मन्त्रीको नाम दिन प्रधानमन्त्री प्रचन्डले देउवालाई ताकेता
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हुनेहरूको नाम दिन कांग्रेस सभापति शेरबहादुर देउवालाई ताकेता गरेका छन् । सरकार सञ्चालनको सय दिन बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आलोचना हुन थालेपछि दाहालले दबाब बढाएका हुन् । ‘प्रधानमन्त्रीले चाँडै नाम दिनुहोस् भनेर मागिरहनुभएको छ, पार्टीभित्र छलफल टुंग्याएर एक–दुई दिनमै नाम दिन सभापतिज्यू छलफलमा हुनुहुन्छ,’ कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘अब केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’
स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार डिस्चार्ज भएसँगै प्रधानमन्त्री दाहालले देउवालाई मन्त्रीहरूको नाम दिन आग्रह गरेका हुन् । दाहालले बिहीबारै कांग्रेसबाट थपिने मन्त्रीलाई शपथ गराउने तयारी गरे पनि देउवाले साँझसम्म नाम दिन सकेका छैनन् । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालयसहित एक राज्यमन्त्री पाए पनि पार्टीबाट चार मन्त्री मात्रै सहभागी छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, प्रकाशरण महत अर्थ, सीता गुरुङ सहरी विकास र रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लिएर सरकारमा सहभागी भएका छन् ।
कांग्रेसको भागमा परेका परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालयसहित ६ मन्त्रालय प्रधानमन्त्री दाहालसँगै छन् । संस्थापनपक्षीय एक नेताका अनुसार देउवा बुधबारै एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने निर्णयमा पुगेका थिए । साउदलाई परराष्ट्रमन्त्री बनाउने देउवाको तयारी थियो । नेता शेखर कोइराला र गगन पक्षले कुन–कुन मन्त्रालय लिने भन्ने टुंगो नलागेकाले बस्नेतको मन्त्रालय निश्चित भएको थिएन तर शेखर–गगन समूह ८ मध्ये तीन मन्त्रालयको अडानबाट पछि हटेको छैन । देउवा तीन मन्त्रालय दिने पक्षमा छैनन् । तनहुँको उपनिर्वाचनका विषयमा छलफल गर्न बुधबार सभापतिसँग भेट गरेका थापालाई देउवाले तत्काल मन्त्रीको नाम दिन आग्रह गरेका थिए । थापाले नेता शेखर कोइरालासँग छलफल गर्ने जवाफ दिएर निस्किएका थिए ।
देउवाले केही समय अघिसम्म शेखर नै परराष्ट्रमन्त्री हुने भए तीन वटा मन्त्रालय दिन तयार भएको जनाउ दिएका थिए । ‘शेखर दाइले अब यो च्याप्टर बन्द भइसक्यो, म सरकारमा जाने कुरा छैन भनेपछि सभापतिले गगन थापालाई पनि परराष्ट्रमन्त्रीको अफर गर्नुभएको हो,’ शेखरपक्षीय एक नेता भन्छन्, ‘अरू साथीलाई मन्त्री बनाउन लडिरहनुभएकाले आफैं जान उहाँले चाहनुभएन ।’
नेता कोइरालाले तीन मन्त्रालय नदिएसम्म आफ्नो पक्षबाट नाम दिन नसकिने जनाउ बुधबार पनि दिएका छन् । महामन्त्री थापाले आफ्नो समूहले नाम नदिएका कारणले सरकार विस्तारमा ढिलाइ नभएको बताए । ‘सभापतिले मिलाउनासाथ पाँच मिनेटमै नाम दिने काम हुन्छ,’ उनले भने ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले बिहीबार कांग्रेसबाट थप मन्त्री सहभागी हुने सम्भावना रहेको बताए । ‘प्रधानमन्त्रीले बुधबारसम्म नाम दिनुहोस् भनेर माग्नुभएको हो, कांग्रेस सभापतिले पार्टीभित्र मिलाएर बुधबारै नाम दिने बताउनुभएको थियो । उहाँले बिहीबारसम्म नाम दिनुभयो भने भोलि (बिहीबार) नै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ गजुरेलले भने । गजुरेलका अनुसार बिहीबार बिहान सत्ता गठबन्धनको बैठक बस्दै छ । ‘सरकारको न्यूनतम साझा कार्यक्रम गठबन्धनबाट समझदारी बनाएर साँझसम्म सार्वजनिक गर्ने र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ,’ उनले भने, ‘भोलि भएन भने पनि अब लामो समय जाँदैन ।’
प्रधानमन्त्रीसँग रहेका अरू दुई मन्त्रालय जसपा र जनमत पार्टीको भागका हुन् । बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव आफैं उम्मेदवार भएकाले उक्त पार्टीको भागमा परेको वन तथा वातावरण मन्त्रालयमा तत्काल मन्त्री पठाउने सम्भावना देखिएको छैन । जसपाबाट वरिष्ठ नेता अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्ने गरी मन्त्री भइसकेका छन् । यादव वैशाख १० पछि मात्रै मन्त्री पठाउने तयारीमा छन् । तनहुँ–१, चितवन–२ र बारा–२ वैशाख १० मा उपनिर्वाचन हुँदै छ । ‘एउटा मन्त्रालयका लागि मन्त्री बन्न धेरैको दौडधुप छ, अहिल्यै बनाइदिने हो भने पार्टीभित्रको असन्तुष्टिको असर बारा–२ को निर्वाचनमा देखिन सक्छ भनेरै रोकिएको हो,’ जसपाको कार्यकारिणी समितिका एक सदस्यले भने, ‘वैशाख १० अघि हामी नाम दिँदैनौं ।’
सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले भने रोजेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि सरकार छाडेको छ । सरकारलाई दिएको समर्थन कायम राख्दै जनमतबाट मन्त्री भएका अब्दुल खानले केही दिनअघि राजीनामा दिएका थिए । उपनिर्वाचनमा एक्लै अघि बढेको जनमतलाई सत्ता गठबन्धनमा राख्ने कि नराख्ने भन्नेमा सत्तारूढ दलभित्र फरक मत प्रकट हुन थालेका छन् ।
कांग्रेस सभापति देउवाले जनमत अब सरकारमा नआउने भन्दै उसले सम्हालेको खानेपानी मन्त्रालय लिने प्रयास गरेका छन् । गठबन्धनको निर्णयविपरीत बारा–२ मा जनमतले उम्मेदवार दिएपछि गठबन्धनभित्र उसलाई सामेल गर्न नहुने दबाब छ । खासगरी जसपाले जनमत पार्टीलाई गठबन्धनबाट अलग गर्न दबाब दिइरहेको छ । यादवले जनमतलाई मधेस सरकारबाट समेत अलग्याउने प्रयास गरेका छन् ।