प्रधानमन्त्री प्रचन्डको बालुवाटारदेखि बालकोटसम्मको यात्रा

काठमाडौँ — शेरबहादुर देउवालाई प्रधानमन्त्री र राष्ट्रपति पद कुनै हालतमा नछोड्न परेको चौतर्फी दबाब कायमै रहेको अवस्थामा ‘सत्तारुढ गठबन्धन’ फुटको डिलमा शनिबार नै पुगेको थियो । शनिबारको बैठकमा कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै नै चाहिने भन्ने देउवाको अडान र जसरी पनि पहिलो चरणमा प्रधानमन्त्री बन्नैपर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चाहना देखाएर छुटेका दुवै नेताहरू आइतबार १० बजे बालुवाटारमा जम्मा भएका थिए ।

पार्टी पदाधिकारीसँग खुमलटारमा प्रधानमन्त्री नपाए गठबन्धनमा नरहने ‘निर्णायक कुरा राख्छु’ भनेर निस्किएका दाहालले कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवासँग सोही कुरा दोहोर्‍याए । एक्लाएक्लै भेटमा भनेको कुरा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल सहभागी बैठकमा पनि दाहालले आफ्नो ‘अन्तिम कुरा’ राखेका थिए । देउवाले पार्टीको अडान भन्दै राष्ट्रपति र पहिलो चरणमा प्रधानमन्त्री पद छोड्न नसकिने आफ्नो अडान पुनः प्रस्तुत गरेका थिए ।

१० बजे बालुवाटार छिरेका दाहाल १ बज्नै लाग्दा देउवा अडानबाट ‘टसमस नभए’ पुनः नफर्किने भन्दै बाहिरिए । ‘कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवैबाट टसमस भएन । यसमा सम्झौता हुँदैन भन्ने कुरा हाम्रो छ । गठबन्धनमा रहेका दलहरूलाई प्रधानमन्त्री र राष्ट्रपति दिनै हुन्न भन्ने कांग्रेसको कुरामा एकीकृत समाजवादीका अध्यक्ष नेपालको पनि असहमति छ,’ केही बेरमा फेरि बस्ने सहमति भएको कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले यसरी बताइरहँदा दाहालको सचिवालयले भनिरहेको थियो, ‘कांग्रेसको त्यो नै अडान हो भने त फेरि बालुवाटार जानुको अर्थ छैन ।’

गठबन्धन जोगाएर राष्ट्रपति बन्ने आकांक्षा राखेका कांग्रेस नेता रामचन्द्र पौडेलले भने बालुवाटारबाट दाहाल बाहिरिएपछि सबै कुरा सकिएको प्रतिक्रिया दिएका थिए । उनले फोन कुराकानीमा भनेका थिए, ‘गठबन्धन कुनै पनि हालतमा जोगाउँ भनेका थियौं तर अब हाम्रो हातमा केही पनि रहेन ।’

दाहाल बालुवाटारबाट निस्किएको आधा घण्टाजति देउवा, नेपाल, पौडेल र खड्काले छलफल गरेका थिए । उनीहरूले दाहाललाई फेरि फर्किएर आउन र कुरा मिलाउन आग्रह गरेको देउवाको सचिवालयले जानकारी दियो । तर दाहालले भने समय सकिएको भन्दै अडानबाट पछि नहट्ने भए नफर्किने बताएका थिए । दाहालको सचिवालयको प्रतिक्रिया थियो, ‘देउवाले बहुमत पुर्‍याउनु भए बालुवाटारमा रहनुहोला हामीले बहुमत पुर्‍याए हामी जाऔँला तर अब गठबन्धन भनेर छलफल गर्न गइन्न ।’

बालुवाटारमा गठबन्धनबीच शक्ति बाँडफाँटमा रस्साकस्सी चलिरहेको बेला संसद्को दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा चलहपहल बढिसकेको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन आफ्ना सांसदको हस्ताक्षर बुझाउन पुगेका थिए भने उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पछ्याएका थिए । जनता समाजवादीका पार्टीका नेता अशोक राई पनि बालकोट पुगिसकेका थिए ।

