरूले कैंची छोइन्छ भनेर काटिदिएनन् । म घर गएर आमालाई काटिदिनू भनेर भनेँ तर मान्नुभएन । अनि म आफैंले कपाल काटेँ ।’

उनको उमेर बढ्दै गयो । उमेरसँगै उनले भोग्ने विभेदको तस्बिर पनि ठूलो हुँदै गयो । ठाउँ-ठाउँमा विभेदको सिकार भइन् । माओवादी सशस्त्र द्वन्द्वका बेला उनका बुवालाई गाउँमा बस्न समस्या भयो । त्यसपछि उनीहरू लमजुङ छोडेर तनहुँ झरे ।

९ वर्षकी रूपाले लमजुङ छोड्दा नयाँ ठाउँमा त आफूलाई कसैले विभेद गर्दैन होला भन्ने लागेको थियो । दमौलीको एक होटलमा अरूसँगै बसेर खाना खान पाउँदा र थाल माझ्नु नपर्दा उनले विभेद हटेछ भन्ने ठानेकी थिइन् । ‘हामीले खाएको थाल पनि अरूले नै माझिदिएपछि त म खुसी भएकी थिएँ,’ उनले सम्झिइन् । तर उनी पनि अरूजस्तै समान भएको त्यो क्षण त पानीको फोकाजस्तो मात्रै रहेछ । ठाउँ फेरियो, मान्छे बदलिए तर थरकै कारण उनलाई फरक व्यवहार गर्ने सोच बदलिएन । गाउँदेखि सहरसम्म जता गए पनि त्यस्ता मान्छे भेटिइरहे । हरेक ठाउँमा उनले आफूलाई म पनि तपाईंजस्तै मान्छे हुँ भन्नु पर्‍यो ।

‘दु:खकै कुरा गर्दा त कति लाग्छ, लाग्छ । म पनि तपाईंजस्तै मान्छे हुँ भनेर हेरक दिन, हेरक ठाउँमा प्रमाणित गरेर हिँड्नु पर्छ,’ रूपाले भनिन् । रूपाले मिडियामा काम गर्न थालेको आठ वर्ष भयो । एसएलसी पास भएलगत्तै काम थालेकी उनले कतिपय नाम चलेका कलाकारहरूसँग म्युजिक भिडिओमा पनि खेलेकी छन् । धेरैले आफूलाई राम्री भने पनि आफ्नो थर सुनेपछि नाक खुम्च्याउने गरेको उनको अनुभव छ ।

‘तिमी त कामीजस्तो पनि नदेखिने, कति राम्री भनेर पनि भन्छन् । अनि म प्रतिकार गरेर कामीहरू कस्तो हुन्छन् र भनेर प्रश्न गर्छु,’ उनले भनिन्, ‘कामीकी छोरीभन्दा नाक खुम्च्याउँछन् । अब अर्को पुस्ताले यस्तो भोग्न नपरोस् भनेर हामी लड्नै पर्छ। बुवा, बाजेको पुस्ताले राम्ररी संघर्ष गरेको भए । अहिले हामीले यस्तो घिनलाग्दो कुरामा समय खर्चिनु पर्दैन थियो ।’

आफूलाई थरकै कारण कोठा दिन इन्कार गर्ने घरबेटीविरूद्ध रूपाले प्रहरीमा उजुरी दिएकी थिइन् ।