नेपाल-भारत संयुक्त बैठक सकियाे, आर्थिक सम्बन्ध तथा कनेक्टिभिटीमा छलफल

नेपाल-भारतबीच संयुक्त आयोगको सातौँ बैठक सकिएको छ । दुई देशबीच आर्थिक सम्बन्ध, व्यापार, कनेक्टिभिटी, व्यापार र पारवहन, जलस्राेत, शिक्षा, संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिएका छन् ।

नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं : नेपाल र भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। काठमाडौंमा सम्पन्न नेपाल-भारत संयुक्त आयोगक बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्री एनपी साउद र समकक्षी एस जयशंकरको सहभागितामा दुई देशबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको बताए । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन् ।

बैठकमा १३२ केभीका तीन वटा अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको प्रवक्ता राईले बताए। जसमा रसुवा-परवानीपुर, कटैया-कुशाहा र नौतनवा-मैनावार रहेका छन् । त्यस्तै बैठकमा भारतले भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माण गर्न एक हजार करोड सहयोगको घोषणा गरेको प्रवक्ता राईले बताए। बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको उनले बताए ।

भारतीय विदेशमन्त्री जयशंकरको राजनीतिक भेटघाट तीव्र

त्यस्तै नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राजनीतिक भेटवार्ता गरेका छन् । बिहीबार काठमाडौंको एक होटलमा विदेशमन्त्री जयशंकरले कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुसंग भेटवार्ता गरेका हुन् ।

भेटपछि एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले नेपाल भारत सहमति लगायत दुईपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको जानकारी दिए । नेपालको आर्थिक विकासको बाटोमा आवश्यकता अनुसारको सहयोग मित्रराष्ट्रबाट हुने अपेक्षा गरिएको उनले बताए । त्यस्तै कांग्रेस सभापति देउवासँगको भेटमा दुईपक्षीय सम्बन्ध लगायतका बिषयमा छलफल भएको थियो । नेताहरुको भेटका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले नेपालसंगको सम्बन्धलाई थप उचाईमा लैजान प्रयत्न गर्ने धारणा राखेका थिए ।