प्रधानमन्त्रीका लागि प्रस्ताव बुझाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आइतबार ५ बजेको समय पुग्न ५ घण्टामात्रै बाँकी रहेको अवस्थामा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ भनिरहेका थिए, ‘हामीले गठबन्धनको निर्णय पर्खिरहेका छौं । नेताहरू छलफल र बैठकमा हुनुहुन्छ ।’ बालुवाटारमा सरकार गठनका लागि सहमति जुटे बधाई दिने, नजुटे आफू अघि सर्ने उनको भनाइ थियो ।

एमाले उपाध्यक्ष नेम्वाङको भाषाबाट बुझ्न सकिन्थ्यो बालुवाटारमा सहमति जुट्दैन । त्यसको संकेत कांग्रेस नेता विमलेन्द्र निधिको आइतबार बिहान खुमलटार र बालकोट पुगेर दिएको सन्देशमा पनि थियो । निधिले माओवादीलाई पहिलो चरणमा प्रधानमन्त्री दिन नसकिने र राष्ट्रपति पद कांग्रेसले नछोड्ने भन्ने स्पष्ट सन्देश दिएका थिए । सोही सन्देश बोकेर उनी बालकोट पनि पुगिसकेका थिए । त्यसपछि बालकोट पनि आफ्नो तयारीमा जुटेको थियो ।

बालुवाटारबाट निस्केका दाहाल खुमलटार पुगेका थिए । त्यसको केहीबेरमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव वर्षमान पुनलाई साथमा लिएर उनी बालकोट पुगेका थिए । जहाँ पहिले नै पुगेका संसद्को चौथो ठूलो दलका सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकाल एमाले अध्यक्ष ओलीको छेउमा बसिरहेका थिए । जसपाका अशोक राई पनि त्यहीँ थिए ।

प्रचन्ड ओली

दाहाल बालकोट पुग्दा प्रधानमन्त्रीमा दाबेदारी प्रस्तुत गर्ने समय ३ घण्टा मात्रै बाँकी थियो । तर, बालुवाटारमा सहमति नजुटे बालकोटसँग कसरी कुरा गर्ने भनेर दाहालले पुनलगायतका नेताहरूलाई पहिल्यै लगाइसकेका थिए । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरू दुई दलबीच सहमति जुटाउन सक्रिय थिए ।

केही बेरको छलफलपछि पुनले १६६ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बन्ने सहमति बनेको जानकारी दिएका थिए । बालकोटमा नै जनमत पार्टीका अध्यक्ष सिके राउत पनि पुगेका थिए । उनले भनेका थिए, ‘कुरा बुझ्न आएको हो । मलाई प्रचण्डले बोलाउनुभएको छ ।’

दाहालले यसअघि नै आफ्नो ‘होल्ड’मा ६० सांसद रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । माओवादीका ३२, एकीकृत समाजवादीका १०, जसपाका १२, नागरिक उन्मुक्ति पार्टीका ४ सांसद आफ्नो पक्षमा रहेको उनको संकेत थियो । त्यसबीचमा उनले संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि छलफल गरिरहेका थिए । रास्वपाका नेताहरूले पछिल्लो समय कांग्रेससँगको गठबन्धनमा सरकार बन्दा आफूहरू सहभागी हुने तर प्रधानमन्त्री दाहाल हुँदा हुनुपर्ने सर्त राखेका थिए । रास्वपा जता सरकार बनेपनि जाने भन्नेमा स्पष्ट थियो । त्यसैले बालुवाटारदेखि बालकोटसम्म सभापति लामिछाने सम्पर्कमा थिए ।

छलफल चलिरहेका बेला नै बालकोटबाट राष्ट्रपति कार्यालयमा समय माग भएको थियो । अनि एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको हस्ताक्षर संकलनको पत्र तयार पारिएको थियो ।

