खगेन्द्र संग्रौलाविरुद्ध लिम्बु समुदायको आपत्ति : ‘सिनो खाने जात’ भनेको आरोप

काठमाडौं । लेखक खगेन्द्र संग्रौला आफ्नै जीवनकथामा आधारित पुस्तक ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ का कारण विवादमा तानिएका छन् । पुस्तकको एक सन्दर्भलाई लिएर लिम्बु समुदायको एउटा संगठन कडा विरोधमा उत्रिएको छ । ‘लिम्बूहरुले सिनो खान्छन्’ भन्ने आशय पुस्तकमा अभिव्यक्त गरिएको भन्दै लिम्बुहरुले आपत्ति जनाएका हुन् । सुहाङ वंशावली प्रकाशन समिति पान्थर, लिम्बूवान-नेपाल नामक संस्थाले एक विज्ञप्ति जारी गर्दै संग्रौलाको जीवनीपरक पुस्तकको पेज नम्बर २५ मा उल्लेखित प्रसंग कपोकल्पित, अतिरञ्जित, निराधार र भ्रामक रहेको जनाएको छ । यसले सिंगो लिम्बू समुदायको आत्मसम्मान र भावनामा गम्भीर चोट पुर्‍याएको संगठनको दाबी छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘खगेन्द्र संग्रौलाको उक्त संस्मरणमा जातीय अहंता र ब्राम्हणत्वको झल्को आउँछ । यही घटना विशेषलाई सिंंगो बस्ती र आम याक्थुङ लिम्बू समुदायप्रति जातीय अपमान, घृणा र हिंसा हुने किसिमले विषयवस्तुलाई सामान्यीकरण गर्नु हदैसम्मको असंवेदनशीलता हो र यो दुराशयपूर्ण छ भन्ने हाम्रो ठहर छ ।’ यस पुस्तकको बिक्री/वितरण तुरुन्त बन्द गरिनुपर्ने र उक्त अतिरञ्जित आपत्तिजनक काल्पनिक सामग्री हटाएर संशोधन गरी पुनः प्रकाशन गरेपछि मात्रै बजारमा ल्याइनुपर्ने पनि माग गरिएको छ ।

के छ पुस्तकमा ?

उज्ज्वल प्रसाईंद्वारा लिखित संग्रौलाको उक्त पुस्तकको पेज नम्बर २५ मा लेखिएको छ, ‘लक्ष्मीप्रसाद (संग्रौलाका पिता) को घरभन्दा अलि मास्तिर ढाँड भन्ने एउटा सानो बस्ती थियो । जहाँ लिम्बूका आठ-दश परिवार बस्थे । त्यहाँका लिम्बू परिवार अत्यन्तै गरीब थिए । तिनका खेत हुने त कुरै भएन, बारी पनि गतिला थिएनन् ।

उनीहरु संग्रौला मुखियाका खेतबारीमा काम गर्थे । उनकोमा मरेका भेंडा–बाख्रा, गाई–गोरु र भैंसी लगेर खान्थे । सिनो खाएवापत् उनको खटनबमोजिम खेत-बारीमा काम गरिदिनुपर्ने थिति बसालिएको थियो । त्यो ढाँड मुखिया लक्ष्मीप्रसादको उपनिवेश झैं थियो । ती आठ-दश लिम्बू परिवारमा उनको लगभग ठाडो हुकुम चल्थ्यो ।’

पुस्तकको यो सन्दर्भलाई लिएर लिम्बु समूदायका केही व्यक्तिहरुले सामाजिक सञ्जालमा असन्तुष्टि र आपत्ति जनाएका थिए । त्यसपछि संग्रौला मुख खोल्न वाध्य भए । एक अनलाइनमा उनले लामो स्पष्टीकरण लेख्दै पुस्तकका लेखक उज्ववल प्रसाईमाथि दोष थोपरे । तर, यसको जिम्मेवारी आफूले लिने भन्दै क्षमायाचना पनि गरे ।

संग्रौलाले लेखेका छन्, ‘खासमा माथि उल्लेखित वर्णन मेरो होइन, जीवनीकार उज्वल प्रसाईंको हो । तर, चाखलाग्दो कुरा के हो भने सबैजसो विमति र आक्रोशहरु मैप्रति लक्ष्यित छन् । विमति र आक्रोशको तारो मलाई बनाइनु एक अर्थमा ठीकै पनि हो । किनभने जीवनीकारको वर्णनको भ्रुण मेरो संस्मरणबाट टिपिएको हो ।’ संग्रौलाले आफूले बाल्यकालको संस्मरणमा केवल बाघको झम्टाइमा परी मरेको भेंडो खाएको प्रसंगमात्रै उल्लेख गरेको बताएका छन् ।

‘मरेका बाख्रा, गाई-गोरु र भैंसी’ प्रसंग आफूले उल्लेखै नगरेको संग्रौलाको जिकिर छ । जीवनीकार उज्वल प्रसाईंले अति गरीब लिम्बूहरुका जीवनको दयनीय अवस्थाको चित्रणलाई प्रभावकारी बनाउने हेतुले मरेको भेंडो खाएको विषयलाई बढाइचढाइ गरेको हुनसक्ने उनले बताएका छन् ।संग्रौलाले लेखेका छन्, ‘जीवनीकारबाट किञ्चित मनोगत असावधानी अवश्य भएको छ । तर, प्रसाईंको अभिप्रायप्रति भने ममा कुनै सन्देह छैन ।’ जीवनीको निकट भविष्यमा निस्कने दोस्रो संस्करणमा यो त्रुटि सच्याइने संग्रौलाको स्पष्टोक्ति छ । संग्रौलाको स्पष्टीकरणमा लिम्बू समुदायले चित्त बुझाएका छैनन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एक विनम्र लेखमार्फत् पुस्तकमा उल्लेखित वर्णन आफ्नो नभएको तर, जीवनीकार प्रसाईंले लिम्बूहरुको दयनीय अवस्थालाई प्रभावकारी बनाउन त्यसो गरेको हुनसक्ने मात्र उल्लेख गरेका छन् । … हामीले विनम्रपूर्वक राखेको माग र अनुरोधलाई बेवास्ता गरेमा लेखक तथा प्रकाशक विरुद्ध सामाजिक र कानूनी उपचार खोज्न बाध्य हुनेछौं ।’ यसबारे जीवनीकार प्रसाईंलाई नेपालप्रेसले सम्पर्क गर्दा उनले बोल्न इन्कार गरे । उनले भने, ‘यसबारे अहिले होइन, दुई-चार दिनपछि बोल्छु ।’