बालकोटको बैठकमा मुख्यतः प्रधानमन्त्री पहिलो चरणमा दाहाललाई बनाउने, राष्ट्रपति एमालेको भाग लगाउने, सभामुखमा एमालेलाई पहिलो चरण र दोस्रो कार्यकालमा माओवादीलाई हस्तान्तरण गर्ने सहमति जुटेको थियो । सहमति बनेपछि एमाले अध्यक्ष ओली आफ्नो निवासको बार्दलीमा निस्किएर विजयी भावमा हात हल्लाइरहेका थिए । त्यसपछि माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सहमति सबै सार्वजनिक गर्ने बताएका थिए ।

सहमति सार्वजनिक गर्न भने पार्टी प्रतिपक्षमा रहेर राष्ट्रिय शक्ति निर्माणको अभियानमा लाग्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका एमाले महासचिव शंकर पोखरेल अघि सरेका थिए । उनले राष्ट्रको आवश्यकताले माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन एमाले अघी सरेको बताएका थिए । कांग्रेसले संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार बनाउने रणनीति बनाएको तर त्यसलाई तोड्न एमाले जिम्मेवार दलका रूपमा अघि सरेको उनको भनाइ थियो । ‘हालै सम्पन्न निर्वाचनले कांसलाई पहिलो दलका रुपमा निर्वाचित गरेपनि उसले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गतको सरकार गठनका लागि अग्रसरता, पहलकदमी र निस्कर्षमा पुर्‍याउने काम गर्न नसकेपछि स्वभाविक रुपमा दोस्रो ठूलो पार्टीका रुपमा नेकपा(एमाले)ले सरकार गठनको लागि पहलकदमी लिनुपर्ने एउटा नैतिक बाध्यता आइलाग्यो ।

राष्ट्रपतिले भनेको समयमा २ अन्तर्गतको सरकार गठन नहुँदाखेरी स्वभाविक रुपमा ३ अन्तर्गतको सरकार गठन हुने र त्यसमा एउटा दल विशेषको सरकार रहने जुन कुरा आम निर्वाचनको जनादेश भन्दा विपरीत हुने अवस्थालाई ध्यानमा राखेर हामीले संविधानको धारा ७६ को उपधारा २ अन्तर्गतकै सरकार गठनका लागि दलहरूका बीचमा छलफल गर्‍यौं । दलहरुबीचको छलफल एउटा निस्कर्षमा पुगेको छ,’ उनले भने, ‘माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा दुई भन्दा बढी दलहरूको समर्थक रहेको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी प्रश्तुत गर्ने सहमति भएको छ ।’

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल बालकोटबाट बाहिरिने क्रममा उनीहरूका कार्यकर्ता कम्युनिस्ट एकताको नारा लगाइरहेका थिए । सरकार गठनका लागि मिलेका नेताहरूले पार्टी एकता गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

बालकोटको बार्दलीमा फेरि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल देखा परेका थिए । उनीहरू दुवैले हात हल्लाएर फोटो सेसनका लागि पोज दिएका थिए । त्यो भइरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने त्यहाँ थिएनन् । २०७७ पुस १० गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीविरुद्ध सँगै उभिएका दाहाल र नेपाल २०७९ पुस १० गते भने अलगअलग कित्तामा थिए । दाहालको ओलीको बलमा शितल निवासमा प्रधानमन्त्रीको दाबी गर्ने तर्खरमा थिए भने नेपाल बालुवाटारबाट खिन्न भएर निस्किइ ‘पर्ख र हेर’को अवस्थामा पुगेका थिए ।

बार्दलीमा हात हल्लाएर ओली र दाहाल आ-आफ्नो सवारीमा बसी ५ बज्न आधा घण्टा बाँकी रहेको अवस्थामा शितल निवासका लागि निस्किएका थिए । सेतो रङका आ-आफ्ना ‘ल्यान्ड क्रुजर’मा चढेर स्कर्टिङसहित ओली र दाहाल निस्किँदा कालो रङको ‘टोयोटा’मा केही महिना पहिले गठन भएर संसद्को चौथो दल बनेको रास्वपाका सभापति रवि लामिछानेले पछ्याएका थिए ।